गठबन्धनका नाममा पत्र नआएसम्म वार्ता हुँदैन- डा. बीरेन्द्र महतो, नेता – संघीय समाजवादी फोरम नेपाल

अन्तर्वार्ता

मधेस केन्द्रित आन्दोलन गर्दा जनताले मात्रै दुख पाएको सरकारले नसुनेको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको संघीय गठबन्धन यतिबेला राजधानीको खुलामञ्चमा रिले अनशनमा छ । सिंहदरबार र बालुवाटार घेराउ गर्दै रिले अनशन थालेको गठबन्धन र सरकारबीच अहिलेसम्म वार्ता हुन सकेको छैन । सरकारले मधेसी मोर्चाको नाममा पत्र पठाएर वार्तामा आउन आग्रह गरेपछि गठबन्धन भित्र विवाद चुलिएको छ । यो र यस्तै समसामयिक विषयमा जानभावना साप्ताहिकले संघीय समाजवादी फोरम नेपालका युवा नेता एवं सांसद डा. बीरेन्द्र महतोसँग गरेको कुराकानीको सम्पादित अंश संघीय गठबन्धनले आन्दोलन काठमाडौं केन्द्रित आन्दोलन गरेको दुई महिना पूरा हुन लागेको छ । आन्दोलन प्रभावकारी हुन सकेन नी!
जेठदेखि गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको हो । पहिलो चरणमा सिंहदरबार घेराउ र बालुवाटार घेराउ कार्यक्रममा निकै उत्साहजनक सहभागिता थियो । ती दुवै आन्दोलन सफल भए । त्यसपछि पनि राजधानीका विभिन्न ठाउँमा गठबन्धनले कोणसभालगायतका कार्यक्रमलाई निरन्तरता दिएको हो ।

सुरुका दिनमा भन्दा पछिल्ला दिनमा आन्दोलनमा जनसहभागिता बढिरहेकै थियो । अर्को कुरा गठबन्धनले शान्तिपूर्ण आन्दोलनलाई नै बढी जोड दिँदै आएकोले पनि आन्दोलन प्रभावकारी नदेखिएकोजस्तो भएको होला । आन्दोलन हिंसात्मक भयो भने प्रचार र चर्चा पाउने शान्तिपूर्ण आन्दोलनको चर्चा कम हुने भएकाले पनि त्यस्तो लागेको होला । तर शान्तिपूर्ण आन्दोलनको पक्षमा नै अहिलेसम्म गठबन्धन छ ।

तपाईंहरुले आन्दोलन सुरु गरेपछि सरकारले दुई तीन पटक वार्ताका लागि बोलाइसकेको छ । तपाइहरु वार्तामा जानु भएन किन ?
संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन सुरु गर्न लाग्यो भनेर सरकारले वार्ताका लागि बोलाएको थियो । हामीले त्यसलाई आन्दोलन तुहाउन षड्यन्त्रका रुपमा लिऔं । किनभने त्यसअघि पनि हामी वार्ता कै पक्षमा थियौं, तर जव आन्दोलन सुरु हुन लाग्यो अनि वार्तामा बोलायो । अर्को कुरा, काठमाडौं केन्द्रित आन्दोलन त संघीय गठबन्धनले गरेको हो नी! तर सरकारले वार्ताका लागि मधेसी मोर्चालाई मात्र बोलाएको छ । आन्दोलन गर्ने गठबन्धन वार्तामा बोलाउने मधेसी मोर्चालाई? यसरी हेर्दा सरकार वार्तामार्फत समस्या समाधान गर्न चाहँदैन बरु आन्दोलनरत पक्षमा विभाजन गराएर आफ्नो आयु बढाउने तिर सरकार लागेको छ । त्यसपछि पनि सरकारले मधेसी मोर्चाकै नाममा पत्र बठाएर वार्तामा आउन आग्रह गरेको छ । यसबाट सरकारको नियत स्पष्ट छ ।

तपाईंहरु पनि मधेसी मोर्चाको प्रमुख घटक हो, मोर्चालाई वार्तामा बोलाउँदा किन आपत्ति? कि गबठन्धनभित्रै विवाद छ हो ?
मैले अघि पनि भने, मधेसी मोर्चासहितका धेरै घटक मिलेर संघीय गठबन्धनको निर्माण भएको हो । अहिले हामीले मधेसी जनताको मात्र समस्यालाई लिएर आन्दोलन गरेका होइनौं । आदिवासी जनजाति, मधेसी मुस्लिमलगायत जसले वर्तमान संधिवानप्रति अपनत्व स्वीकार गर्न सकेका छैनन् । त्यसकारण ती सवै वर्ग क्षेत्रका मानिसले अहिले संयुक्त रुपमा आन्दोलन गरेको हो । अनि उनीहरुलाई बेवास्ता गरेर मधेसी मोर्चालाई मात्र वार्तामा बोलाउनु पछाडिको नियत के हुन सक्छ ? सरकार वार्ताप्रति साँच्चै इमान्दार छ भने संघीय गठबन्घनलाई वार्तामा बोलाउन किन आपत्ति मान्नुप¥यो ।

