संसारका एकाथरि मान्छे भोकले त्राही–त्राही गर्दैछन् । रोटी, कपडा र बासका लागि लालायित छन् भने अर्काथरि शोषणको साम्राज्य खडा गरी अर्बौं–खर्बौं रूपैयाँ ऐशमौजमा फाल्दैछन् । अन्नको अभाव र बेरोजगारी समस्याले गर्दा मान्छेलाई आफ्नै जिन्दगी बोझझैं लाग्छ । पेटको भोक नै त्यस्तो हुन्छ जसलाई कसैले बिर्सन सक्दैन । अन्नको अभावले गर्दा जब घरका साना–साना बच्चाहरूको मुख चारिने, आँखा भित्र पस्ने, पोट खप्पिने, हातखुट्टा सुकेर हाड–हाड देखिने भएपछि घरका मान्छे बौलाहा हुन्छ, अनि सोच्न थाल्छन् के गरौं, कसरी यिनीहरूको मुखमा अन्नको गेडा पर्ला ? संसारमा भाग्य वा भगवानको कुनै दोष हुँदैन । शोषण प्रवृत्तिले नै संसारलाई यत्रो दुर्दशामा पु¥याएको छ । शोषकहरूको अन्याय, अत्याचारको परिणाम नै हो गरिबी । जुन नरकीय जीवनभन्दा पनि भयंकर हुन्छ ।
आलिशान र वैभवशाली संगमरमरका ठूला–ठूला गगनचुम्बी महल, ठूला–ठूला दरबार र भवनहरू, महँगा मोटर गाडी, लावालस्कर, नोकरचाकर, हात्तीघोडा, सुडा सुन्दरी, हातहतियार र अपार धन सम्पदा कहाँबाट आउँछ ? कलकारखाना खोल्दैमा अर्बौं खर्बौंको आम्दानी कसरी आउँछ । चिल्ला–चिल्ला गाला र राता राता ओठ कसको रगतले रंगिन्छ ? कसैको आँगनमा सुनको वर्षा हुँदैन वा कसैको आँगनमा सुनको रूख फल्दैन जसलाई हल्लाई दिएपछि आँगन सुनले भरिन्छ । सबैखाले विलासिता जीवन र ऐशमौजमा अर्बौंखर्बौं रूपैयाँ पानीमा फल्ने काम जुन भइरहेका छन् त्यो कुनै भाग वा भगवानबाट आएको हुँदैन । त्यो सबै काम गर्ने मजदूर र किसानहरूको हातको कमाईबाट आएको हुन्छ । किसान, गरीब र मजदूरको खुन पसिना र मेहनतले उत्पादन गरेका उत्पादकत्वलाई शोषण गरी शोषकहरूले थुपार्ने गरेका अकूत सम्पत्ति हो, जुन दुवै हातले शोषकहरू आफ्ना स्वार्थ पूर्तिमा लगाउँदैछन् । संसारका कामचोर, कालाबजारी, जाँगरचोर, घुसखोर, ब्याजखोर, जमिन्दार, जागिरदार, नवाब, मुखिया र राजा महाराजा लगायतका शोषकहरूको शोषण प्रवृत्तिले गर्दा मानव जाति गरिबीको दलदलमा फँस्दै गएको छ ।
मुठ्ठिभर मान्छेका स्वार्थी भावना र लोभ लालचले गर्दा संसारमा यत्रो दुर्दशा छ । जीवन जीउनलाई मान्छेले के–के गर्दैनन् । सडकमा फालिएको रोटीका टुक्रा कुकुरको मुखबाट पनि खोसेर खान्छन् । होटलका छेउछाउमा फालिएका जुठ्ठा खाना खान बाध्य हुन्छन् । मान्छेको सारा ठूलोपन, सारा पर्दा पानी, शोषण प्रवृत्तिले समाप्त पारिदिन्छ । जब भोकले आँत बटारिन थाल्छ, अनि सबै लाज, शरम, इज्जत पानी हरिहाल्छ । भोकले सबै धर्म र सबै जातिका मान्छेलाई एउटै बाटोको भिखारी बनाइदिन्छ । भोकले सबै इज्जत बिकाइदिन्छ । मान्छेले इज्जत पनि त्यतिबेलासम्म बरकरार राख्दछ, जतिबेलासम्म पेटमा अन्नको गेडा परिरहन्छ । इज्जतभन्दा अन्न धेरै महँगो साबित भएको छ । खाना नपाएर आत्महत्या गर्नेको भन्दा खानाका लागि इज्जत दाउमा लगाउनेको संख्या धेरै नै बढी रहेको छ । अन्न नै मुख्य हो, अन्न नै प्राण हो । अन्न पाएर नै जीवन रहन्छ । अन्न पाएर नै इज्जत बाँच्दछ । अन्न बिनाको जीवन औचित्यहीन हुन जान्छ । शोषणको विरूद्ध एकजुट होऔं, नयाँ शक्ति निर्माण गरौं ।
