एमसीसी कुन चराको नाम ः नेताहरु धमाधम गिजोलिँदै…

यताउताका कुरा

एमसीसी–अमेरिकी अभियान, कम्युनिष्टहरू पूरै मर्कामा । खाऊँ कान्छा बाबुको अनुहार नखाऊँ दिनभरिको शिकार । एमाले दाउ हेरेर बसेको छ–समर्थन गर्छु पनि भन्दैन समर्थन गर्दिन पनि भन्दैन–ऊ त माओवादी र नेकपा समाजवादीको निरीह अनुहार हेरेर भविष्य तय गर्नेमा छ । यतिखेर भिडन्त गर्नेमा देउवाकाजी र दुईबाजे । एमसीसी समर्थन गरे गर नगरे सत्ता गठबन्धन चट् । समर्थन ग¥यो भने आउँदो चुनावमा एमालेले राष्ट्रवादको अर्को चर्को नारा लगाएर भोट बटुल्न पाउँछ । सत्ता गठबन्धन भाँडिए पाँच दलको पूरै गाईजात्रा–चुनावमा एमालेतिर भन्दा गठबन्धनकै अरु पार्टीतिर धारेहात लगाएर सत्तोसराप गर्न पाइने । अनि एमालेको दुवै हातमा लड्डू । अमेरिका भन्छ–पास गरे गर नगरे फिर्ता लैजान्छु । त्यत्रो ठूलो धनको पोको यसै फाल्न पनि भएन । एकथरि कम्युनिष्ट–पाएको धन गुम्न नदेऊ भनेर चर्को स्वरमा कराउँदै छन् । यतिखेर वामपन्थीहरू नराम्ररी गिजोलिएका छन्–लड्डू लडे चिनी झरे–कम्युनिष्ट फुटे, टुटे त्यसको लाभ कांग्रेसलाई । अनि मुसो छिर्ने दुलोमा ढुकेर बसेको बिरालोको सिको गरेको छ कांग्रेसले ।
नेताहरू धमाधम गिजोलिँदै गए–चीन हप्काउँछ कुनै हालतमा एमसीसी पास नगर भनेर, अमेरिका कुर्लन्छ, लौ त एमसीसी कसरी पास गर्दैनौ । निर्धा नर्वे, इटली, टर्की अमेरिकाको हेर्छन् थर्की–थररर काँपी ओर्कीफर्की मुखले भन्छन् गर्छौ प्रगति । त्यस्तै अवस्था छ–माओवादी र नेकपा समाजवादीको । देउवातिर फर्कौं चीन रिसाउने, नफर्कौं सत्ता गठबन्धन चिराचिरा पर्ने । सत्ता गठबन्धनमा बसेर–एक अर्कासँग मिलेर चुनाव लड्न पाए इज्जत बचाउने सम्मको परिणाममा सीट आउने–गठबन्धन छाडेर एक्लाएक्लै लड्दा अध्यक्षले लडेको सीटसमेत जोगाउन गाह्रो । त्यसो त अरु नेताको पनि हालत खस्ता छ–एमाले हुँ भन्नेहरू ओलीकै सत्तोसराप गर्दै हिँडेका छन् । कतै अन्तर्घातको प्रहारमा न परुन् । पहिले अरुलाई सिकाएको–अब आफ्नै पालोमा नयाँ पाखो बन्दै जाने हो कि ? अघिल्लोपल्ट भारतीय नाकाबन्दीलाई मूलमन्त्र बनाए । साँढे पल्टेको एमाले यसपल्ट एमसीसीकै कारण पल्टाबाजी खाने हो कि ?। आफ्नो नेताहरू ज्यादा न गिजोलियुन् भन्नेसम्मको घुमन्तेको रहर न हो ।

