काठमाडौं । विश्वका जुन देशमा राजसंस्था स्थायित्वमा छ त्यो देशका जनता सम्मानले झुक्छन् । यदि सरकारले कुनै गल्ती ग¥यो भने राजसंस्थाले सरकारलाई सचेत गराउने विश्वासमा नागरिक बसिरहेका हुन्छन् । राजसंस्था रहुन्जेल नेपालमा पनि त्यही अवस्था रहेको थियो । बहुदल रहँदासम्म दलहरुले राजसंस्थाको सम्मान गर्थे । औंलामा गन्न मिल्ने उश्रृंखल नेताहरुले कुनै गाली गरे पनि तिनीहरु राजाका अगाडि पर्दा निकै नरम हुन्थे । त्यो उनीहरुको सम्मान थियो । विश्वास पनि थियो । अन्ततगोत्वा राजसंस्था सबैको अभिभावक हो ।
अचानक त्यस्तो दिन पनि आयो कि दलका नेताहरु धेरै नै महत्वाकांक्षी भए । राजसंस्था फाल्न पाइयो भने आफू नै राजा हुने आकांक्षा पाले । जंगलमा भएका नेताहरु संसदमा चिच्याउन थाले । उनीहरुको महत्वाकांक्षाले ठूलो रोग पाल्यो । उनीहरुको बलले सधै संसदको ढोका ढक्ककाएर राजनीतिलाई पेशा बनाउन सफल हुँदै आएका बाँकी दलका नेताहरुमा पनि अहम् पलायो । र २०६५ सालमा फ्याले राजसंस्थालाई ।
त्यसउप्रान्त सबै दलका नेताहरु राजा बनिरहेका छन् । अनियन्त्रित बनिरहेका छन् । जो सत्तामा जान्छ उसलाई सबै गल्ती गर्ने छुट छ । जनता जतिसुकै पछि किन नपरोस् उसलाई त्यसको मतलब छैन । अचम्म त के भने २०६५ सालपछि अहिलेसम्म ८ जना नयाँ प्रधानमन्त्री भइसकेका छन् । यो बीचमा दुई जना दुई पटक प्रधानमन्त्री भइसकेका छन् । अर्थात् सरकार फेरिएको फेरियै छ । देशको आर्थिक अवस्था झन् खस्कँदो, विकासको गति गिर्दोछ । बस् बढ्दो छ त केवल भ्रष्टाचार र बेथितिको पारो ।
कोरोना भाइरसको महामारी फैलँदासमेत अहिलेको सरकारले भ्रष्टाचार गर्न छोडेन । बाढीपहिरोको विपदमा समेत आफ्नो कुर्सी जोगाउने सर्कसमा लाग्न छोडेन । यो कहिलेसम्म ? सत्ता र शक्ति बाहेक केही देख्ने बानी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नै अधोगतितर्फ धकेलिरहेका छन् । कोरोना उपचारमा १० अर्ब रुपैयाँ खर्च भएको सरकारले बताएपछि त्यसको हिसाब माग्दै जनता स्वतस्फूर्त रुपले सडकमा उत्रिए । तर सरकारले अन्टसन्ट हिसाब दियो । जनताले पत्याएनन् । देशभर हजारौं जनता सडकमा उत्रिरहे । कोरोना भाइरसको लकडाउनबीच उनीहरु सामाजिक दूरी अपनाउँदै सडकमा उत्रिए । सरकारले केही गर्न सकेन ।
सडकमा उत्रिएका युवाहरुको भीडले नेताहरुलाई पत्याएनन् । सरकारलाई पत्याएनन् । उनीहरुले वाध्य भएर ‘राजा आउ देश बचाऊ’ को नारा लगाए । यति हुँदा पनि सरकारले वास्ता गरेन । नेताहरुले पनि चाँसो दिएनन् ।
केही युवाहरुले ‘इनफ इज इनफ’ सत्याग्रह थाले । त्यसलाई पनि ओलीले झुक्याइदिए । उनीहरुले दोस्रो चरणको आमरण अनसन पनि थालेका छन् । सरकार गल्दैन । ओलीले सडकमा आफूलाई जिन्दावाद र विपक्षीलाई मुर्दावादको नारा घन्काउन लगाएका छन् ।
२०६५ साल जेठ १५ गते संसदबाट सांसदहरुले मुलुकलाई ‘गणतन्त्रान्त्रिक’ बनाए । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट श्रीपेज नारायणहिटी राजदरबारमा छाडेर गएको यथार्थ हो । त्यतिबेला श्रीपेज सुरक्षित राख्नु भनेर सरकारलाई भनेको पनि यथार्थ हो । तर त्यसपछि त्यो श्रीपेजको खोजी पूर्वराजाले गरेको पाइएको छैन । यसबीचमा एउटै प्रश्न खड्किएको छ – के पूर्वराजाले समय समयमा प्रेस विज्ञप्ति जारी गरेरमात्र पुग्छ ? आफ्नो देश कहाँ पुग्यो, के भइरहेछ र अब के गर्नुपर्छ भनेर सोच्नु नपर्ने हो र । आखिर पूर्वराजाले कहिलेसम्म हेरिरहने ।