लकडाउनमा काठमाडौँमा मोटरसाइकल चलाउने दुई जनाको गयो ज्यान

Home Feature समाचार समाज

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ ।

बिहान ५ बजे बा८५प ५६६ र बा९१प ११८८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लकडाउनमा बचेर सवारी चलाउन खोज्दा यो दुर्घटना भएको बुझिएको छ ।