उत्कृष्ट संविधान ः जसले हल्लाए पनि हुने…

यताउताका कुरा

सरकारमाथि अविश्वास राख्न पाइने, तर अर्को सरकार बनाउन नपाइने । आ–आफ्नै हिसाबले अर्थ लगाउन सकिने । स्पष्ट कुरा हुनैपर्छ भन्ने छैन, न्यायका नौ सिङ्–संविधानका सयफुर्का । भन्न त ज–जसले चोरबाटोबाट संविधान बनाए उनीहरू यो त संसारको उत्कृष्ट संविधानको पगरी गुथाउँछन् । बालीनाली अर्काको राम्रो छोराछोरी आफ्ना राम्रा भनेझैं ३ दल अर्थात कांग्रेस, एमाले र माओवादी केन्द्र नयाँ संविधानलाई विश्वको उत्कृष्ट संविधान भन्छन्, जहाँ निकासको बाटो छैन । एमाले भन्छ–नयाँ सरकार बनाउने दफा खोई ?। कांग्रेस भन्छ–जसरी एउटा सरकार जान्छ, उसैगरी नयाँ सरकार आउँछ । तर यी दुवैले अरुलाई झुक्याएर पुक्याएर ‘फाष्ट ट्र्याक’ संविधान ल्याए । अहिले यही संविधान घाँटीमा अड्केको हाडजस्तो भएको छ । संघीयता र जातीय प्रदेश बनाएर सबैतिर रजगज गरौंला भनिठान्ने माओवादी केन्द्र यतिखेर आफ्नै बाबुको बिहे हेरेर बसेको छ, पूरै दलदलमा फँसेको छ । यता फर्के हुन्छ कि उता फर्के हुन्छ भनेर कहिले एमालेको साथ कहिले कांग्रेसको साथ लागेर वैतरणी तर्ने फिरादमा छ । अब त आफ्नै हातमा सत्ता आफ्नै अध्यक्ष प्रधानमन्त्री भन्ने अवस्थामा उत्कृष्ट संविधानले धोका दिने जस्तो छ ।

संविधानबारे कसलाई के चासो । आफ्नो अनुकूल व्याख्या गरेर सत्ता हडप्न पाए पुगिहाल्यो । अहिलेका ठूला तीन दल उस्तै परे आफ्नै बच्चाको घाँटी निमोठ्ने आमाले झैं संविधानको गला काट्ने तयारीमा छन् । कम्रेड प्रचण्डलाई थाहा हुँदै गएको छ, यो संविधानले अभिष्ठ पूरा गर्दैन, किनभने राजनीति दुष्टहरूको हातमा परेको छ । ओलीलाई यो संविधान फाल्न पाए हुन्थ्यो जस्तो छ । बोक्राको टोउकोले भैंसीको सिङ् थेग्न सक्दैन । एउटै राज्य चलाउन गाह्रो भएको बेलामा ८।८ वटा राज्य चलाउने कसरी ? ओलीको भनाइ लाद्ने भए न त धर्मनिरपेक्षता न त गणतन्त्र नै आउँथ्यो । भनेका थिए–नेपालमा राजसंस्था समाप्त गर्नु भनेको गाडा चढेर अमेरिका पुग्नु जस्तै हो । जे भए पनि उत्कृष्ट संविधान बनाउनेहरू कति निकृष्ट, जसले यता जालो उतै जालोले भरिएको संविधान बनाएर दिए ।

रामचन्द्रको सपना
कम्रेड ओलीले भने–ओउनोस् रामचन्द्र महोदय, तपाईलाई हामी प्रधानमन्त्री बनाइदिन्छौं । १७।१७ पटकसम्म गुल्टेको तर यसपाली मौकामा चौका लाग्ने पक्का पक्की भए पनि नयाँ प्रस्ताव लेराएर सबैलाई जिल्ला पारे । कतै यो सहमतिको सन्देशले आफ्नै तालुमा आलु फल्ने हो कि भन्ने आश पनि थियो । तर उनका लागि राजनीति आश गरेस् भर नपरेस् झैं बितेर गयो । कसै कसैको फुटेको कर्म, अरुलाई जति पनि सगाउन सक्ने आपूm भने जहिले पनि सत्ताको ढोका बाहिरको बाहिरै । प्रस्ताव राम्रो वा सकारात्मक भयो रे । अनि सबैले तारिफसमेत गरे, तर आपूmलाई काम नलाग्ने । सहमतिमा फुत्त आपूm छिर्न सकिन्छ कि भन्ने लागेको होला–त्यो पनि हिस्स बुढी हरिया दाँत ।