अर्को कुरा जुन विवाद छ की भन्ने प्रश्न छ, गठबन्धनभित्र त्यस्तो केही विवाद छैन । मुख्य कुरा सरकारले मिडियावाजी र प्रचारवाजी गर्न यस्तो काम गरेको हो । व्यवहारमा खरो रुपमा प्रस्तुत हुँदैन । सरकारको बोली र व्यवहार फरक छ ।
वार्ताका लागि सरकारले के गर्नुप¥यो भन्ने तपाइहरुको माग हो ?

हेर्नुस् हामी वार्ता विरोधी होइनौं । हामी वार्ता विरोधी भएको भए सरकारसँग ३६ पटक वार्ता किन गथ्र्यौं ? वार्ता विरोधी त सरकार हो । वार्ताको नाममा नाटक गर्न खोजिरहेको छ । वार्ताको लागि हामी जहिले पनि तयार छौं । तर वार्ताका लागि वार्ता होइन, परिणाममुखी वार्ता गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यसका लागि सबैभनदा पहिला संघीय गठबन्धनलाई सरकारले वार्तामा बोलाउनु प¥यो । अर्को कुरा वार्ताका लागि हामीले केही पूर्वसर्त राखेका छौं । जसले वार्ताको वातावरण बनाउँछ ।
वार्ताको वातावरण बनाउनुपर्छ । मधेश आन्दोलनमा घाइते भएकाहरुकालागि उपचार खर्च सरकारले व्यहोर्नु प¥यो । प्रधानमन्त्रीले संसदमा उभिएर घाइतेको उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्न भएको छ । त्यो व्यवहारमा लागू हुनुप¥यो । राजनीतिक पूर्वाग्रहका साथ लगाइएका झूठा मुद्दाफिर्ता गर्नुप¥यो । बन्दी बनाइएका मोर्चाका कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्नुप¥यो । अनिमात्रै वार्ताको वातावरण बन्छ । हाम्रा कार्यकर्ताहरुलाई जेलमा हाल्ने अनि हामीचाहीँ सरकारसँग वार्तामा बस्दा औचित्य हुन्छ र ?
खासगमा सरकारले सबै राजनीतिकदल सम्मिलित एउटा निर्णायकवार्ता टोली बनाउनुपर्छ, । जसमा नेपाली काँग्रेसकोसमेत जोडदार उपस्थिति हुनुपर्छ । उहाँहरु सबै जना एउटै टेवलमा बसेर गठबन्धनका मागहरुलाई कसरी सम्बोधन गर्ने भन्ने वारेमा एउटा साझाधारणा बनाउन जरुरी छ । त्यसो भयो भने हामी वार्तामा बस्छौं र परिणाम पनि निस्कनेमा हामी विश्वस्त छौं ।

सरकारलाई घुँडा टेकाउन काठमाडौं केन्द्रित आन्दोलन थालेको गठबन्धनको आन्दोलन शिथिल बन्दै गएको छ । अबको रणनीति के हुन्छ ?
हामी त अहिले शान्तिपूर्ण रिले अनशनमा छौं । तर सरकारले ध्यान दिएको छैन् । देखेर पनि नदेखेको जस्तो गरेको छ । तर सरकारले हाम्रो धर्यता नटुटाओस् भन्ने पक्षमा छौं । असार मसान्तसम्मको समय हामीले सरकारलाई दिएका छौं । योबीचमा पनिकुनै सुनुवाई भएन भने हामी सशक्त आन्दोलनमा जान्छौं । जनताको धैर्यताको बाँध टुटाउने काम कसैले नगरोस् । सानो कुरा भोलि ठूलो घटनामा परिणत हुन सक्छ ।
आगामी आन्दोलन कस्तो हुने भन्ने विषयमा गठबन्धनको सचिवालय बैठकले तय गरेर शीर्ष नेताले त्यसलाई अनुमोदन गर्ने हो । मुख्य कुरा समस्या समाधान गर्ने हो । सरकारले गठबन्धनका जायज मागलाई वार्तामाफर्त चाँडै टुंगोमा पु¥याओस भन्ने हाम्रो चाहना हो ।