कांग्रेसलाई मर्का


एकातिर ओली कम्रेड भन्छन्–माधव र प्रचण्डलाई गठबन्धनबाट घोक््रयाएर निकालीदेऊ हामी देउवालाई मालाले टाउको छोपिनेसम्म पनि समर्थन गर्छौं । तर सभामुखको अडङ्गाले कुनै पनि प्रस्ताव पास हुने लक्षण छैन । कांग्रेस–एमाले मिलेर सभामुख विरुद्ध अविश्वासको प्रस्ताव पास गर्न सके हुन्थ्यो–त्यसमा पनि दोतिहाई पुग्न भ्यागुताको धार्नी । चाहिने १८१ भोट–कांग्रेस, एमाले, महन्थ ठाकुरको पार्टी एकै ठाउँमा मिसाउँदा पनि १७१ भन्दा बढी नजाने । अनि एमालेलाई बोकेर पनि कांग्रेसले भनेजस्तो नहुने । जसरी तसरी एमसीसी त पास गर्नैपर्छ, नत्र आफ्नो गहिरो हितैषी अमेरिका बिच्कन बेर छैन । अनि अर्कातिर चीन के गर्दा भाड्न सकिन्छ भनेर वामपन्थीलाई एउटै दाम्लोमा बाँध्ने प्रयासमा छ । यस्तै हो राजनीतिको भिन्नभिन्न रंग, के गर्दा फाइदा उतैतिर दंग । अहिले गठबन्धन तोड्न सकिन्छ कि भनेर एमाले अनेक ढंग अनेक रंग खेलिरहेको छ । यस्तोमा कांग्रेसले के गर्दा हुन्छ, कुनै टुंगोमा पुग्न सकेको छैन–टुंगोमा नपुगेसम्म अमेरिकाको कचकच रोकिने ढाँचा छैन ।
गठबन्धन भन्छ–सम्झौतामा केही संशोधन गरौं, त्यसो भए हामी ढोल नगारा बजाएर एमसीसीको स्वागत गर्छौं्र । उता अमेरिका भन्छ–सम्झौता संशोधन हामीलाई कसैगरी मान्य छैन । दाताले फेब्रुवरी एकसम्म टुंगोमा पुग्नुपर्छ भनेर अल्टिमेटम दिएको हो, तर आफ्नो सर परिहाल्छ कि भनेर निच मारेर बसेको छ । तर कुनै दिन गएर फिर्ता नै लैजाने पो हो कि ? कांग्रेसलाई ठूलो चिन्ता–एउटालाई चित्त बुझायो, अर्को रिसाउने । जेठी माग्ने पानी कान्छी माग्ने घाम म एक्लो बुढो कतातिर जाम–अब कसो गर्दा हुन्छ भनेर सोच्ने जिम्मा महामन्त्रीहरूलाई दिने हो कि ? त्यसो हुँदा आफ्नो टाउकोबाट भारी पन्छिने–महामन्त्रीहरूले अध्यक्षबाट हामलिाई विश्वास गरिएको छ भनेर नाक फुलाउन पाइने । तर पनि बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भनेझैं भारी त देउवाकै काँधमा ।


योगेशलाई उकालो


अघिल्लो चुनावमा ताप्लेजुङ्मा चुनाव प्रचार गर्दा ओलीले भनेका थिए–तपाईहरू योगेशलाई जिताएर पठाउनोस् म मन्त्री बनाएर पठाउँछु । तर ओलीले मन्त्री बनाएनन् किन त भन्ने चुरो अहिले खुल्दै आएको छ । पछि केही नलागेर मन्त्री त बनाए, योगेश मन्त्री बन्न नपाउँदै आफ्नो खल्ती बलियो बनाउने र आपूmलाई बलियो बनाउनेको खल्ती दरिलो पार्नेतिर लागे । चुनाव पछि पहिलो पल्टमा नै किन मन्त्री न बनाएको होला भन्ने खसखस घुमन्तेलाई लागेको थियो । यता सर्पको खुट्टा सर्पले देख्छ भनेझैं आङ् छिरिङ्लाई मोटो बनाएको अनुभवले कतै योगेशले अर्को कसैलाई बनाउँछ कि भन्ने लागेको रहेछ । अनि आफ्नो बारेमा उछित्तो काट्ने भूषाललाई भित्रिया बनाएर हुरीभन्दा केही कमको बतासलाई नारायणहिटीदेखि लिएर पशुपति क्षेत्रको धर्मशालासमेत सुम्पने दाउमा रहेको भेउ सायद ओलीले पहिले नै पत्ता लगाइसकेका थिए कि कसो सकेसम्म पन्छाएरै राख्ने दाउमा थिए, चारैतिरको दबाब सहन नसकेर अड्को पक्रेर तेलको धूप भनेझैं मन्त्री बनाएका थिए कि ?। राजनीतिमा सधैं्र मित्र र सधैं शत्रु कोही रहँदैन भनेझैं एकपल्ट माधव नेपालसँग लपक्क टाँसिए । शत्रु बनेका योगेश १० भाइसँगै टाँसिन आएर माधवका शत्रु ओलीका मित्र बन्न पुगे–भलै यो उनको व्यक्तिगत कुरा ।
अब रह्यो कुरा आउँदो चुनावमा योगेशलाई जित्न निकै उकालो पर्ने भयो । एक त घर नै उकालोमा । ओर्लन र उक्लन गाह्रो नपर्नुपर्ने हो । यो हिँडाइको होइन चुनावको दरो उकालो हो । अघिल्लो चुनावमा उधारै भए पनि ओलीले मन्त्रीपद दिएका थिए । यसपल्ट दौडीदौडी गएर ओलीले भोट माग्ने लक्षण देखिँदैन । त्यसो त खर्चको दुःख छैन–मित्रहरूले के के लिएर नाफा गर्ने दाउमा उनको भाउ बढाएरै खर्चको जोहो गरिदिएका छन् । माननीय बन्न नपाउँदै धेरैजना किन मन्त्री हुन मरिहत्ते गर्छन् भनेको त अर्को पल्टको चुनाव खर्चको जोहो गर्न मन्त्री पद नै चाहिने रहेछ । तर ताप्लेजुङ्बासीले भन्न थालेका छन् रे–योगेशले त जिल्लाको नै इज्जत डुबाउने भएछ । कतै अघिल्लोपल्ट सूर्यमा छाप हान्नेहरू आउँदो चुनावमा अर्कै चिनो छान्न पुग्ने हुन् कि भन्ने डरले योगेशको खुट्टा काम्न थालेको छ । त्यतिखेर बर्दियामा वामदेवलाई चुनाव हराउन ओलीले सहयोग भनेर पठाएका काजीहरूले नै अन्तर्घात गरेर हराएझैं आउँदो पल्टको चुनावमा बालकोटबाट कोको खटाइने हुन् टुंगो छैन । ताप्लेजुङ्मै पछारिदियो भने काठमाडौं आएर मलाई मन्त्री बनाइ दे भन्ने कचकच सुन्न पर्दैन भनेर भीम रावल, घनश्याम भूषालदेखि योगेशसम्मलाई जिल्ला तहमा नै थन्क्याउन बेर छैन । अनि परेन त उकालो ।


