काठमाडौँ । अहिले विश्वका सबै मानिसको जीवनमा तीन काम चल्तीमा छन् – मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र सेनिटाइजर लगाउने । कोरोना भाइरसको प्रकोपलाई रोक्नका लागि योभन्दा उत्तम उपाय अरु केही नहुन सक्छ । तर मास्कभित्र रुमलिएको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सामाजिक दूरी बनाएर सेनिटाइजर छर्कने काम कसले गरिरहेको छ भन्ने अत्तोपत्तो छैन ।
असारदेखि एकाएक उथलपुथल हुन थालेको मास्करुपी नेकपाभित्र एकाएक सामाजिक दूरी बढिरहेको छ । गुट–उपगुट बिस्तार भइरहेको छ । लाग्छ अस्थिरता फैलाउने सेनिटाइजर कसैले छर्किएको छ । टुनामुना लगाएको छ । मास्क पार्टीभित्रको विवाद मिलाउने प्रयास त परको कुरा अहिले वादविवाद चर्किरहेको छ । भेटेर कुरा गर्नुभन्दा सामाजिक दूरीमा बस्न नेताहरु रुचाउन थालेका छन् । नेताहरु पछिल्लो समय त सामाजिक संजाललाई प्लेटफर्म बनाएर ‘वाक्युद्ध’ मा लागिरहेका छन् ।
गत बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीच कुराकानी हुने तय भएको थियो । तर त्यही दिन दिउँसो २ बजे प्रचण्ड, खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले राजधानीको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा केही सञ्चारमाध्यमका पत्रकारहरूसँग अनौपचारिक भेट गर्दै पार्टीभित्रको पछिल्लो विवादको जरो खोतल्ने प्रयास गरे ।
त्यहींबाट सुरु भयो ओली समूहसंगको अर्को फाटो । पार्टी विवाद चर्किएका बेला चार नेताले गरेको छुट्टै पत्रकार भेटघाटको खबर प्रधानमन्त्री ओलीसमक्ष तत्काल पुगिहाल्यो । सहमति खोज्नका लागि बैठकको तयारी गरिरहँदा प्रचण्ड लगायत नेताले पत्रकार भेटघाट गरेपछि ओली रुष्ट भए । प्रचण्डसहित बस्ने भनिएको बैठक रोकियो ।
पत्रकार भेटघाटमा प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठले बोलेका कुरा सञ्चारमाध्यममा हुबहु आए, जसलाई बालुवाटारले आपत्तिजनक ठान्यो । सम्पादकहरुसंग पनि भेट्ने कुराले ओली पक्षका अझै दिमागका कन्सिरी ताते । बालुवाटारबाट प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध शाब्दिक फायर खोले ।
रिमालले ट्वीट गरे, ‘इनफ इज इनफ नारायणकाजी, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुहोस् । विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्, पार्टी एकता विरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ, महसुस होस् ।’ श्रेष्ठमाथि ओली पक्षका नेताहरूले बढी प्रश्न उठाउनुको कारणचाहिँ प्रवक्ता पदलाई प्रयोग गरेर श्रेष्ठको योजनामा पत्रकार भेटघाट बोलाइएको हो र त्यहाँ उनले गुटका कुरालाई पार्टीको धारणाका रूपमा ल्याउन खोजे भन्ने छ ।
तर प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार भएर ताइँ न तुइँका कुरा गर्दै हिँड्ने र हरेक दलालीमा सरिक हुने रिमाललाई त्यो पदमा बस्न त नैतिकताले छेकेन भने नारायणकाजीलाई आफ्ना विचार राख्न केले छेक्यो ? फेरि प्रधानमन्त्री स्वयंले विवादको जड निकालेको रिमालले भुले । प्रधानमन्त्री ओली आफैले भारतले आफूलाई हटाउन खोजेको र प्रचण्डसहितका शीर्ष नेताहरु भारतीय दलाल भएको आरोप सार्वजनिक कार्यक्रममा भनेको रिमालले भुले ।
