नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४३ पुग्यो, किन सचेत भएन सरकार ?

राजनीति समाचार

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ४३ पुगेको छ । बुधबार २६ जनामा संक्रमण भएसंगै संक्रमितको कुल संख्या दुई सय ४३ पुगेको हो ।

सोमबार एक सय ३४ जनामा संक्रमण देखिएकामा मंगलबार ८३ जना थपिएका थिए । सुरुआती दिनमा निकै सुस्त गतिमा संक्रमित भएकामा पछिल्लो समय निकै तीव्र गतिले संक्रमित बढिरहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बेलुकी २४ जना नयाँ संक्रमित भएका हुन् भने दुई जना दिउँसो पत्ता लागेका नेपालगञ्जका एक र कपिलवस्तुका एक जना हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ संक्रमितमा रुपन्देहीका दुई जना २२, २५, २८, ३०, दुई जना ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४, १० र २८ वर्षीया महिला रहेका छन् ।

त्यस्तै कपिलवस्तुका २२, २९, ३२, तीन जना ४०, दुई जना ४२ वर्षीय पुरुष रहेका छन् । पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला रहेका छन् । नवलपरासीका ३६ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयले अहिलेसम्म ३५जना उपचारपछि निको भएको बताएको छ । बुधबार दुई जनालाई निको भएको हो । नेपालमा कोरोनाको जोखिम बढ्दा समेत सरकारी योजना भने फितलो देखिएको छ ।

पछिल्लो समय संक्रमित बढ्दै जाँदा सरकारले भने लकडाउन फितलो पारेको थियो । एक तिहाई कर्मचारीबाट कार्यालय खुलेका थिए भने बैंकहरु खोल्न भनिएको थियो । सेयर मार्केट खुलेको थियो ।

लकडाउनको उल्लंघन चरम रह्यो । सांसदहरु आफूहरु सुरक्षित रहेको ठानेपछि कार्यालयहरु खोलिएको थियो । अर्थात् सांसदहरु सुरक्षित भएपछि जनताको उनीहरुलाई पर्वाह नभएको उनीहरुको व्यवहारले देखाएको छ ।

सांसदहरु कोरोनाको संक्रमणका बेलामा पनि भोट बैंक जस्तै राहत बाँड्न जानु उनीहरुको गल्ती भएको पनि बताइन्छ । स्थानीय सरकारले यसको जिम्मा लिनुपर्ने विश्लेषण गरिएको छ ।

सरकार अलिकतिमात्र पनि सचेत हुन चुक्ने हो नेपालमा कोरोनाको अवस्था भयावह हुनेछ ।