राष्ट्रिय भलिबलको उपाधि सशस्त्र प्रहरीलाई

खेलकुद

काठमाडौं । यति फ्लोरिङ्ग राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ । फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा सशस्त्रले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो । प्रतियोगितामा सर्वोत्कृष्ट बन्न सफल सशस्त्रकी सरस्वती चौधरीले १५ हजार तथा बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट प्राप्त गरिन् ।

यसैगरी सशस्त्रका खेलाडीहरु नेविका चौधरी उत्कृष्ट सर्भर, उषा विष्ट उत्कृष्ट ब्लकर र बिनिता बुढाथोकी उत्कृष्ट सेटर घोषित भए । त्यस्तै न्यू डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक तथा नेपाल पुलिसकी कमला पुन उत्कृष्ट डिफेन्स भइन् । प्रशिक्षकमा सशस्त्रका सुदेश कुमार रिमाल उत्कृष्ट घोषित भए । तेस्रो स्थानका लागि भएको खेलमा न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हरायो ।

विजेता सशस्त्रले एक लाख, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको न्यू डायमन्डले ४० हजार रुपैयाँ पायो । प्रतियोगितामा सशस्त्र, पुलिस, न्यू डायमन्ड, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गरेका थिए । सशस्त्र साविक विजेता पनि हो । गत वर्ष पहिलो संस्करणको फाइनलमा सशस्त्रले न्यू डायमन्ड एकेडेमीलाई हराएको थियो ।