पहिलो भ्रमण बेलायती प्रधानमन्त्रीको स्कटल्यान्डमा

अन्तर्राष्ट्रिय

लन्डन, ३१ असार । बेलायती प्रधानमन्त्री टेरेजा मेले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि जनमत सङ्ग्रहले दिएको अभिमतअनुसार बेलायतलाई युरोपियन युनियनबाट अलग्याउने पहल थाल्नका लागि छलफल चलाउन पहिला स्टकल्यान्डको भ्रमण गर्नुभएको छ ।

उहाँले आफूले स्कटल्यान्डका नेता ईयूसँग स्कटल्यान्डको कस्तो सम्बन्ध राख्न चाहने छन् यस सम्बन्धमा प्रस्ताव सुन्न चाहेको बताउनुभयो ।
स्कटल्यान्डको स्वतन्त्रता माग गर्दै आएका प्रथम मन्त्री निकोला स्टरजिअनसँगको भेटपछि प्रधानमन्त्री मेले भन्नुभयो, मैले सकेसम्म संयुक्त अधिराज्यलाई ईयूबाट अलग्याउँदा अपनाउनुपर्ने उत्कृष्ट धारणा चाहन्छु तर पहलबारे स्कटल्यान्डको विचार पहिला सुन्न इच्छुक छु ।

यसैबीच स्कटल्यान्डको विचार र लक्ष्यलाई पहिलो स्थानमा राखी अगाडि बढ्न चाहेको प्रधानमन्त्री मेको विचारले आफूलाई ऊर्जा मिलेको र प्रधानमन्त्रीको स्कटल्यान्डको लक्ष्यप्रति आएको आश्वासनलाई आफूले स्वागत गरेको स्टरजिअन बताउनुभयो । उहाँले बेलायती सरकार स्कटल्यान्डसँग खुला र लचक रहने प्रधानमन्त्रीबाट आश्वासन मिलेको बताउनुभयो ।