सरकारले मधेसी मोर्चालाई वार्तामा बोलाउने, तपाइहरुले गठबन्धनलाई बोलाउनुपर्छ भनेर अडान लिने भइरहँका निकास कसरी निस्किन्छ ?
यो सरकारकै कारणले भएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सरकारले ३६ पटकसम्म वार्ता ग¥यो । वार्ताका लागि गरिएका वार्ता भएर परिणाम निस्केन । समस्या जति लम्बियो, माग पनि त्यतिनै लम्बिँदै जान्छ । अहिले भएको पनि त्यही हो । मधेसी मोर्चाले सरकारसँग जम्मा ११ बुँदे माग राखेको थियो । ती माग पूरा नभएपछि अहिले गठबन्धन नै बन्न पुग्यो । गठबन्धन बनेपछि माग पनि थपिँदै गए । अहिले मोर्चाका ११ मागसँगै गठबन्धनका २६ माग थपिए । यो पनि पूरा नगरे भोलि यी माग झन थपिँदै जान्छन् । त्यसैले सरकारले बेलैमा ध्यान दिएर जतिसक्दो चाँडो वार्तामार्फत समस्या समाधान गर्नुपर्छ भनेका हौं । अहिले मधेसी मोर्चामा सहभागी दलहरु नै संघीय गठबन्धनमा आबद्ध भएका कारण सरकारले वार्ताका लागि गठबन्धनलाई नै बोलाउनुपर्छ ।

सरकारले मधेसी मोर्चालाई मात्र वार्तामा बोलाउँदा फोरम नेपालबाहेकका मोर्चामा आबद्ध दल त सकारात्मक नै भए नी !
अब एउटा घरभित्र त सबैको एकमत हुँदैन । यो त धेरै दल मिलेर बनेको गठबन्धन हो । जहाँ भिन्न विचार र पृष्ठभूमिका भएका दलहरु सहभागी छन् । तर जेभएपनि गठबन्धनलाई वार्तामा बोलाउनुपर्छ भन्ने कुरामा दुई मत छैन । मधेसी मोर्चालाई वार्तामा बोलाउँदा हामीलाई पनि आपत्ति होइन । खाली सरकारको नियतको कुरा गरेको , आन्दोलन गर्ने संघीय गठबन्धन, अनि वार्तामा बोलाउने चाँही मधेसी मोर्चालाई ? यसलाई गम्भीरतापूवर्क लिने हो भने सरकार वार्ता गर्ने भन्दा पनि आन्दोलन तुहाउने पक्षमा छ । त्यसका लागि उसले हरेक हत्कण्डा अपनाइरहेको छ ।

तमलोपा र सद्भावनाले राजधानी केन्द्रित आन्दोलनमा सक्रिय सहभागीता रहेन भन्ने गुनासा सुनिन्छ नी ?
सुरुमा राजधानी केन्द्रित आन्दोलन गर्दा मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सडकमा आउनु भएको हो । राजेन्द्र महतोजीपनि सडकमा धर्ना बस्नु भएको हो । आन्दोलनमा उहाँहरुको सक्रिय सहभागीता छैन भनेर कस्ले भन्छसक्छ । पछिल्लो समयमा तमलोपमा महाधिवेशनमा केन्द्रित भएका कारण उहाँहरुको उपस्थिति केही कम भएजस्तो देखिएको हो । अब उहाँहरुको महाधिवेशन सकिएकाले आन्दोलनमा सक्रिय सहभागीता जनाउने बताइसक्नु भएको छ । सद्भावना त अहिलेसम्म सक्रिय सहभागीता जनाइरहेकै छ । त्यसकारण मधेसी मोर्चामा आबद्ध सबै दल गठबन्धनको आन्दोलनमा सक्रिय सहभागी छन् ।

राजधानी केन्द्रित आन्दोलन फोरम नेपालले संगठन विस्तार गर्नलाई हतियार बनायो भन्ने आरोप छ नी ?
संगठन विस्तार गर्न आन्दोलन होइन, सगठन विस्तार गर्नुपर्छ । हाम्रो पार्टीलेसंगठन विस्तार गर्न आन्दोलनलाई हतियार बनाएको भन्ने कुरामा कुनै सत्यता छैन । आन्दोलनमा प्रभावकारी उपस्थितिको विषयमा हो भने निश्चिय पनि फोरम नेपालको संगठन मधेससहित राजधानी र पहाडी जिल्लामा पनि भएकाले त्यही सिवाले आन्दोलनमा सहभागीताको भएको हो । तर संगठन विस्तारका लागि आन्दोलनलाई हतियार बनाएको भन्ने कुरामा कुनै सत्यता छैन ।