काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुई टुक्रा पारे पनि थप टुक्रा पनि हुने शंका बढेको छ । किनकि उनले माधवकुमार नेपालको पक्षमा रहेर राजनीति गरेका नेताहरुलाई पनि धोका दिएका छन् । भीम रावल लगायतका नेताहरु माधव नेपाललाई छाडेर एमालेमै संघर्ष गर्ने भने पनि उनीहरुलाई ठाउँ नदिएपछि अहिले ओली प्रवृत्तिको विरोध भइरहेको छ ।
यसको असर पार्टीको महाधिवेशनसम्म धेरै नै पर्ने लगभग निश्चित छ । शनिबारदेखि त दशौं महाधिवेशनको वडा अधिवेशन पनि शुरु भइसकेको छ । तर ओलीले सच्चिने बाटो ल्याएका छैनन् । कतै पेलेर जाने हेपाहा प्रवृत्तिले पार्टीमा ठूलो ड्यामेज हुने हो कि भन्ने आशंका बढेको छ ।
पहिले विभाजन रोक्ने अस्त्र मानिएको १० बुँदे सहमति कार्यान्वयनमा ओली अनिच्छुक भएपछि विवाद बल्झिएको छर । ओली अनुदार देखिएको भन्दै उपाध्यक्ष भीम रावलले सहमति कार्यान्वयन कार्यदल संयोजकबाट राजीनामासमेत दिइसकेका छन् । सहमतिको तीन महिनामै बल्झिएको विवादले महाधिवेशन केन्द्रित कार्यतालिकालाई प्रभाव नपारे पनि आन्तरिक शक्ति सन्तुलनमा असर गर्ने जोखिम छर ।
एमाले मंसिर १०–१२ मा चितवनमा दशौं महाधिवेशन गर्ने तयारीमा जुटेको छ । तर पार्टीको महाकुम्भको मिति घोषणा भइसक्दासमेत १० बुँदे सहमति कार्यान्वयनको विवाद बल्झिनु अशोभनीय नै हो । असार २७ मा भएको उक्त सहमतिकै जगमा तत्कालीन माधवकुमार नेपाल समूहका स्थायी कमिटीका १० नेता र केही केन्द्रीय सदस्य एमालेमै बसेका थिएर ।
तर त्यही सहमति कार्यान्वयनमा ओली इमानदार नभएको तिनै नेताहरुले आरोप लगाइरहेका छन् । उनीहरु घर न घाटका भइरहेका छन् । ओली जिम्मेवारी नदिने र माधव नेपालको पार्टी निकै अगाडि बढिसकेका अवस्थामा उनीहरुलाई फुटेर अर्को पार्टी बनाउने वा सहेर बस्ने भन्ने दोधार छ ।
ओलीले गत बुधबार वागमती प्रदेश कमिटी बैठकमा माधव नेपाल आउँछन् भनेर १० बुँदे सहमति गरेको र उनी नआएपछि त्यसैलाई रटाइरहनुको अर्थ नरहेको अभिव्यक्ति दिएका थिएर । महाधिवेशन केन्द्रित कार्ययोजना र तयारीबारे छलफलका लागि बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकमा भीम रावल र घनश्याम भुषालले सहमति कार्यान्वयनबारे ओलीको धारणा मागेका थिएर । सहमति कार्यान्वयन नभए यसका पक्षधर नेताहरु वडादेखि केन्द्रसम्म जिम्मेवारीविहीन बन्न सक्ने भयमा छन् ।
रावलले १० बुँदे सहमति माधव नेपालका लागि मात्र गरिएको भन्ने ओलीको भनाइ तथ्यसंगत नभएको उल्लेख गरेका छन् । भुषालले पनि विगतमा सहमति कार्यान्वयन गर्ने वाचा गरेको भन्दै ओलीलाई त्यसप्रति इमानदार बन्न आग्रह गरेका थिए ।
एमाले जति अधिवेशनमा अगाडि बढिरहेको छ त्यत्तिकै १० बुँदे सहमतिको कार्यान्वयन पक्ष टड्कारो रुपमा आइरहन्छ । यदि यही तालले अगाडि बढ्ने हो भने भोलिका दिनमा एमाले नफुट्ला भन्ने छैन । अर्कातिर आफ्नै पार्टीभित्र इतर पक्ष खोज्ने ओलीले यिनै रावल पक्षलाई नै इतर पक्ष मानेर अगाडि नबढ्लान् भन्ने छैन ।