काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी सभापति बन्न लालायित देखिएका छन् । उनले पार्टीको महाधिवेशन मंसिरमा हुँदै गर्दा भदौ ११ गते नै आफू भावी सभापति भएको भन्दै उम्मेदवारी प्रस्तुत गरेका छन् । यसक्रममा उनले २५ वर्षसम्म सहयात्रा गर्दै आएका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्ध नै तोड्दै विद्रोही बन्ने आँट गरे । उनको यो आँटलाई सामान्य मानिएको छैन । उनले दक्षिणको बलमा देउवासँग आमने सामने हुने आँट गरेको बताइन्छ । विमलेन्द्र निधी कांग्रेस आई र रअका मान्छे भएको उच्च स्रोतको दाबी छ । उनी भारतका बफादार थिए । तर भारतमा नरेन्द्र मोदीको सरकार आएपछि उनी विस्तारै छायाँमा परे ।
अर्थात् भारतीय जनता पार्टी भाजपाले उनलाई त्यति रुचाएन । भारतकै कारण उनको तत्कालीन अवस्थामा उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो । त्यसपछि लगातार उनका दुःखका दिन शुरु भएका थिए । उनले प्रतिनिधिसभा निर्वाचनमा पनि हारको सामना गर्नुप¥यो । उनको विरुद्धमा राजेन्द्र महतोलाई चुनावमा उठाइयो । महतोलाई जिताउनुलाई भारतीय जनता पार्टीको आशीर्वाद रहेको थियो । भाजपाले केपी शर्मा ओलीसँग सहकार्य गरी निधीलाई हराएको थियो । एमालेले साथ दिएरै निधी हार्दा महतो जितेका थिए । स्रोतका अनुसार निधी रअसँग टाढिएर युरोपियन युनियनसँग नजिकिएका थिए । युरोपियन युनियनबाट उनले थुप्रै फाइदा लुटेको बुझिएको छ । सोही कारण भारत
उनीसँग रिसायो । शक्तिमा हुँदा उनले थप क्षति पुर्याउन सक्ने देखेरै उनलाई पदबाट हटाउनु उसले उपयुक्त ठानेको बुझिन्छ । शेरबहादुर देउवासँग भारतको खासै राम्रो सम्बन्ध छैन । केबल कामचलाउमात्र । सोही कारणले भारतले अब निधीलाई नै प्रयोग गर्न खोजेको छ । निधीको प्रयोग गरेर सिङ्गो कांग्रेससँग खेल्न खोजेको पनि बुझिन्छ । यदि दक्षिणको साथ भयो भने निधीले चुनाव जित्छन् त ? उनले आफूलाई यति छिट्टै सभापतिको उम्मेदवारी घोषणा गर्नुको पछाडि आश्वासन नै हो ।
तर सिङ्गो पार्टीको साथ उनलाई हुने सम्भव देखिँदैन । अर्कातर्फ देउवा आफै पनि प्रतिस्पर्धी बन्दैछन् । उनी सत्तामा भएका बेलामा पार्टीको सभापति लड्दा पक्कै पनि उनको शक्ति बढेकै हुन्छ । त्यसैगरी रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष सशक्त छँदैछ । पौडेल पक्षबाट स्वयं पौडेलसँगै डा. शशांक कोइराला, डा. शेखर कोइराला पनि उत्तिकै आकांक्षी भएर उभिएका छन् । यसकारण समीकरण जटिल छ । तर दक्षिणको साथले केही उथलपुथल अवश्य गर्नेछ ।
यदि दक्षिणकै साथ हो र त्यही बलमा उनले अहिले शक्ति प्रदर्शन गरेका हुन् भने यो निधीका लागि राजनीतिक टर्निङ्ग प्वाइन्ट पनि हुन सक्छ । या त उनी सभापति हुन्छन् या त उनको राजनीतिक करियर लगभग सकिन्छ । किनकि उनले २५ वर्षे देउवासँगको साथलाई चुनौती दिइरहेका छन् । उनले शुक्रबार आफ्नो सम्पर्क कार्यालयको उद्घाटन नै गरे । नेविसंघको राजनीतिदेखि देउवा अघि र निधी पछि थिए । देउवा नेविसंघको अध्यक्ष भएपछि निधी भएका थिए ।
नेविसंघको जस्तै उत्तराधिकारीको अपेक्षा पार्टीमा पनि हुनु स्वभाविकै हो । १३ औं महाधिवेशनकै बेला यसपटक तपाईंलाई जिताउने हो, अर्कोपटक मलाई सघाउनुपर्छ है भन्दा देउवाले ‘हुन्छ’ भनेको निधीले भन्दै आएका छन् । यसबीचमा उनले पटक(पटक उत्तराधिकारी बन्न चाहेको बताउन छाडेनन् । झन्डै एक वर्षदेखि चलेको यी दुई नेताबीचको उम्मेदवारी रस्साकसीले शुक्रबारबाट भने अलग बाटो तय गरेको छ ।
अब घम्साघम्सीको स्थिति आइपरेको छ । कसले कस्तो भूमिका निभाउँछन् त्यो हेर्न बाँकी छ । संस्थापक नेता महेन्द्रनारायण निधीका पुत्र विमलेन्द्रले लिगेसी खोजे पनि उनको लिगेसीभन्दा कयौं गुणा बढी लिगेसी डा. शशांकमा देखिन सक्छ । किनकि निधीभन्दा वीपी कोइराला माथि मानिन्छन् । शशांक वीपी पुत्र हुन् ।
यो रोचक लिगेसीमा गणेशमान सिंह पुत्र प्रकाशमान र गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला पनि रहेका छन् । तर उनीहरु केही पछि छन् ।