नेविसंघमा माऊ पार्टीकै रोग

Home Feature

काठमाडौं । नेपाली काँग्रेसको पाँच वर्षपछि भएको महाधिवेशनले शेरबहादुर देउवालाई नेतृत्व त सुम्पियो तर उनले अहिलेसम्म कार्यसमितिलाई नै पूरा गर्न सकेका छैनन् । मनोनितमा आकांक्षी धेरै भएपछि देउवालाई सकस भएको हो । सामान्यतया महाधिवेशन सकिएको एक महिनाभित्र कार्यसमिति पूरा गर्नुपर्छ ।

गत वर्ष फागुनमा भएको काँग्रेसको महाधिवेशनले पूर्णता नपाउनुको पछाडि काँग्रेसको जरो नै ठीक नभएको हो कि भन्ने पर्न थालेको छ । अब झन् भ्रातृ संगठनको हालत के होला त ?

काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को साउन २३ देखि काठमाडौंमा महाधिवेशन हुने भनिएको छ । तर त्यो महाधिवेशन हुने लक्षणसमेत देखिएको छैन । पटक पटक मिति तोकेर पनि स्थगित भएको नेविसंघको महाधिवेशनमा पार्टीले नै चासो राखे पनि सफल हुनेमा आशावादी हुन सक्ने ठाउँ नरहेको नेविसंघकै नेताहरूको कथन छ ।

पार्टीले नेविसंघमा देखिएको विवाद मिलाएर महाधिवेशन गराउन डा. प्रकाशशरण महतको नेतृत्वलाई जिम्मा दिएको थियो । तर पनि महतले आफू मातहतको समितिमा एक जना पनि थप्न सकेका छैनन् । उनले समिति थप्नु भन्दा पनि नेविसंघकै सात सदस्यीय समितिलाई छिट्टै विवाद समाधान गरेर जिल्ला प्रतिनिधिहरू छनोट गर्न भनेको बताए ।

उनको यो भनाइले ठयाक्कै ठालु नेताको संज्ञा दिन्छ । डा. महतले छिट्टै समाधान हुन्छ भने पनि लामो समयदेखि जारी विवाद सजिलै समाधान हुने लक्षण पक्कै देखिंदैन । नेविसंघका अध्यक्ष रंजित कर्णको नेतृत्वमा बनेको सो समितिले ६४ जिल्लामा प्रतिनिधिहरू चयन भइसकेको बताएको छ । केन्द्रीय सदस्य ऋषिकेश शाहसमेत सदस्य रहेको सो समितिले जतिसुकै दावी गरे पनि अध्यक्ष कर्णको हालीमुहालीप्रति रूष्ट बनेको अर्को पक्षले भने ४१ जिल्लामामात्र विवाद समाधान भएको जनाएको छ । असन्तुष्ट अर्को पक्षले ४१ जिल्लामामात्र समाधान भएको बताएको छ । यसको मतलव हो संस्थापनले २३ जिल्लामा गरेको भनिएको अधिवेशनप्रति अर्को पक्ष सन्तुष्ट छैन । घोटाला त्यहाँबाट सुरु भइसकेको छ । असन्तुष्ट पक्षले विधिवत् महाधिवेशनको नाममा साउनमै महाधिवेशन हुने संभावना सकिदै गएको अड्कल गरेको छ । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको कार्यसमितिलाई भङ्ग गरेर ०६६ सालमा रंजित कर्णको नेतृत्वमा चुनावका लागि नेविसंघको तदर्थ समिति गठन भएको थियो । तत्कालीन कार्यबाहक सभापति सुशील कोइरालाले रंजितमाथि भरोसा गरेका थिए । रंजितप्रति सुशीलको यति भरोसा थियो कि रंजितलाई समानुपातिकबाट सांसदसमेत बनाए । अहिले सुलील त बितिसके तर रंजितको हर्कत उस्तै छ । अहिलेसम्म त्यही तदर्थ समितिले नै काम
गरिरहेको छ । यसपटक जसरी पनि महाधिवेशन गराउन काँग्रेस सभापति शेरबहादुर देउवा पनि लागेका छन् । तर जसरी सभापति जितेपछि महाधिवेश गराउने वाचा गरेका थिए त्यसरी नै स्वयं देउवा लागेको पाइँदैन । डा. प्रकाशशरण महत भने पटक पटक नेविसंघको महाधिवेशन रोकिएर पार्टीलाई अप्ठेरो परेको भन्दै यसपटक जसरी पनि महाधिवेश हुनुपर्नेमा जोड दिन्छन् । महाधिवेशन साउनमै हुनेमा महतसमेत ढुक्क छैनन् । उनी विवाद समाधान समितिले समाधान गरी महाधिवेशन गर्नेमा आशावादी भने छन् । तर त्यो आशा नक्कलीजस्तो देखिएको छ । त्यो विवाद भने मिल्नुपर्छ र मिलाउनु पर्छ भन्नेमा सबै छन् । तर अधिवेशन गरेर वा सहमति गरेर समस्याको समाधान हुनेमा भने कोही ढुक्क छैनन् । गलत तरिकाले निर्मित कुरा गलत हुँदै जान्छ ।
एकातिर महाधिवेशन आउन एक महिनामात्र बाँकी छ । अर्कातिर आधा जति जिल्लाको समस्या समाधान हुन बाँकी नै छ । संस्थापन पक्ष पेलेरै अगाडि बढ्ने मनस्थितिमा छ । अनधिकृत भइसकेको कर्ण पक्ष एक किसिमले तानाशाही बन्दै गएको छ । लामो समय एउटै कुर्सीमा बस्दा अहम् बढ्छ भन्थे । हो कि क्याहो । विवाद मिलेको संकेत भने कतैबाट पनि पाइँदैन । काँग्रेसको एक खेमा भने सर्वसम्मत टिका लगाइदिने पक्षमा रहेको छ । यो खेमाबारे बोल्दै असन्तुष्ट पक्ष भने अब पनि टिका लगाएर समाधान गर्छौं भनेर सोच्नु मूर्खता हो भन्छ । कुर्सीकै लागि यतिबेला माउ पार्टी समस्यामा छ । त्यही रोग भ्रातृ संगठनमा पनि सारेको छ । नेविसंघको त यो हालत छ भने महिला, तरुण लगायतका भ्रातृ संस्थामा कति किचलो बढ्ने होला भनी काँग्रेसजन टाउको कन्याउन थालेका छन् ।