मस्को । रसियाले आफ्ना नागरिकलाई टर्कीको भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सो प्रतिबन्ध फुकुवा गरिएको नयाँ निर्देशिका जारी गर्नुभएको हो । उहाँले यसका साथै रसियाबाट टर्कीमा हुने आवतजावतलाई थप व्यवस्थित एवम् सुरक्षित बनाउने विषयमा काम थाल्न पनि रसियाली अधिकारीहरुलाई आदेश पनि दिनुभएको छ । टर्कीले रसियाली युद्धक विमान आफ्नो अनुमतिबिना उडेको भन्दै खसालिदिएको थियो । आकाशमा अतिक्रमण गरेको र बारम्बार सचेत गराउँदासमेत नहटेको भन्दै आक्रमण गरी टर्कीले गत वर्ष मात्र रसियाली युद्धक विमान नै खसालेको थियो । त्यसयता टर्की र रसियाबीच सम्बन्ध चिसिएको थियो । त्यसका कारण रसियाले कैयौं उत्पादनहरुमा पनि टर्कीमाथि नाकाबन्दी पनि लगाउँदै आएको थियो । सन् २०१५ को नोभेम्बरदेखि चिसिएको सो सम्बन्धमा बुधबार नयाँ आयाम थपिएको महसुश गरिएको छ । टर्कीको स्तानबुलमा आतङ्ककारी हमलापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सहयोगको अपिल गर्नुभएको थियो ।
यसका लागि टर्कीका राष्ट्रपतिले रसियासँग माफ माग्नुभएको थियो । रसियाली युद्धक विमान खसालेको घटना दुःखद भएको भनी उक्त घटनामा मृत्यु भएका विमान चालकका परिवारसँग पनि उहाँले माफी माग्नुभएको हो । बुधबार टर्कीका समकक्षी एर्डाेगानले रसियाली राष्ट्रपति पुटिनसँग यस्तो प्रतिबन्ध हटाउन र आर्थिक हिसाबको नाकाबन्दी पनि हटाउन आग्रह गर्नुभएको थियो । उक्त आग्रहपछि राष्ट्रपति भ्लादिमिरले रसियाली अधिकारीहरुलाई टर्कीबाट ल्याउने खाद्यान्न सामग्री, उडान र प्याकेज टुरमा यसअघि लगाएको प्रतिबन्ध सामान्यीकरण गर्दै लैजान आदेश दिनुभएको छ । टर्कीको स्तानबुलमा बुधबार भएको आतङ्ककारी हमलापछि टर्कीका राष्ट्रपतिले विश्वका सबैदेशसँग आतङ्कवादका विरुद्धमा लड्न सहयोगको अपेक्षा गर्नुभएको थियो ।