काठमाडौं । भारत र चीनबीचको सीमा विवादका विषयमा तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्न सरकारालई सुझाव दिइएको छ । विपक्ष दलका नेताहरुले सीमा विवाद अन्त्य गर्न सरकारलाई तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नका लागि सुझाव दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा विपक्ष दलका नेताहरुले सीमा सुरक्षाका लागि सरकारले पहिले भारतसँग र त्यसपछि भारत र चीन दुवैसँग संयुक्त वार्ता गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुकी सम्पन्न बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधानका लागि कुटनीतिक र राजनैतिक रुपमा उच्चस्तरमा पहल गर्नुपर्ने सुझाव दिएका हुन् ।
उनले तत्काल भारतीय सैनिक नेपाली भूमिबाट फिर्ता हुनुपर्ने भन्दै उच्चस्तरबाट पहल अघि बढाउनुपर्नेमा जोड दिए । उनले वक्तव्यबाजी मात्रै नगर्न आग्रह गर्दै तत्काल पहल थाल्नुपर्ने बताए ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सीमा विवादबारे बाहिर हल्ला गर्ने भित्र केही पनि नगर्ने प्रवृत्ति गलत हुने बताए ।
पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले सीमा समस्याका सम्बन्धमा सरकारले नागरिकलाई अलमलमा राखेको भन्दै त्यसो नगर्न आग्रह गरे ।
गत शुक्रबार भारतले नेपालको लिपुलेक भएर चीनको मानसरोवर जानका लागि बिना कुनै सहमति सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि एकाएक नेपाली जगत तातेको छ ।
भारतले देखाएको यो दादागिरीलाई अन्तर्राष्ट्रिय जगतले पनि नियालिरहेको छ । भारत र चीनले सन् २०१५ मा सहमति गर्दै सडक निर्माण गरेका हुन् ।
तर दुवै देशले नेपाललाई कुनै वास्ता गरेका छैनन् । जबकि त्यो भूमि नेपालको हो । सरकारले भने भारत र चीनसंग वार्ता गर्नुको सट्टा आफ्नो कार्यकाल लम्ब्याउने आशीर्वाद लिएको आरोप लाग्दै आएको छ ।