मान्छेलाई सवल, सक्षम, समृद्ध र नैतिकवान बनाउन आर्थिक विकासको बाटोमा केन्द्रित हुनुपर्छ । देशको स्वाधिनता, एकता, अखण्डता, शान्ति र सुशासनका लागि देशको समृद्धि र विकासको अति आवश्यक छ । जसका लागि सबै खाले शोषणको अन्त्य र अग्रगामी पुँजीवादको विकास हुनु नितान्त आवश्यक छ । आर्थिक विकासको प्रचुर सम्भावना बोकेको हाम्रो देश नेपाल सक्षम र विकासप्रेमी नेतृत्व नपाएर कालाबजारी र भ्रष्टाचारीको घेराबन्दीमा फँस्दै अति गरिबीको रेखामुनी उभिएको छ । भन्नका लागि नेपाल जलस्रोतको धनी देश हो तर, नेपालकै कतिपय भागमा पानीको हाहाकार मच्चिएको छ । अन्नको भण्डार भनिने चिनिने नेपालको तराई–मधेश क्षेत्रमा सिँचाइको अभावका कारण त्यहाँका युवाशक्ति विदेश पलायन हुन बाध्य भएका छन् । मधेशमा वर्सेनी खडेरी पर्छ तर, राज्यसत्ताले त्यतातिर कहिल्यै पनि ध्यान दिएको पाइँदैन । मधेशमा विकासका पूर्वाधारहरू प्रशस्त मात्रामा छन् तर, राज्यले त्यसमा लगानी गर्नुको साटो उल्टै सबै उद्योग, कलकारखानाहरू धमाधम बन्द गराउँदै आएको छ ।
देशमा विद्यमान राजनीतिक दलहरू र उनको समर्थनमा बनेका गठबन्धन सरकारले राजनीतिलाई जनसेवी बनाउने र तीव्र आर्थिक विकास गर्ने कुनै सम्भावना देखिदैन । राज्यसत्ता सञ्चालकहरूले विकासका ठूलठूला सपनाहरू मात्रै बाँड्ने काम गर्दै समय व्यतित गर्दै आएका छन् । वर्षौंदेखि शोषण, उत्पीडन र विभेदमा पारिएका जाति र समुदायहरूलाई लोकतान्त्रिक विधि, सामाजिक न्याय र समानुपातिक समावेशिता सिद्धान्तको आधारमा हक अधिकार स्थापित गराउने पुरानो राजनीतिक पार्टीहरूको सोच समेत नरहेको र उनीहरूको ठगाहा प्रवृत्तिका कारण अधिकारविहीन अवस्थामा बाँच्दै आएका शोषित पीडित आम नेपालीलाई अधिकार सम्पन्न बनाउँदै देशलाई तीव्र आर्थिक विकासको दिशामा लैजान एउटा वैकल्पिक नयाँ शक्तिको आवश्यकता छ ।
वैकल्पि नयाँ शक्तिको आवश्यकतालाई महसुस गर्दै देशका ख्यातिप्राप्त विद्वान एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा २०७३ साल जेष्ठ ३० गते नयाँ शक्ति पार्टी नेपाल लाखौं संस्थापक सदस्यको साथमा सार्वजनिक रूपमा सपथ ग्रहण गरी घोषणा भएको छ । नयाँ शक्तिले मात्र नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही दिशा दिन सक्छ । सामाजिक न्यायसहितको राष्ट्रिय औद्योगिक पुँजीवादको विकास र समुन्नत समाजवादको निर्माण नयाँ शक्तिले मात्र गर्न सक्छ । समतामूलक र उन्नत संस्कृतिलाई प्रवद्र्धन गर्दै भ्रष्टाचारजन्य गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्ने नयाँ शक्ति नेपालको सबै कार्यशैली पारदर्शिता, सदाचार तथा लोकतान्त्रिक विधिको हुनेछ । नयाँ शक्ति नेपालको मुख्य उद्देश्य एकता, अखण्डता, स्वाधिनता, समृद्धि, समानुपातिक समावेशी, सामाजिक, न्याय तथा न्यायपूर्ण वितरण एवं सहभागितामूलक लोकतन्त्र एवं पूँजीवादको विकास नै हो । हामी सबै सहभागी बनौं नयाँ शक्ति निर्माण गरी समृद्ध बनौं । (लेखक, नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य हुन् ।)