कसैको लोकमा छैन एकैनास समुन्नति अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति यो दीर्घजीवी कविता हो–बेलाबेलामा प्रयोगमा आइरहन्छ । कम्रेड ओलीको शक्तिका अगाडि सबै नतमस्तक बन्नुपथ्र्यो–सदनबाट ओरालोमा । आपूmलाई सबैभन्दा शक्तिशाली ठान्दाठान्दै समयले मरन्च्यासे बनाउन बेर लगाउँदैन रे । अहिले जसले प्रधानमन्त्री पदबाट गलहत्याइदिए, उसै प्रधानन्यायाधीशलाई जोगाउन अरुलाई हप्कीदप्की गर्नुपर्ने भएछ । चोलेन्द्र शमशेर राणा जल्दाबल्दा प्रधानन्यायाधीश अहिले महाभियोगको तरबार उनको टाउकोमा त्यसो त ओली कम्रेडले प्रधानन्यायाधीशको रिस गरी संसद पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री बन्ने अवसर दिएकोमा महाभियोगमा साथ दिनुपर्ने हो । तर कसोकसो दुवैको घाँटी एकै ठाउँमा जोडिएको जस्तो भएको छ । अनि सोझै समर्थन नगरे पनि सत्तापक्षले राम्रो गरेन भनेर घुर्की देखाएका छन् । यसपल्ट धम्कीको भाषा प्रयोग भएन । कतै आक्रामक शैलीका ओली रक्षात्मक शैलीमा ओर्लिएका त होइनन् । त्यसो त टाइम टाइमकी बात है–यो समय उनको पक्षमा छैन कि ?
यता मलाई कसले के गर्न सक्छ भन्ने भ्रममा बाँचेका चोलेन्द्र कहिले सासुको पालो कहिले बुहारीको भनेझैं धाक धम्कीमा हुर्कंदै गएका थिए । तर सुनारको सयचोट लोहारको एक चोट भन्ने उखान चरितार्थ गर्दै तीन दलले ठूलै झापु हानिदिए । अविश्वासको पक्षमा एमालेले भोट नहाल्ला रे तर अर्को चार महिना यसै बित्यो–दिनभर व्यस्त रहने प्राणी दिनभर झिंगा मारेर घरमै बस्नुपर्ने भयो । सरुवा बढुवा र नियुक्तबाट राम्रै कमाइ हुन्थ्यो, मुद्दा कसको फाँटमा पार्ने भनेर पूर्व निर्धारण गरेर कुस्त आमदानी हुन्थ्यो– बुबाको लालना मिल्थ्यो दुलही ती नयाँ थिइन्–मुमा पनि हुनुहुन्थ्यो कठै ती दिन गै गएको अवस्था आयो । अबको आमदानीमा त बिर्को लाग्यो लाग्यो पुरानो कमाइमा समेत शत्रुको आँखा लागेर सम्पत्ति खोजीनीति हुन थाल्यो । त्यसो त हिङ् नभए पनि हिङ् बाँधेको टालो बोकेका राणाहरू पहिलेदेखिकै खानदानी हुन् । अनि लुकाएको कमाई कहाँ भन्न पाइन्छ र ? अरु कुरा त्यस्तै हो– कुर्नेस् कुर्नेस् गर्न लोकामा आउनेहरूको लर्को घट्ने भो, दशैं तिहारमा आउने कोशेली हिउँदमा खोलोसुकेझैं सुक्ने भयो । अहिलेसम्म यसो नमस्ते गर्नेहरू अब ठाडै मुन्टो बटारेर देखेको नदेख्यै गरेर तर्कने भो । अरुलाई रुवाएको फल आफैंले पाउने भने चोलेन्द्र राजाले । हामी रामराम भन्न सक्छौं–काँध थाम्न सक्दैनौं क्यारे ।
आउनोस् स्वागत छ
गठबन्धनमा एमसीसीले धाँजा फाट्ने लक्षण देखेपछि ओली कम्रेडको मुख रसाउन थालेको छ । त्यसो त चोलेन्द्रको केशमा गठबन्धनले झुक्याउनुसम्म झुक्याएको हो । अब एमसीसीमा गठबन्धनलाई झुक्याउन ओलीले रातदिनको ध्याउन्न बनाएका छन् । देउवालाई खबर पठाउने छन्–काजीसाहेब सरकार पूरै तपाई चलाउनोस्–माधव प्रचण्डलाई गलहत्याउनोस् । तपाई मन नपरेको होइन, तपाईका आसेपासे मात्र मन नपरेको हो । यदि दुईजनालाई गलहत्याउने हो भने म एमसीसी पास गर्ने सपथ खाने मात्र होइन एकलौटी सरकारलाई सघाउने बचन पनि दिन्छु । साँच्चै भन्ने हो भने तपाई र मेरो भित्री कुरा पहिलेदेखि नै मिल्दै आएको हो । दुई ठूला दल भएको नाताले एउटा सत्तापक्ष र अर्को प्रतिपक्षमा बस्नै पर्छ भन्छन् नत्र भए देउवा सरकारमा एमाले मिसिन हुन्न भन्ने थिएन । तपाई प्रधानमन्त्री भए एमाले गृहमन्त्री बन्न तयार छ । आखिर चुनावमा प्रहरी परिचालन गर्ने त गृहमन्त्री नै हो । हामी प्रहरी परिचालन गरेर भोट आफ्नो पक्षमा पार्न फेलखाने कुरै थिएन ।
माछा देखे दुलाभित्र हात सर्पदेखे दुला बाहिर हात गर्नमा एमालेलाई कसैले भेट्न सक्दैन । अहिले एमसीसीबारे चूपचाप बसेको एमाले गठबन्धन तोडियो भने तत्कालै देउवाको प्रस्तावलाई समर्थन गर्न हस्याङ् फस्याङ् गर्दै बालुवाटार पुग्न बेर लाग्दैन । त्यसो त एकलौटी दिने कुरामा एमाले कम्रेडहरू सहमत नहुन सक्छन् । ईश्वर पोख्रेलदेखि विष्णु पौडेलसम्म उपप्रधानमन्त्री बन्ने र चुनावसम्ममा जित्ने तालमाल मिलाउनुका साथै चुनाव खर्च जोडमा साँझ बिहान नभन्ने दाउमा छन् । ओली यो प्रधानमन्त्री भन्दा तल्लो पदमा जान हुँदैन त तर अरु कम्रेडलाई उप पदहरू लिन पनि अप्ठेरो छैन । त्यसो त कांग्रेसको नेता प्रधानमन्त्री भएको मन्त्रिपरिषद्मा तल बस्न इज्जतले दिन्छ दिँदैन त्यो बेग्लै कुरा तर हातमा पर्दा तातो दूध पनि मुखमा पु¥याउन अप्ठेरो नमान्ने हो भने बेग्लै कुरा । तर डा. मिनेन्द्र रिजालबाट शुभ भएको बालकोटको आवत जावतमा देउवालाई आउनोस् स्वागत छ–अर्को कदम हुनसक्छ ।
थर्कमान
यतिखेर सर्वोच्चका हाकिमहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । महाभियोग भन्ने हतियार कतै आफ्नो टाउकोमा बज्रने हो कि भन्ने डर । महाभियोग पारित होस् कि नहोस्–आफ्नो नाउँमा दर्ता भएपछि कम्तीमा ४–५ महिना अपाङ्ग बस्नुपर्ने । चार न्यायाधीशलाई छाड्नु हुँदैन भनेर एकथरि एमाले केटा उफ्रिरहेका छन्, अर्काथरि त्यही ढुंगो फर्केर आफ्नै टाउकोमा बज्रिन बेर छैन भनेर थर्कमान छन् । बलियो ढुंगो ओली कम्रेडको हातमा आइपुगेको छ–एमालेका दुई नम्बरी नेताहरूले हान्नैपर्छ भन्छन्, अर्काथरी किन भारी बोक्ने भनेर केही दिन सुस्ताउन भन्छन् । चार न्यायाधीशको सक्रिय जीवन वा निलम्बनको प्रश्न ओली कम्रेडको हातमा । त्यसो त जहिले प्रयोग गरे पनि हुने गरेर खाली कागजमा सही ठोक्ने काम पूरा भएको छ–८७ मध्ये पाँचजनाले नगरेर के भो र ?। तर कुरा त्यसोभन्दा पनि ओली कम्रेडलाई औंलो ठड्याउनेहरू पनि निस्किए । आपूmले बोलेपछि ब्रह्मवाक्य ठानिने र राणा प्रधानमन्त्रीहरूको तोक आदेश मानिनेमा अब प्रश्न उठाउने आँट गर्न थाले । ब्ल्याङ्क पेपरको हस्ताक्षर ओली कम्रेडले ४ न्यायाधीश विरुद्ध ठ्याक्कै प्रयोग गर्ने हुन् कि ? यो एउटा आशंका मात्र ।