दुई डाक्टर ः को को नक्कली ?


डा. बाबुराम भट्टराईले घोषणा गरे भीम रावलको डाक्टरी उपाधि नक्कली हो । तर्क थियो–भट्टराईले एमसीसीको पक्षमा प्रस्ताव गरेका भन्ने भीमको तर्क हावादारी थियो । डाक्टरी गर्नेले धेरै पढ्नु पर्दछ, धेरै पढेकाले साँचो कुरा मात्र बोल्दछ, अनुमानको भरमा अरुलाई दोष लगाउँदैन । भीम रावलले भट्टराईले नै एमसीसीको पक्षमा प्रस्ताव बनाएका भने, तर कुन मितिमा भन्ने खुलाएनन् । आधुनिक पत्रकारिताको हावाले भीम रावललाई छोएछ कि कसो अड्कलको भरमा दोष लगाए । त्यसो त दुवै डाक्टर नाडी छाम्ने नभई अनुहार हेरेर कुरा टुंग्याउने हुन् । अनि एक अर्को डाक्टरप्रति यो हिलो छ्याप्ने काम किन अगाडि बढाएको होला । डा. भट्टराईले भारतको विश्वविद्यालयबाट पिएचडी गरे–भारतको नाम सुन्न नसक्ने डा. रावलले के निहुँ पाउँ कनिका बुक्याउँ उखान चरितार्थ गर्दै एमसीसीका जन्मदाता भट्टराई हुन् भनिदिए । प्रस्ताव गर्ने भट्टराई हुन् होइनन् थाहा छैन यतिखेर एमसीसी पास गर्नुपर्छ भनेर चर्को स्वर गर्ने चाहिँ भट्टराई नै हुन् । एमसीसीको नाम सुन्नासाथ रावललाई एलर्जी हुन्छ । कतै भोलि एमसीसी पास गर्न एमालेले ह्वीप जारी ग¥यो भने रावललाई भात खाऊँ कि थाल खाऊँ हुन जान्छ ।
यी दुई डाक्टर कम्रेडहरू केही वर्ष अघिसम्म काँधमा काँध जोडेर माक्र्सवादी सिद्धान्त भट्याउँदै हिँड्थे, यतिखेर कुन स्वार्थले कहाँ खेल्यो कुन्नि एकले अर्कोलाई देखिनसहने भए । भनिन्छ–स्वार्थ बाजेपछि मित्रहरू पनि भाँडिन्छन्, कैयौं कम्रेडहरू स्वार्थ बाझेकै भरमा एकले अर्कोलाई पछार्नेतिर लाग्दछन् । आउँदो चुनावसम्ममा दुई डाक्टरको बीचमा कतिखेर एकले अर्कोलाई नक्कली डाक्टर भनेको चर्को आवाज कसरी फिर्ता लिने होला ।


अन्त्यमा–
कम्युनिष्ट भनेको त नारायणहिटी र पुरातत्वका सामानहरु बेच्दै खाने पो रहेछ ।