काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । पञ्चायतकाल, सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन । गणतन्त्र स्थापना भएपछि एक पटक मात्र भएको निर्वाचन त्यसपछि भने नियमित हुन नसकेको हो ।
त्रिविले शैक्षिक क्यालेन्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । वि.सं २०६५
सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोकिएको छ । वि.सं २०६५ पछि एकै पटक आठ वर्षपछि २०७३ चैत १५ गते भएको थियो । २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा त्रिविले स्ववियु निर्वाचन गराए पनि आंशिकरुपमा केही क्याम्पसमा मात्र भएको थियो तर त्यसपछि यता पटक–पटक त्रिविले स्ववियु निर्वाचन घोषणा गरे पनि हुन सकेको छैन ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आफ्नो सङ्गठन स्ववियु निर्वाचनका लागि तयार रहेको बताइन् । उनले अहिले फागुन १४ गते हुन नसके पनि चैतमा चुनाव गर्नुपर्ने बताइन् । उनले त्रिविलाई स्ववियु निर्वाचनको मिति तोक्नसमेत आग्रह गरिन् । नेपाल विद्यार्थी संघका नेता बलदेव तिमिल्सेनाले पनि त्रिविले चाँडै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । उनले त्रिविका पदाधिकारीको गैरजिम्मेवारीपन कार्यले निर्वाचन हुन नसकेको बताए । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठन तयार रहेको बताइन् । उनले आफूहरुले स्ववियु निर्वाचनको मिति तत्काल तोक्न त्रिवि पदाधिकारीसँग आग्रह गरिसकेको समेत बताइन् । अध्यक्ष सिंहले केही विद्यार्थी सङ्गठन हार्ने डरका कारण पनि निर्वाचनबाट भागेको हुन सक्ने बताइन् ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले राजाको प्रत्यक्ष शासनकालमा पनि भएको निर्वाचन आज लोकतान्त्रिक गणतन्त्रको शासनमा नहुन दुःखद् हुनु हो भने । स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा रहेको छ । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् । त्रिवि सभाका निवर्तमान सिनेटर तथा आरआर क्याम्पसका निवर्तमान सभापति तपेन्द्र शाहीले स्ववियु निर्वाचन नहुनेमा विद्यार्थी सङ्गठन र त्रिवि पदाधिकारी नै दोषी रहेको बताए । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गर्नबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग परामर्श भइरहेको बताए । उनले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए ।