एमसीसीको निहुँमा कम्रेड ओलीले पाँच दलको गठबन्धनमा ठूलै ह्यामर हान्न तयार बसेका हुन्–ह्यामर हान्नुभन्दा पहिले बिँड खुस्कियो । देउवालाई ललाई फकाई आपूmतिर तान्न निकै प्रयास गर्दा पनि अति चाम्रा ठहरिए रुवाखोलेकाजी । एकातिर मिल्न मिल्न लागेजस्तो गर्ने तर मिल्न खोजेको पक्षको खुराफाती बुझेकाले आफ्ना पट्टिकालाई अत्याउने काम गरेर आफ्नो मुख्य काम फत्ते गरी छोडे । यता ओली कम्रेडलाई लागेको थियो–देउवालाई एमसीसी पास नगरी भएको छैन, माओवादी र समाजवादी छिमेकी चीन रिसाउला कि भनेर पक्कै पनि देउवाले भनेको बाटो लाग्ने छैनन् अनि कहाँ जान्छस् मछली मेरै ढडिया भनेझैं आफ्नो सरकारमा नआई सुख छैन । एमसीसी पास गराउन नसके यता कांग्रेसीहरूले कमजोर प्रधानमन्त्री भनेर अर्कै बाटो लाग्ने–उता अमेरिकाले पत्याउनै छाड्ने–सबैले ललाई फकाई पास गर्नै थियो । अनि हाम्रो सहयोगले मात्र एमसीसीले पार पाउने भएकाले यहीबेला अग्नि सापकोटालाई गलहत्याउने र १४ सांसदलाई बानेश्वर प्रवेश निषेध गराउने अनि एमसीसी पास गर्ने ओली नीति अन्त्यमा सफल भएन ।
देउवाले ओलीलाई पत्याउन सकेनन् । आफ्नै पार्टीका नेताहरूलाई दूधबाट झिकेर माखो फालेझैं फाल्न सक्ने कम्रेडले कतै आपूmलाई पनि भुसको थैलोमा बाँधिदिने हुन् कि भन्ने डर लिएर किन मिल्न जाने । हुन त दुवै नेता कहिले के त कहिले के भनेर हल्लाइरहेका । ढोडाको लौरो जस्ता भन्ने हो वा बाँदरको पुच्छर लौरो न हतियार मान्ने हो आखिरमा काम लाग्ने यिनै देखे । मौकामा चौका हान्न सिपालु ओली शत्रुनास योग निकालेर पहिलोपल्ट एकथरि त दोस्रोपल्ट पहिले मिलेजस्तो गर्नेहरूलाई सोत्तर पार्ने दाउमा थिए र बेलाबेला बालुवाटार पुगेर देउवालाई भाउ दिने गरेका थिए । एउटै उद्देश्य गठबन्धन फोड्ने, फुटेकालाई आपूmतिर जोड्ने भनेको न मान्नेलाई अलपत्र छाड्ने थियो । तर भनेजस्तो नहुने गठबन्धन फुटाउने कुरा फलामको च्यूरा जत्तिकै साह्रो भएकोले आखिरमा प्रयास नै छाडे । रुख चढेर अंगुर टिप्न नसक्ने भएपछि स्यालले अंगुर अमिलो छ भनेर छाडेर हिँडेझैं खडेरीको ढुंगो कति साह्रो भनेर गठबन्धन फुटाउन खोज्दाको थकान मेट्न ओली विस्तारामा ।
एमालेको रोइलो
शिवरात्रीकै दिन महादेवको आशीर्वाद आफ्नो पार्टीलाई मिल्छ कि भनेर एमालेले एउटा प्रेस सम्मेलन गरी आफ्नो पार्टीलाई एमसीसी निर्णयमा बहिष्कार गरेकोमा निकै गुनासो गरे । गठबन्धन सरकारले आफ्नो पार्टीसँग सरसल्लाह नै नगरी एमसीसी पास गरेकोमा चित्त दुख्नु स्वाभाविकै हो । जसले शिकार ग¥यो उसैले भाग नपाउनु चित्त दुख्ने कुरा भयो नि । संसदमा लगेर दर्ता गराएको त एमालेले नै हो नि । ठूलो राष्ट्र अमेरिकालाई रिझाउन र मह काट्नेले हात चाट्छ गर्ने कार्य गराएको हो । तर त्यतिबेलाका सभामुखले चारैतिर पर्खाल लगाएर छलफलमा छिर्नै दिएनन् । त्यसको बदला लिन पछि नपरेको एमाले पास गर्ने बेलामा ओल्लोघाट न पल्लोतिर जस्तै उभिएको उभियै भयो– ध्वनिमतले पास गरिहाले । प्रचण्ड र माधवलाई किनारा लगाएर आफ्नो सहभागितामा एमसीसी पास गर्ने रहरमा असिना पारियो–आपूm त हेरेको हे¥यै । मनको वह कसलाई भनेझैं गुनासो जति पत्रकारलाई सुनाएर चित्त बुझाउनेमा प¥यो ।
