काठमाडौं । भारतको नजिक रहेर भारत जे भन्छ त्यही गर्ने पार्टीको नाममा कहलिएका महन्थ ठाकुर र राजेन्द्र महतोबीच अहिले पानी बाराबारको स्थिति छ । छ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीका यी दुई नेताका कारण सिङ्गो दल नै भद्रगोल अवस्थामा छ । पार्टी गठन भएदेखि अहिलेसम्म एक पटक पनि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन । निर्वाचन आयोगमा शुरुमा दर्ता गराइएको कार्यकारिणी समिति बाहेक लोसपाले अहिलेसम्म कुनै समिति गठन गर्न सकेको छैन । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति मात्र होइन, भ्रातृ संगठनहरु पनि गठन भएका छैनन् ।
एउटा पक्षको नेतृत्व महन्थ ठाकुरले गरेका छन् भने अर्को पक्षको नेतृत्व राजेन्द्र महतोले गरेका छन । महतोलाई थाहा नदिइ ठाकुरले मधेस प्रदेशको संयोजकमा जितेन्द्र सोनललाई नियुक्त गरेपछि पार्टीभित्रको विवाद बाहिर छताछुल्ल भएको हो । लोसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । दलको नेता हुन ठाकुर र महतो दुवैले चाहना राखेका छन् । दलको नेता चयन नभए पनि ठाकुरले उमाशंकर अरगरैयालाई प्रमुख सचेतकको जिम्मा दिएका छन् । त्यो पनि पार्टीको लेटरप्याडमै ठाकुरले हस्ताक्षर गरेर अरगरैयालाई प्रमेख सचेतकमा मनोनयन गरेका छन् ।
दलको नेता चयन भएपछि उक्त नेताले प्रमुख सचेतक मनोनयन गर्ने नियम छ । तर ठाकुरले दलको नेता चयन नभएरै अरगरैयालाई प्रमुख सचेतकमा मनोनयन गरेका छन् । ‘नेतृत्वको अकर्मण्य र निष्कृयताले पार्टीमा चरम निराशाको अवस्था आएको छ’ महतो निकट एक नेताले बताए । ठाकुरले गरेको मनोयनविरुद्ध अघिल्लो महिना महतो निकट नेताहरु काठमाडौं आएर पार्टी कार्यालयमै घेराबन्दी गरेका थिए ।
लोसपा स्रोतले भन्यो, ‘अहिले ठाकुर र महतोबीच यस्तो विवाद छ कि यी दुई नेताबीच बोलचालको अवस्थासमेत छैन । जनता समाजवादी पार्टी विभाजन हुनुअघि ठाकुर, महतो पक्षका नेताहरु भक्तपुरमा गइ महतोलाई दलको नेता चयन गरेको घोषणा गरेका थिए । त्यसपछि जसपाको विवादले उग्र रुप लिएको थियो ।
विवाद बढ्दै गइ जसपा विभाजित भयो । विभाजनपछि ठाकुर, महतो लगायतका नेताहरुले लोसपा गठन गरे । लोसपा गठनपछि पनि महतोलाई दलको नेता चयन गर्ने ठाकुर पक्षधरहरुको निर्णय यथावत् रहेको महतो निकट नेताहरुको भनाइ छ । तर नयाँ पार्टी गठन भइसकेपछि जसपामा भएको बेला गरिएको निर्णय अब कार्यान्वयन हुन नसक्ने ठाकुर निकट नेताहरुको दाबी छ । दलको नेता कसलाई चयन गर्ने भन्ने विषयमा विवाद बढ्ने भएपछि लोसपाले अहिलेसम्म संसदीय दलको विधानसमेत बनाएको छैन । नेतृत्वको असक्षमताको कारण यो अवस्था आएको छ ।
ठाकुर र महतो नेकपा एमालेसँग नजिक छन् । केपी शर्मा ओली दुवैलाईै प्रिय लाग्छन् । तसर्थ चुनावसम्म उनीहरुबीच कुनै फुटको संकेत नदेखिन सक्छ । तराईमा नेकपा एमालेले लोसपासँग एकता गरेर चुनाव लड्ने संकेतसमेत दिइरहेको छ । ओलीको सरकार टिकिरहेको भए लोसपा सरकारमै हुने थियो । अहिले लोसपा कुनै दलसँग नजिक छ भने त्यो एमाले नै हो । सम्भवतः त्यो फुटको गन्धलाई ओलीले चुइँगम लगाएरै टाँस्नेछन् चुनावसम्म ।