नेपालमा कोराना संक्रमित ३२ जना, चार जनालाई निको

समाचार

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरमा ३३ वर्षीय युवामा कोरोना देखिएको जनाउँदै संख्या ३२ पुगेको बताए ।

उदयपुरमा मात्रै संक्रमितको संख्या १४ पुगेको छ । उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए ।

संक्रमित व्यक्तिको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजेटिभ आएपछि थप पुष्टिका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीर र आरडीटीबाट ३४ हजार ७१९ जनाको परीक्षण गरिएको छ । २७ हजार नौ सय ५६ जनाको आरडिटीबाट परिक्षण गरिएको छ । बाँकीको पीसीआर प्रणालीबाट परीक्षण गरिएको छ । एक सय सात जना आइसोलेसनमा रहेका छन् ।

चैत ११ गतेदेखि सरकारले कोरोना फैलिन नदिन लकडाउन गरेको छ ।