निरन्तर प्रगतिमा इन्भेष्टमेन्ट बैंक

अर्थ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक वित्तीय कारोबार सञ्चालनको २७ औं वर्षको यात्रामा छ । यो अवधिभा बैंकको कुल ग्राहक संख्या ५ लाख पुगेको समेत बैंकले जनाएको छ । चुक्ता पुँजी ३ अर्ब ७६ करोड रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको पछिल्लो अवधिसम्ममा ५५ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले जनाएको छ । सो अवधिमा बैंकले विभिन्न क्षेत्रमा गरी ४५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । देशका विभिन्न क्षेत्रमा समेत गरी ४१ वटा शाखा तथा ६८ वटा एटीएम काउन्टरमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकमा एटीएम कार्ड प्रयोगकर्ताको संख्या ४ लाख ६५ हजार रहेको समेत बैंकले जनाएको छ । नेपालको बैंकिङ क्षेत्रमा धेरै उतारचढाव आए पनि नेपाल इन्भेष्टमेन्ट बैंकले भने हरेक वर्ष सफलता हासिल गर्दै आएको छ । स्थापनाकालदेखि नै पूर्ण नेपाली व्यवस्थापनद्वारा सञ्चालित यस बैंकले भूकम्प र नाकाबन्दीको बाबजुद उल्लेख्य नाफा कमाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक चार पटकसम्म ‘बैंक अफ दि इयर’ को उपाधि प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो, जसले इक्रा रेटिङ्ग ‘ए’ को मान्यता पनि प्राप्त गरेको छ । बैंकको खराव कर्जा १.५ प्रतिशतभन्दा तल छ । यस बैंकको व्यवस्थापन पक्ष सवल रहेको तथा बजारमा गुडविल पनि राम्रो रहेकाले हरेक वर्ष आफ्ना शेयरधनीहरुलाई आकर्षक प्रतिफल दिन सफल भइरहेको छ । बैंकले आफ्ना वित्तीय परिसुचकहरुलाई सुधार गर्दै अगाडि वढिरहेको छ । लगानीको क्षेत्रलाई विस्तार गर्दै सामूहिक लगानी कोष कम्पनी तथा अन्य क्षेत्रहरुमा फैलिएको छ । नेपालका ग्रामीण तथा सुदूर क्षेत्रहरुमा पनि उत्कृष्ट बैंकिङ सेवा पु¥याउने आफ्नो उद्देश्य अनुरुप बैंकले यसै प्रकारले आफ्नो सेवा विस्तार गर्दै लगेको नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे बताउँछन् । फ्रान्सको एग्रिकोल इन्डोस्वेज लिमिटेड र नेपाली लगानीकर्ताको सामुहिक लगानीमा सन् १९८६ मा नेपाल इन्डोस्वेज बैंक लिमिटेड स्थापना भएको थियो । एग्रिकोल इन्डोस्वेजले आफ्नो स्वामित्वको ५० प्रतिशत सेयर नेपाली लगानीकर्तालाई सन् २००२ मा बिक्री गरेपछि कम्पनीको नाम नेपाल इन्भेष्टमेन्ट बैंक भएको हो ।