सही अभिभावकको अभाव

सम्पादकीय

गतिशील दूरदर्शी अभिभावक नहुँदा आज नेपाल वाह्य शक्तिहरुको कृडास्थल बन्न पुगेको छ । अहिले राजनीतिक नेतृत्व अपरिपक्वताको कारणले नै चीन र अमेरिका आमने सामने उभिन पुगेका छन् । एकले अर्कोलाई आरोप लगाएर वाकयुद्ध त शुरु भइसकेको छ । एमसीसी विशुद्ध विकासको अनुदान मात्रै नभए भूराजनीतिक रणनीति पनि जोडिएकोले अहिले यो परियोजना नेपाललाई निल्नु न ओकल्नु जस्तै भएको छ, यो सबै विश्वास गुमाइसकेका बेइमानी संस्कारका अधिकांश नेताहरु र राष्ट्रले विश्वासिलो अभिभावक नपाएकै कारण यस्ताखाले असजिला पेचिलो खालका समस्या आइलागेको हो र भविष्यमा पनि व्यहोर्नुपर्ने हुन्छ । यदि कांग्रेसका कार्यकर्ता एमालेका कार्यकर्ता वा अरु कुनै पनि दलका कार्यकर्ता मुलुकको अभिभावकीय भूमिकामा नभएका व्यक्ति राष्ट्रपति भइदिएको भए यति जटिल समस्या भोग्नुपर्ने थिएन, २००७ सालदेखि २०६२ सालसम्म यस्ता थुप्रै अप्ठ्यारा बेला नआएका भने होइनन् तर राष्ट्रिय स्वाभिमानलाई नै अग्रस्थान दिएर समस्याको समाधान भएको थियो तर अभिभावकीय पदमा आशिन राष्ट्रपति एमालेकै कार्यकर्ता भएकाले उनको हर काम कार्यवाही एमाले त्यसमा पनि ओली पक्षीय भन्ने आरोप लाग्ने गर्दछ ।
त्यसैले पनि पूर्वराजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरको सन्देशमा अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रब्यूहले प्रजातन्त्रलाई कता पु¥याइरहेको छ विचारणीय प्रश्न छ भनी गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ र अन्तमा उहाँले जनताले अपेक्षा गरेको रोजेखोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान आकृष्ट गर्नुभएको छ । त्यस्तै उहाँले राष्ट्रियताविनाको प्रजातन्त्र हावामा महल बनाए सरह हुन्छ भनी प्रजातन्त्रको दुहाई दिँदै राष्ट्र विरोधी कार्य गर्न खोज्ने राजनेतालाई औंला ठड्याउनु भएको छ ।
मुलुकमा अभिभावकीय भूमिकामा असल दूरदर्शी, परिपक्व राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको व्यक्तित्वकै अभाव मुलुकले के कस्ता दुर्घटना व्यहोर्नु पर्ने हो भन्न सकिने अवस्था छैन । अहिले एमसीसी परियोजनाको कारण शक्तिशाली राष्ट्र अमेरिका र चीन आमने सामने वाकयुद्धमा पुगिसकेका छन्, एमसीसी सदनबाट पास भए शक्तिशाली छिमेकी राष्ट्र चीन नेपालबाट धेरै टाढिने र नेपाललाई बदलाको रुपमा हेर्ला भन्ने भय छ, त्यस्तै एमसीसी पास नभए अमेरिकाले कति भयानक र डरलाग्दो गतिविधि देखाउने हो ! यी सबै अप्ठ्यारा अपरिपक्व राजनेता र कुशल अभिभावकविनाको राष्ट्रमा हुने लक्षण हो, त्यसैले यी सबै पक्षलाई मध्यनजर राखी ‘राष्ट्रवादी’ नेता र दूरदर्शी अभिभावकको खोजी गरौं ।