यता सदन चल्न दिँदैनौं–हाम्रो सहभागिता हुँदैन भन्दाभन्दै भीम रावलले रोष्टमको राम्रै उपयोग गरे । उनले एमालेको सहभागिता देखाइहाले । खान्न खान्न लोकाचार खान लाग्यो मानाचार भनेझैं विरोध गर्छु भन्दाभन्दै पनि एमालेले समर्थन जनाइहाल्यो । एकपल्ट २ घण्टा र अर्कोपल्ट एक घण्टा गरी ३ घण्टा चलेको सदनमा विचरा एमालेका सदस्यहरू खुट्टा गल्ने गरी उभिए । सही गर्नासाथ भत्ता पाकिहालेको थियो–विना सित्तीमा नेताहरूले बेल घेर्न तीन घण्टा कवाज खेलाए । एकातिर एमालेले सदन बहिष्कार गरेको भन्थे अर्कोतिर धमाधम प्रस्तावहरू पारित हुन्थे–त्यो घण्टौं घण्टाको उभिएर खुट्टा दुखाएको प्रतिफल भत्तामात्र हो त । त्यसमा पनि नेताहरू मेचमै बसिराख्ने–कराउन नजाने सामान्य सदस्यले मात्र घाँटी सुकाउने ज्यामीकाम पूरा गर्नुपर्ने लाग्दछ–एमालेको संसद अवरोधको काममा विस्तारै सेलाउँदै जाने ढाँचामा छ । वर्षामा खहरे गडगडाए जस्तो खुबै कुर्लिएका कम्रेडहरू विस्तारै हिउँदको खोलो सुकेझैं सुक्दै गएका छन् । देउवालाई माखोसाङ्लोमा पारेर अरुलाई प्रहार गर्न खोज्दा आफैं बाहिरिए । त्यसैले एमसीसी पास गर्नमा कुना लगाएकोमा खुबै रोइलो गर्दैछन् ।
विनाकामको ज्याला
यतिखेर संसदको बैठक अवरुद्ध गर्न अरुलाई नैतिकताको पाठ सिकाइरहेको एमाले आफ्नो नैतिकता कुन तराजुमा जोख्ला । संसद प्रवेश गर्न हस्ताक्षर गर्ने, हस्ताक्षर गरेपछि भत्ता आइहाल्ने तर भत्ताको उक्सेरो भनेको सभामुख सामुन्ने गएर नाराबाजी गर्ने । पहिले त चर्कै स्वर सुनिन्थ्यो अचेल निकै सानो स्वर बनेको छ । कलकत्तामा ज्याला लिन जुलुसमा जाने जस्तो । अहिले कस्तो छ कुन्नि–एकताका कलकत्तामा कुनै जुलुस गर्नु प¥यो भने यति मान्छे ल्याउने, यति पैसा पाउने, साँझ ५ बजेसम्म चर्को आवाजमा नारा लगाउने अनि घर जाने भनेर खेताला प्रदर्शनकारी ल्याउन ठेक्का दिइन्थ्यो । भनेअनुसार मान्छे जम्मा हुन्थे–पाखुरा सुर्कदै नारा लगाउँथे–अनि पाँच बज्नासाथै आजका समय खतुम्” भनेर हिँड्थे । एमाले नेताहरूले अराएअनुसार सांसदहरू पुग्छन्–नारा लगाउँछन्–बैठक स्थगित भन्न नपाउँदै कुलेलम ठोक्छन्– पहिले पहिले चर्को स्वर सुनिन्थ्यो अचेल आवाज दप्दै गएको छ । भनौं कि नभनौं जस्तो गरेर सभामुख मुर्दावाद भन्छन्–सभामुख मुसुमुसु हाँसेर पचाइ दिन्छन् ।
गाउँघरमा अहिले पनि ज्यालामा काम लगाउने चलन छ, जसको सीता खाई उसको गीता गाई गरेर ज्याला लिनेहरू आफ्नो बलबुताले भ्याएसम्म काम गर्दछन् । ज्याला लिइसकेपछि काम गर्नुपर्छ भन्ने भावनाले काम गरेको हुन्छ । त्यसमा पनि राष्ट्रको ढुकुटीको पैसा खाएपछि राष्ट्रकै लागि केही त गर्नुपर्ने हो । तर कुरो र कुलो जता लगायो त्यतै लाग्छ भन्छन्–संसदमा गरेको अवरोध पनि राष्ट्रकै काम हो । यो भनाइउसँग चोचोमोचो मिलाउने कति नै होलान् हँ । कामबिनाको ज्याला खाएर कतिदिन चित्त बुझाउन सकिएला–आफ्नै मनले सराप्ने दिन आउने छ । अरुले त भन्न थालिसके–सदन चल्न नदिने हो भने भत्ता पनि लिनु भएन । काग कराउँदै गर्छ–पिना सुक्दै गर्छ–भन्नेहरू भन्दै गरुन्–हामी भत्ता पनि खान्छौं, सदनको काम हुन पनि दिँदैनौं भन्छन् भने नकच्चराको औषधि कहाँ खोज्न जानु ।
नारायणकाजी वामदेवको बाटोमा
काजीलाई चित्त नबुझेर के गर्नु नेताबाले चित्त बुझाएपछि । एमसीसी अनुमोदन गरेको कुरा नारायणकाजीलाई पटक्कै मन परेको थिएन–एक दिन विरोध गर्न सडकमै पुगेर नारा लगाएका थिए । तर मूल नाइकेलाई चित्त बुझेपछि भाइनाइकेहरूको के लाग्ने । बाहिर विरोध गरेजस्तो देखाए पनि एउटै ढुंगाले गठबन्धन फुटाइदिए भने आपूm घरको न घाटको हुने भएपछि समर्थन नगरी सुखै भएन । नाइकेले पक्षमा मतदान गरे पनि आफ्नै अधिकार विपक्षमा भोट हाल्ने नभएपछि कराउनु भन्दा के नै गर्न सकिन्छ र ? नारायणकाजीको भनाइ बसेर बोले सुनिदैन उठेर बोले हावाले उडाउँछ भनेझैं उनको बोली कसैले सुनेन । अनि मुर्मुरिएर हात्तीवनतिर लागे–नाइकेले भने कसैलाई पार्टी फुटाउने मन छ भने कसले रोक्न सक्छ र ? तर पछि गएर हात लाग्यो शून्य नबनोस् । पार्टी खोल्दैमा र पार्टी फोड्दैमा हुने भए यतिखेर सीपी कम्रेड बालुवाटारमा हुन्थे । कमल थापालाई नयाँ पार्टीको नेतृत्व चाहियो, तर आफ्नै छोरी र भतिजाले पनि पत्याएनन्–लिङ्देनले खुवाएको सपथ खान गए । अब एकपल्ट पुरानै कुरातिर लागौं–आधा पार्टी फक्लक्कै फोडे भनेर धाक लगाएर बसेका वामदेव चुनावमा पुग्दा एक सिट पनि जित्न नसक्ने भए । कतै नारायणकाजीको अवस्था त्यस्तै नहोस् ।
महाकाली सन्धिको विरोध गर्ने राष्ट्रवादी र समर्थन गर्ने अराष्ट्रिय भन्ने चर्को स्वर वामदेवले फिँजाएका थिए–त्यतिखेर ओली, माधव, झलनाथ कम्रेडहरू एउटै लाइनमा उभिएका थिए । महाकाली सन्धिले देशको विकास जुरुक्क उचालिन्छ भन्ने गरेका थिए अर्कोतिर वामदेव सन्धि माने देश पाताल पुग्छ भन्नेमा थिए । न त देश भासियो न त उकासियो । पछि हिस्स बुढी हरिया दाँत लिएर वामदेव कम्रेड मालेमा ए थपेर एमालेमै आए । यस्तै हो, सबै कुरा आपूmले सोचेजस्तो मात्र कहाँ हुन्छ र ? अबको पाली नारायणकाजीले माओवादी केन्द्र फुटाए पनि सानो समूह लिएर जालान्–केही समयपछि फर्केर आउलान् । तर फकाउन माहिर, खुराफातीमा जग जाहेर कम्रेड प्रचण्डले ललाई फकाई गरेर माओवादी केन्द्रमा नै किलो ठोकेर बाँधिराख्न बेर लाग्दैन । विस्तारै विस्तारै घर फर्कने रोग नारायणकाजीलाई पनि लाग्ने छ र जसरी वामदेव कम्रेड एमालेमा फर्किए–त्यसैगरी नारायणकाजी माओवादी केन्द्रभित्रै लटपटिने छन् । लौ, कम्युनिष्टको चरित्र घुर्की लगाउने, अरुलाई गलाउने र आफ्नो इच्छा लागेको पद फलाउने ।
अन्त्यमा–
गठबन्धन भत्काउन नसके चुनाव हारिन्छ भनेर एमाले कार्यालयमा नयाँ उपाय सोच्न समय खर्चिने गरिन्छ रे ।