ओलीको छुद्र बोलीले नै यहाँसम्मको हविगत भयो भन्ने स्वीकारोक्ति जबसम्म हुँदैन तबसम्म प्रचण्ड नेपाल खेमाले कुनै पनि हालतमा ओलीसंग सहजै हात मिलाउँदैनन् । कुर्सी छोड्नु पर्छ भन्ने भएपछि उनले भारतलाई पनि पोले र त्यससंगै प्रचण्ड, नेपाल र खनाललाई सति लैजान खोजे । त्यतिबेला ओलीले भारतसंगको विवादित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा जारी गरेका थिए ।
भारतले वार्ताका लागि समय दिएको थिएन । तीन पटकसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको फोन उठाएका थिएनन् । अब मोदीले आफूलाई बाहिरी घेरामा राखेको ब्रम्हज्ञान भएपछि ओली बर्बराउन थाले । त्यसमा उनले पार्टीलाई दाउमा लगाए । सहमतिलाई दाउमा लगाए ।
यसबाटै स्पष्ट हुन्छ धोका कसले दियो ।
प्रचण्डसहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई पार्टीको विधि र पद्धतिअनुसार नचलेको लामो समयदेखि आरोप लगाउँदै आएका छन् । तर ओलीले भने प्रचण्डसहितका नेताहरूको गठबन्धन आफूलाई पदबाट हटाउने र त्यो पदमा पुग्ने उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् । पदका लागि नभई विधि, पद्धतिअनुसार पार्टी चलाउने प्रयास भन्ने प्रचण्डसहितका नेताहरूको तर्कलाई पत्याउन ओली पक्ष तयार छैन किनकि यो विधि, पद्धतिको कुराभित्र मुख्य रूपमा ओलीेले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषय जोडिएको छ ।
गत असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक अझै टुंगिएको छैन । बैठकका लागि तय भएका एजेन्डा अलपत्र छन् । गत साउन १३ गते अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरिदिएपछि बहुमत सदस्यले बालुवाटारमै आफ्नो पक्षको बैठक गरे । त्यही बैठकपछि टुटेको संवाद जोड्न यो बीचमा ओली, प्रचण्ड, खनाल र नेम्वाङबीच दुईवटा बैठक बसे । तेस्रो बैठक नबस्दै पत्रकार भेटघाटको विवाद सुरु भइहाल्यो ।
पछिल्लो एक वर्षदेखि चुलिएको शक्ति संघर्ष अहिले उत्कर्षमा पुगेको छ । एकले अर्कालाई गर्ने विश्वास पूरै टुटेको छ । यही कारण नेकपा पंक्तिभित्र अहिले पार्टी फुटको आशंका व्याप्त छ । विवाद के फुटको तहमा पुग्छ त ? यो प्रश्नमा नेताहरूको औपचारिक जवाफचाहिँ ‘फुट्दैन’ भन्ने हुन्छ तर अनौपचारिक रूपमा चाहिँ पार्टी पंक्तिलाई जुनसुकै स्थिति आउन सक्छ भन्ने ब्रिफिङ गरिरहेका छन् । गुटलाई मजबुद गरिरहेका छन् ।
यहीबीचमा पार्टी उपाध्यक्ष वामदेव गौतमले ‘यू–टर्न’ नीति लिइरहेका छन् । उनी केपी शर्मा ओलीतिर लागेर प्रचण्ड र नेपाल खेमालाई छोडिदिएका छन् । आखिर उनको शरीरलाई कसले सेनिटाइज ग¥यो पत्तो छैन । तर यो चक्रव्यूहमा ठूलै खेल रहेको स्पष्टै छ ।
गत साउन १३ गते सहमतिका लागि भन्दै ६ बुँदे एउटा प्रस्ताव अघि सारे । प्रस्तावमा प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नु नपर्ने, अर्का अध्यक्ष प्रचण्डको कार्यकारी भूमिकाको व्याख्या गर्नुपर्ने लगायत विषय छन् । गौतमको त्यही प्रस्तावलाई अहिले ओलीलगायत उनी पक्षका नेताहरूले सहमतिका आधार ठानेका छन् । यो प्रस्ताव आएकै दिन प्रधानमन्त्री ओलीले गौतम निवासमा पुगेर डिनर भेटघाट गरे । अहिले गौतमको प्रस्ताव ओलीका लागि रक्षाकवच बनेको छ । यो कबच कहिलेसम्म टिक्ने होला ।