चार न्यायाधीश विरुद्ध महाभियोग दर्ता हुनासाथ सबै एकसाथ निलम्बन लहरमा । अनि सत्ता गठबन्धनकाले राष्ट्रपति विरुद्ध महाभियोग दर्ता गरे भने सबै अधिकार नन्दबहादुर पासाङ्को हातमा । ऐनाको घरमा बस्नेले छिमेकीलाई ढुंगा हान्न हुन्न भने उक्ति छ । यसले यताबाट हान्ने उसले उताबाट हान्ने गर्दै जाँदा इदम् नष्ट उधम् नष्ट–नेपालको अवस्था कस्तो हुने हो । रिस उठेको बेलामा कसैले वेद पढ्दैन भनेझैं राजनीतिक प्रतिशोध लिन कस्सिएको बेलामा त्यसको असर भविष्यमा आफूमाथि कस्तो पर्छ–सोच्ने कसले । तर ब्ल्याङ्क पेपरको हस्ताक्षर कम्रेड ओलीबाट अहिले नै प्रयोग हुने हो कि भष्मासुरको वरदानमा परिणत हुने हो भन्न गाह्रो छ ।
भित्रीखेल
नेताहरूले जे भन्छन् त्यो गर्दैनन्, जे गर्छन् त्यो भन्दैनन्–ताजा उाहरण दिएर भनौं–गठबन्धनका तीन नेता दिनदिनै भेट्थे–एमसीसीबारे निकै चर्काचर्की गरेको भान पार्थे । तर बुढी लागी रमितामा स्यालले कुखुरो बोक्यउो–चरितार्थ गर्दै झ्वाट्ट प्रधानन्यायाधीश माथि महाभियोगको तरबार हाने । त्यसै दिन प्रहार गर्न नसकेको भए माधव समूह प्रतिनिधिसभाबाट चट् हुने । अनि नेताहरूको भित्री खेलले काम ग¥यो । देखाउने दाँत एमसीसी प¥यो अनि चपाउने दाँत प्रधानन्यायाधीशको महाभियोग । त्यसो त एमालेले यो ठूलै दनक खाएको हो । राजनीतिमा हामीलाई कसले पछार्ने भन्ने घमण्डको बीच गठबन्धनले ठूलै खेल खेल्न भ्यायो । कसले सोचेको थियो र महाभियोग दर्ता होला भनेर–यही हो राजनीतिभित्रको राजनीतिक खेल । कसले कतिखेर कहाँ हस्ताक्षर ग¥यो–अत्तोपत्तो नै भएन मैं हुँ भन्ने नेतालाई पनि । आपूmलाई राजनीतिक खेलमा अब्बल नम्बरको खेलाडी ठान्ने एमालेका नेता ओली प्रधानन्यायाधीश केसमा हिस्स बुढी हरिया दाँत लगाएर बालकोटमै अलमलिए । त्यसो त ६।६ प्रति बेहोरा बिनाको कागजमा हस्ताक्षर गरेर माननीयहरूले बुझाएका छन्–जसो गर्नुपर्छ गर्नोस् है बा भनेर तर यतिखेर बा नै विलख बन्दमा ।
एउटा कथा–एकजना वैद्यजी कसैलाई उपचार गरेर फर्कदैथे । बाटोमा एउटा लास दाहसंस्कार गर्ने ठाउँतिर लैजादै थिए । उनी आश्चर्यमा परे र भने न त उपचार गर्न म गएँ न मेरो भाइ नै गएको थियो–यो मान्छे मर्नुमा कसको हातको कुशलता होला, यस्तै भयो–सभामुखलाई अविश्वास राख्ने कुरा गर्दागर्दै प्रधानन्यायाधीशलाई कसले महाभियोगको कागज बनायो होला । राजनीतिमा मलाई भेट्टाउने कोही छैन भन्दाभन्दै ओली कम्रेडलाई त्रिमूर्ति–देउवा, प्रचण्ड र माधव नेपालले उत्तानो टाङ् लगाइदिए । यसैलाई भन्ने गरिन्छ–राजनीतिभित्रको भित्रीखेल–अर्थात राजनीतिमा पोलिटिक्स घुसाएको ।
अन्त्यमा–
अबको पाली बालकोट जाँदा देउवाले प्रधानमन्त्री पद चाँदीको किस्तीमा राखेर बुझाउलान् कि ?।