खुट्टा उचाल्नेहरू
जहाजमा प्वाल परेपछि मुसा भाग्छन् रे । सत्ताको जहाजमा प्वाल प¥यो, मुसा भाग्न थाले । जसको सिङ् छैन, उसको नाम तिखे । जसको पार्टी छैन ऊ नेता । त्यस्तै दलबिनाका नेताले लाजै पचाएर मन्त्रीपद खाइरहेका थिए । मन्त्री पदको स्वाद गढेपछि मान्छेको रगत खाएपछि बाघले मान्छेको शिकार खोज्न हिँडेझैं कम्रेड प्रेमबहादुर पनि यो सरकार गएपछि अर्को सरकारमा घुस्नै पर्छ भनेर मन्त्री पदबाट राजीनामा दिए । संसद्मा एक सदस्य भएका दलले आफ्नो दवदवा राख्दै आएका छन् । एकनाथदेखि प्रेमबहादुर सिंहसम्मले यस्तै मौकामा चौका हानेका न हुन् । कुकुरले पुच्छर हल्लाउनुको सट्टा नेपालको राजनीतिमा पुच्छरले कुकुर हल्लाउँदै आएका छन् । अब कसो होला । सत्ता टिकाउन आपूmलाई विकाउने प्रधानमन्त्री भएसम्म देशको पनि यस्तै हो ।

खोजी वकिलको
अड्डामा मुद्दा परेपछि झगडियाले वकिल खोज्दछन् आफ्नो पक्षबाट बहस गर्न । तर यतिखेर वकिल खोज्नेमा नेताहरू परेका छन् । बनाउने बेलामा १ वर्ष पनि कार्यान्वयन नहुने झारपात संविधान बनाउँछन्, अनि यता टाल्यो उता उघ्रिने, उता टाल्यो यता उघ्रिने भए पनि त्यसकै अपव्याख्या गराउन कोही न कोही चाहियो नि । कसैले एकथोक भन्छ अर्काले अर्कै थोक भन्छ–मेरो हित हुने बोल्ने मलाई ठीक लाग्छ, मलाई अहित हुने अर्कालाई ठीक लाग्छ । यतिखेर वकिललाई भ्याई न भ्याई छ–कतिखेर आफ्नो पक्षका नेताले बोलाउलान् र बित्तोतोडले दौडेर चाकरी बजाउन जान पाइएला भनेर बसेका छन् । ऊ घण्टी आयो–कुन चाहिँ नेताको हो, हत्तपत्त फोन खोल्छन्, नेताको होइन चामल पसलेको पो रहेछ । अघिल्लो महिनाको उधारो तिर्न बाँकी छ, उसको झपाट खानेमा पर्छन् वकिल महाशय । मेरो काम राय दिने हो, मान्ने न मान्ने उनको कुरा–वकिलहरूको भनाइ छ, तर जसले राय मागेको हो, त्यसलाई राम्रो लाग्ने राय दिनुपर्छ । त्यसो त अर्को सजिलो छ–आफ्ना पक्षका न भै अरुले बोलाउने होइनन् । कतापट्टिबाट बोलाएको ?। अविश्वास प्रस्ताव राख्नेको तर्फबाट–भनिदिनोस् प्रधानमन्त्रीलाई नयाँ निर्णय गर्ने अधिकार नै छैन, किनभने उसको विपक्षमा अविश्वासको प्रस्ताव आइसकेको छ ।

