कांग्रेसको आन्दोलन ‘लोकको लाजले’

Home Feature राजनीति
PDF Embedder requires a url attribute

काठमाडौं । नेपाली कांग्रेस फेरि विस्तारै गर्जिएको छ । एकातिर कांग्रेस सभापति शेरबहादुर देउवाको मनमा लड्डु फुटिरहेको छ भने अर्कातिर लोकको लाजले पनि सडकमा जानु परिरहेको छ । अर्थात् प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनमा होमिएको छ ।
कांग्रेसले विभिन्न चरणमा आन्दोलन गरिरहेको छ । र पनि सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भइरहेकाले यसबारे धेरै नबोल्ने बताइरहेका छन् । आफैले लेखेको संविधानमाथि उनलाई शंका भएर हैन अवसरवादी भएकाले । फेरि सरकारको नेतृत्व गर्न पाइन्छ कि भनेर ।
त्यसैले पनि देउवा आन्दोलनमा होमिन चाहन्नन् । फेरि प्रतिपक्षमा बस्दाबस्दा प्रधानमन्त्रीको कुर्सीको सपना देखिरहेका देउवालाई त्यो अवसरको पनि प्रतिक्षा छ । त्यसैले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिलाई पनि उनले सहेर बसेका छन् । इतर पक्षले आन्दोलनको विकल्प छैन भनिरहेको छ । संसद पुनःस्थापनाको विकल्प छैन भनिरहेको छ ।
तर देउवा भने अवसरवादी बन्दा सिंगो कांग्रेस अलमलमा छ । संसद पुनःस्थापना कि निर्वाचन भन्ने विषयमा कांग्रेसभित्र अझै दुईथरी मत भए पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्नेमा एकमत छन् । विघटनविरुद्ध दोस्रो चरणको विरोध प्रर्दशनका कार्यक्रम अन्र्तगत शनिबार कांग्रेसले देशभरिका ७ सय ५३ वटै पालिकामा विरोध प्रर्दशन गरेको छ ।
विघटनलाई संविधान माथिकै ‘कू’ को संज्ञा दिएका कांग्रेसका नेताहरूले संविधान बचाएर मात्र निर्वाचनमा जाने बताएका छन् । शनिबारको विरोध प्रर्दशनमा पनि कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्नुका साथै आफूले गरिरहेको सडक आन्दोलनको औचित्य पुष्टि गर्ने प्रयास गरे ।
विरोधसभामा बोल्ने अधिकांश नेताहरुले गैरसंवैधानिक कदम सच्याउन र मध्यावधि निर्वाचन हुने सुनिश्चितताको माग गरेका छन् । उनीहरुले नेकपाका दुवै समूह तर्फबाट कांग्रेसलाई आएका प्रस्ताव अस्वीकार गर्दै गैरसंवैधानिक कदमको पछि प्रधानमन्त्री ओलीमात्र नभइ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको पनि उत्तिकै भूमिका रहेको आरोप लगाए ।
सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका कांग्रेसका नेताहरुले प्रतिनिधिसभा विघटनको विचाराधीन मुद्दामा अदालतले संविधानअनुसार फैसला गर्ने आशा व्यक्त गरेका छन् । विघटनविरुद्ध दोस्रो चरणको विरोधका कार्यक्रमअन्र्तगत कांग्रेसले माघ ८ गते देशभरिका सबै वडामा विरोध प्रदर्शनको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
जे नै भए पनि चुनाव नभएको अवस्थामा ओली र प्रचण्ड–नेपालका छुट्टाछुट्टै प्रस्तावले भने देउवा चञ्चल भइरहेका छन् । दुवै नेकपाका समूहले देउवालाई प्रधानमन्त्री बन्न अफर गरिरहेका छन् । तर देउवाले यो बुझेका छैनन् कि यदि उनी प्रधानमन्त्री बने कांग्रेस अझ बढी कमजोर बन्नेछ । कांग्रेसलाई डुबाउने कि तैराउने भन्ने जिम्मा उनकै । सम्भवतः त्यसैले पनि गर्जिनुपर्ने कांग्रेस अहिले विस्तारै गर्जिरहेको छ ।