आठ बर्षपछि युएस ओपनमा नेपाल

खेलकुद

काठमाडौं । आठ बर्षको लामो अन्तरालपछि नेपाली ब्याडमिन्टन टोलीले अमेरिकामा भोलिदेखि हुँदै गरेको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा भोलिदेखि आइतबारसम्म हुने ‘योनेक्स युएस ओपन ग्रापि ब्याडमिन्टन च्याम्पियनसिप’ मा सहभागी हुन नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा नङ्गसल तामाङ, रत्नजित तामाङ र विकास श्रेष्ठ गत बिहीबार नै अमेरिका गएका हुन् ।

१ लाख २० हजार अमेरिकी डलर पुरस्कार राशी रहेको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले पुरुष÷महिला एकल, पुरुष डबल्स तथा मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छ । मिक्स डबल्समा विकास श्रेष्ठ र नङ्गसल तामाङले प्रतिस्पर्धा गर्ने छन् । आठ वर्षअघि पशुपति पनेरु, बलराम थापा र सुमिना श्रेष्ठले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।

यसैबीच, योनेक्स युएस ओपन ग्रापी ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीका खेलाडीहरुलाई कावासाकीले १ लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रायोजन गरेको छ । नेपालस्थित कावासाकीको आधिकारिक बिक्रेता एक्सिस इन्टरनेशनलले खेलाडीहरु नङ्गसल तामाङ, रत्नजित तामाङ र विकास श्रेष्ठलाई ब्याडमिन्टन ¥याकेट, जुत्ता, मोजा, टिसर्ट, ब्याग लगायत जनही ४० हजार बरावरकोे खेल सामग्री सहयोग गरेको हो । खेलाडीहरुलाई एक्सिस इन्टरनेशनलका अनिल जगनानीले खेल सामग्री प्रदान गरे ।

कावासाकीले २०६८ देखि २०७० सालसम्म तीन बर्ष विकास श्रेष्ठलाई खेल सामग्री प्रदान गरेको थियो । यस्तै ७० देखि ७१ सालसम्म सरादेवी तामाङ्ग, विकास श्रेष्ठ र रत्नजित तामाङ्गलाई खेल सामग्री प्रायोजन गरेको थियो । एक्सिसले कोरियाको इन्छनमा सम्पन्न भएको १७ औं एसियाली खेलकुद र भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपाली ब्याडमिन्टन टोलीलाई कावासाकी ब्रान्डको खेल सामग्री प्रायोजन गरेको थियो ।