प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीका लागि राष्ट्र संघीय खाद्य कार्यक्रम (डब्लूएफपी)ले तालिम आयोजना गरेको छ । विभिन्न सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गृहमन्त्रालयसँगको सहकार्यमा डब्लूएफपीद्वारा तीनदिने विपद् व्यवस्थापन तालिम सम्पन्न भएको थियो । तीनवटै सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलगायतका अन्य गरी १५० जनाको तालिममा सहभागिता रहेको थियो ।
विपद् व्यवस्थापनमा सम्वन्धीत निकायहरुको क्षमता अभिवृद्धि गर्ने, पूर्वतयारी तथा कार्यलाइ प्रभावकारी बनाउने उद्देश्यले तालिम प्रदान गरिएको आयोजकले जानकारी गराएका थिए । विपद् व्यवस्थापन विभागका प्रमुख सहसचिव कृष्णबहादुर राउतले विपद्जन्य जोखिमको न्यूनीकरण र व्यवस्थापनमा डब्लूएफपीले सरकारी र अन्य मानवीय सहायताकर्मी संस्थालाई विभिन्न तालिम प्रदान गर्दै क्षमताको विकास गर्न सरकारलाई सहयोग गर्दै आएको बताएका थिए ।
नेपाल विश्वका विपद््बाट सबैभन्दा प्रभावित मुलुकमध्ये मृत्युदर र घटनाको संख्या दुवै दृष्टिकोणबाट अग्रपङ्तीमा आउँछ । डब्लूएफपी नेपालकी उपराष्ट्रिय निर्देशक फ्रान्सेस्का कापोनेराले नेपालमा लगातार भइरहने विपद्ले दिगो विकासलाई प्रभावित गर्दै आएको बताए ।
डब्लूएफपीका लजिस्टिक अफिसर रतिन्द्र खत्रीले तालिममा राष्ट्रिय र जिल्लास्तरका सरोकारवालाबीच निर्णय लिने र समन्वयको सीप विकासका साथै घुम्ती भण्डारण इकाई र दूरसञ्चार उपकारणको स्थापनालगायत व्यावहारिक सीपको पनि अभ्यास गराएको बताए ।
