“बुस्टर डोज”को अभाव किन ?

समाचार

काठमाण्डौ । केही दिन अघि मात्रै एक मानिस बुस्टर डोज लगाउन भनेर अस्पताल पुगे । आठ दस महिना अगाडि नै दुई डोज खोप लगाइसकेका उनले बुस्टर डोज पनि लगाइने भन्ने थाहा पाए पछि बुस्टर डोज पाइहालिन्छ कि भन्ने आसमा अस्पताल चहारेका थिए । तर उनी खालि हात फर्किनु प¥यो । उनले आफूले लगाएको खोप पाएनन् ।
साठीको उमेर कटिसकेका एक प्रौढ व्यक्ति पनि यतिखेर
बुस्टर डोजको खोजीमा छन् । एउटा पत्रिका पसलमा उनी आफूले बुस्टर डोज लगाउन पाए हुने भन्ने कुरा गर्दै थिए । कारण थियो, ती प्रौढ दम्पतीलाई छोराले केही समयका लागि अमेरिका बोलाएका थिए । र अमेरिका उडनु पूर्व उनीहरु पाएसम्म बुस्टर डोज लगाइहाल्ने मनसायमा थिए । तर उनको चाहना पनि पुरा हुनसक्ने देखिएको छैन । पत्रिका पसलमा चलेको चर्चा पत्रिका पसलमै सीमित हुने देखिएको छ ।
तेस्रो डोज त परको कुरो, कसैले पहिलो डोज नै पनि खोप लगाउन पाएका छैनन् । पहिले के होला के होला भन्ने त्रासमा खोप नलगाएकाहरु पछि खोप त जरुरी रहेछ भन्दै लगाउन पुगेका छन् । तर अस्पतालमा वा खोप केन्द्र चहारी नसक्नु छ । भीड उत्तिकै छ । त्यही लाममा ओमिक्रोन आक्रमण हुने डर पनि त्यतिकै छ । त्यसैले कतिपय त लाम देखेरै फर्किएका पनि छन् ।
सिभिल अस्पताल, बानेश्वरमा लाम लागेको देखेरै एक जना भन्दै थिए, ‘तीन चार घन्टा लाइन लागेर खोप लगाउने बेलामा खोप सकियो भन्ने जवाफ आउँछ कि भन्ने चिन्ताले लाइनमा बस्न पनि मन लाग्दैन ।’
यस्तो समस्या पनि नभएको होइन । धेरैले यस किसिमको समस्या भोगेका छन् । यो सिनेमाको टिकट होइन कि एक सय थान बेचे पछि सकिने । खोप त तोकिएको समयभित्र आउने जति सबैलाई दिनसक्ने गरी राख्नु पर्ने हो नि ! पछिल्ला दिनमा कुनै समय फालाफाल रहेको भेरोसिलको अभाव देखिएको छ । बुस्टर डोज हैन, पहिलो डोज लगाएर दोस्रो डोज लिन पुगेकाहरु पनि भेरोसिल खोपको अभावमा फर्किनु परेको छ । आखिर किन यस्तो भइरहेको छ ? किन सरकारले यतातिर ध्यान दिन सकेको छैन ? खोप आम नागरिकलाई जरुरी छ । खोप छ भनिन्छ तर खोप लगाउन गएकालाई फर्काइन्छ भने त्यो राम्रो व्यवस्थापन होइन । त्यसले खोपमाथि पनि राजनीति भइरहेको छ भन्ने देखाउँछ । खोपमाथि राजनीति नहोस् । साम दाम दण्ड भेद जे गरेर पनि जनतालाई खोपको व्यवस्था होस् । आम नागरिक यही चाहन्छन् ।