राजदूत बन्न कर्मचारीबीच हानथाप

राजनीति


काठमाडौं। सरकार परिवर्तन भयो कि सारा प्रणाली नै बदल्नु पर्छ भन्ने मानसिकताले गाँजेको छ । त्यसकै पछि लागेको छ कर्मचारी प्रशासन । जबकि प्रशासन भनेको स्थायी सरकार हो । तर चलाइरहेको छ अस्थायी सरकारले । अर्थात् नेताहरुले । अनि त्यतै त्यतै बगिरहेका छन् कर्मचारीहरु । चाकडी र चाप्लुसी पनि गरिरहेका छन् । अहिले विभिन्न २० देशमा राजदूत खाली छ । तीमध्ये ५० प्रतिशत नियुक्ति परराष्ट्र सेवाबाट गर्नुपर्ने व्यवस्था राजदूत नियुक्ति सम्बन्धी कार्यविधिमा गरिएको छ । यसबाट परराष्ट्र सेवाका १० जना सहसचिवले अवसर पाउने सम्भावना छ । यसको लागि परराष्ट्र मन्त्रालयका एक दर्जन बढी सहसचिवहरु दौडधुपमा लागेका छन् ।
संगठन तथा व्यवस्थापन सर्वे (ओएनएम) अनुसार रिक्त सबै ठाउँमा पद पूरा गर्दा परराष्ट्रमा ३३ जना सहसचिव आवश्यक पर्छ । यसमध्ये १६ जना सहसचिवलाई विभिन्न देशमा राजदूत पठाउन सकिन्छ । बाँकी १७ जना सहसचिवहरुलाई परराष्ट्र मन्त्रालयका विभिन्न विभाग, महाशाखा, तथा परराष्ट्र मातहतका निकायमा पठाउने गरिएको छ । एक जना सहसचिव राष्ट्रपति कार्यालयमा पठाउने व्यवस्था ओएनएममा गरिएको छ । नेपालले अहिले विभिन्न ३३ देशमा ३३ जना राजदूत पठाउने गर्छ ।
सरकारले केही दिनअघि मात्र तीन देशमा राजदूत सिफारिस गरेको छ । डा शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई इङ्गल्याण्ड र श्रीधर खत्रीलाई अमेरिकाको राजदूतमा सरकारले नियुक्त गरेको छ । यी तीन देशमा राजदूत नियुक्त गर्नुअघि २३ ठाउँमा राजदूत खाली थियो । अब २० देशमा खाली छ । केपी शर्मा ओली नेतृत्वको पूर्व सरकारका पालामा नियुक्त गरिएका भारतका लागि निलाम्वर आचार्य, इङ्गल्याण्डका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि युवराज खतिवडालाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाएको छ । ब्रसेल्स, न्यूयोर्क, जेनेभा, पेरिस, बैंकक, अबुधावी, ओटवा, बर्लिन, कुवेत सिटी लगायतका देशमा नेपाली दूतावास स्थापना गरिएका छन् । राजदूत खाली भएका देशमा राजदूत भइ जान सुशील लम्साल, धनबहादुर ओली, कृष्णचन्द्र अर्याल, निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, तेजबहादुर क्षेत्री, घनश्याम भण्डारी, दुर्गाबहादुर सुवेदी, लोकबहादुर थापा, प्रकाश सुवेदी, सुधीरकुमार भट्टराई लगायतका सहसचिव दौडधुपमा लागेका छन् । यीमध्ये तेजबहादुर क्षेत्रीले प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा उनका निजी सचिव भइ काम गरेका थिए ।
परराष्ट्र स्रोतका अनुसार राजदूतमा नियुक्ति पाउनको लागि विभिन्न माध्यमबाट परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नजिकिन एक दर्जन भन्दा बढी सहसचिवहरूले अस्वस्थ्य प्रतिष्पर्धा शुरु गरेका छन् । सरकारले केही देशमा राजदूत सिफारिस गर्ने तयारी भएको चर्चा सुरु भए लगत्तै राजदूतको लाइनमा बसेका सहसचिवहरुको अस्वस्थ्य प्रतिपष्पर्धा हुने गरेको छ । स्रोत भन्छ, –भरखरै फिर्ता बोलाइएका तथा कार्यकाकाल सकिएर केही समयअघि मात्र स्वदेश फर्किएका सहसचिवहरु समेत फेरि राजदूत भइ जान विभिन्न माध्यमबाट परराष्ट्रमन्त्री तथा विभिन्न दलका शिर्ष नेताहरुलाई प्रभाव पार्ने गरेका छन् । विगतमा विशेष गरी केपी ओलीको पालामा परराष्ट्र सेवाका सहसचिवहरुलाई राजदूतमा सिफारिस गर्दा कार्यविधि पालनाभन्दा पनि आफ्ना मान्छेलाई बढी प्राथमिकता दिने गरेको गुनासो परराष्ट्रका कर्मचारीहरु गर्छन् । अब जताजता मन्त्री उतै उतै कर्मचारी दौडेपछि क्षमताको कुरा आकाशका फल आँखा तरी मर जस्तै हो । अहिले परराष्ट्रका कर्मचारीहरु लिगलिगे दौडमा छन् । जसको चाकडी बढी हुन्छ उनी राजदूत । आखिर जस्तो प्रणाली त्यस्तै गति ।