लकडाउन अझै एक साता थपिने

राजनीति

काठमाडौं । गत चैत ११ गतेदेखि जारी लकडाउन अझै एक हप्ता थप्न सिफारिस गरिएको छ । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको हो । यसबारे अन्तिम निर्णय गर्ने जिम्मा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको कार्यदलले मन्त्रिपरिषद्लाई दिएको हो ।

कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ ।

यसअघि बढाइएको लकडाउनको तालिका बैशाख १५ गते सकिँदैछ । त्यसअगावै सरकारले पुनः लकडाउनको मिति थप्ने बुझिएको छ ।

कार्यदलले भन्दा पनि भारतले गर्ने निर्णयलाई नेपालले पालना गर्ने बुझिन्छ । किनकि भारतमा दिनप्रतिदिन संक्रमित बढिरहेका छन् ।

नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् । १२ जना भने उपचारपछि घर फर्केका छन् ।

अहिलेसम्म नेपालमा ४९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् । जसमा पीसीआर ९ हजार ६ सय ६६ र आरडीटी ३९ हजार ६ सय ७० वटा भएका छन् ।

अहिलेसम्म १२ जिल्लाका नेपाली तथा भारतीय गरी ४९ जना संक्रमित भएका हुन् ।

त्यस्तै विश्वभर ५० नेपालीको मृत्यु भएको छ । त्यसैगरी १२ सय बढी संक्रमित भएका छन् । सबैभन्दा बढी मृत्यु अमेरिका र बेलायतमा भएका छन् ।

विदेशमा झण्डै ५० लाख नेपाली रहेको जनाइएको छ ।