अब कानुनी सल्लाह राष्ट्रपतिलाई पनि चाहिने हो कि ?। आफ्नो टाउकोमा अपजस किन लिने । जे गर्नुछ–कानुनविद्हरूको सल्लाहमा भन्ने आधार बनाइराख्नु प¥यो । बोलाउनोस्–विश्वकान्त मैनाली । भनिदिन्छन्–अर्को सरकार बनाउने आधार नै छैन । अनि शेरबहादुर केसीलाई बोलाएर राय दिन भन्नुहोस्, उनले एकै सासमा भन्छन्–अर्को सरकार बनाउने कुनै छेकथुन छैन । आ–आफ्नै डम्पूm न हो । एकथरि भन्छन्–यो प्रधानमन्त्रीको स्वविवेकको कुरो जसो मनलाग्छ उसै गर्छन् । राष्ट्रपतिलाई समस्या–कसको कुरा मान्ने । तर राय अरुको निर्णय आफ्नो । सबैको आँखा राष्ट्रपतितिर छ । आपूmलाई राष्ट्रपति बनाउने यही नै हो भनेर नूनको सोझो गर्नतिर लाग्ने कि राष्ट्रपतिको प्रतिष्ठा पहिलेभन्दा अझ धेरै चम्काउने । जे होस् यतिखेर वकिलहरू निकै व्यस्त छन्, के गर्दा के हुन्छ । अरु जेसुकै होस्–नेपाली राजनीतिमा नूनको सोझो गर्दै रहनु भन्ने कुरा यतिखेर वकिलहरूले सावित गरे ।

कांग्रेसमा पोथी बास्यो
ओली सरकार विरुद्ध अविश्वास प्रस्ताव राखेको कुरा सुजातालाई अपच भएको छ । सबै कांग्रेस एकातिर सुजाता अर्कैतिर लागेर ओलीको खूब पक्ष लिइरहेकी छन् । किन हो कसैलाई थाहा छैन, तर अनुमान गर्न र अड्कल काट्न कसले छेकेको छ र ? भन्छन् कलवाइपासमा ज्वाइँ तानिए, त्यसलाई ढिल्याउन ओली सरकारले राम्रै सहयोग ग¥यो । जसले हित गर्छ, त्यसलाई वेवास्ता गर्नु भएन । त्यसैले ओलीको बोलीमा लोली मिलाउने काममा ज्यूज्यान दिएर लागेकी सुजाता दिदीको ज्यादती नै के भयो र ? जसको सिता खाई उसको गीता गाई भन्ने उखान चरितार्थ गर्दै जसले काम गर्छ, त्यसलाई प्रशंसा नै गर्नु पर्दछ । त्यसो त ओलीको गीता गाउनेमा गगुल ब्बाईदेखि भाइवर र साइवर समेत पर्न सक्दछन् । नेपालीहरू गुन चिन्नमा माहिर छन्, यो जग जाहिर कुरा हो । अर्को कुरा– सुजाता दिदीलाई उपप्रधानमन्त्री खाने खुबै रहर छ, त्यसमाथि पार्टीको परराष्ट्र मामिला हेरेकीले परराष्ट्र मन्त्रालय उनको हक जस्तो लाग्दछ । चीनले भित्रभित्रै ओलीको समर्थन गरेको र आपूmले बेलाबेलामा चीन भ्रमण गर्दै आएकोले चीनको समर्थन समेत पाइन्छ कि भन्ने लाग्यो होला । माधव कम्रेडलाई गिरिजाबाबुले ‘तिमीलाई प्रधानमन्त्री मैले बनाएँ, मेरी छोरीलाई उपप्रधानमन्त्री नबनाउने हो भने खैरियत छैन’ भनेपछि पाएको उपहारलाई दोहो¥याउने दाउमा थिइन् । कतै पार्टीले उत्ताउलो गाई संसाझैं बाघले खाई भनेझैं अनुशासनको कारबाहीमा पार्ने हो कि ?। तर कांग्रेस भनेको यस्तो पार्टी हो, जहाँ अनुशासन भन्ने दफा लागू हुँदैन, जसले जे भने पनि हुन्छ, जसले जे गरे पनि हुन्छ । त्यसैले यतिखेर पोथी बास्यो भनेर कसैले अन्यथा नठाने हुन्छ । यो बारम्बारको प्रक्रिया हो ।