महेश बस्नेतलाई सकस्

समाचार

काठमाडौं । अति गरेपछि खति हुन्छ भनेको यही हो । कुनै समय युथ फोर्सका जन्मदाता महेश बस्नेतले कसैलाई गन्दैनथे । उनका लागि केपी शर्मा ओली भगवान थिए । भगवानको आदेश पाए जसलाई पनि मार्न वा मर्न उनी तम्तयार हुन्थे । उनलाई ओलीले निकै नै स्थान दिए । मन्त्री बनाए । विभिन्न जिम्मेवारी दिए । तर एमालेलाई ट्रयाकभन्दा बाहिर लैजान खोजेपछि उनलाई साइजमा ल्याउने काम पार्टीले गरेको छ । युथ फोर्स अर्थात् नेकपा एमालेको भ्रातृ संगठन युवा संघका इन्चार्ज महेश बस्नेतलाई पार्टीभित्र अंकुश लगाइएको छ । केन्द्रीय संगठन विभागले युवा संघलाई विवादरहित ढंगले अघि बढाउन र पोखरा बैठकका निर्णयहरु संगठनको हीत अनुकुल नभएका कारण त्यसलाई कार्यान्वयन गर्न र सच्याएर अर्को सर्कुलर जारी गर्न निर्दैशन दिएसँगै बस्नेतलाई संघभित्र मनोमानी गर्न अंकुश लागेको छ ।
एमाले महासचिव शंकर पोखरेलले विभागको निर्णय कार्यान्वयन गर्नका लागि जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले युवा फाँटका इन्चार्जसमेत रहेका बस्नेतलाई बोधार्थ गर्दै पत्र काटेका हुन् । पत्रमा २८–२९ पुसमा पोखरामा आयोजित सचिवालय बैठक पूर्वमा ४१९ सदस्यीय सचिवालयलाई महाधिवेशन आयोजक कमिटीका रूपमा कायम गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ । पत्रमा भनिएको छ, ‘केन्द्रीय कमिटीका बाँकी सदस्यहरूलाई केन्द्रीय निकाय र प्रदेशको कमिटीमा समावेश गर्ने, राष्ट्रिय अधिवेशन सम्पन्न नहुञ्जेलसम्म पदाधिकारी र सदस्यको पूर्ववत् जिम्मेवारीलाई यथावत राख्ने ।’ पत्रमा समायोजन र प्रवेश गरेकाहरूको हकमा संघको विधि र
प्रक्रिया अनुरूप गर्न, स्थानीय निर्वाचन सम्पन्न भएपछि मात्र राष्ट्रिय युवा संघलगायतका कतिपय संगठनको अधिवेशन गर्न उपयुक्त हुने पार्टीको निर्णय भएको हुँदा सोही अनुरूप संघको संगठनात्मक गतिविधि अघि बढाउन भनिएको छ । पोखरामा बसेको केन्द्रीय सचिवालय बैठकले संघको फागुन ११ मा महाधिवेशन गर्नका लागि ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको थियो । यो निर्णय बस्नेतले गरेको भन्दै केही नेता कार्यकर्ता असन्तुष्टि जनाएका मात्र थिएनन् उनीहरुले पार्टी अध्यक्ष, महासचिव, संगठन विभाग सबैतिर उजुरीसमेत गरेका थिए ।
असन्तुष्ट समूहको नेतृत्व संघका उपाध्यक्षहरू रोशन बस्नेत, उर्मिला सुनुवार, अमित लामाले गरेका थिएर । सो समूहमा सचिवालयका तीन दर्जनजति नेताको साथ रहेको थियोर । उनीहरूले पुसमा पोखरामा सम्पन्न बैठकका निर्णयमाथि प्रश्न उठाउँदै बैठक नै बहिष्कार गरेर पोखराबाट काठमाडौ आएका थिए । असन्तुष्ट समूहले ओली, महासचिव पोखरेल, भानुभक्त ढकाल, संगठन विभागका प्रमुख खगराज अधिकारी लगायतलाई भेटेर ध्यानाकर्षणपत्र बुझाउदै बस्नेतको मनोमानीविरुद्ध उत्रेका थिए । असन्तुष्ट समूहले नवांै राष्ट्रिय महाधिवेशनको म्याण्डेटअनुसार नै अघि बढ्नु पर्नेमा युवा संघका इन्चार्जले त्यसो नगरेको भन्दै पार्टीभित्र उजुरी गरेका थिए ।
असन्तुष्ट समूहमा उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे (उज्वल), तिरण गौतम, रवीन थापा, कुमार हुमागाईं, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, वेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेता संगठित भएकाले पनि बस्नेतलाई निकै अप्ठेरो परेको थियो । आखिर भगवान सबैका दाहिने हुन्छन् पालो आउनु पर्छ भन्छन् । एमालेभित्र महेश बस्नेत समूहले धेरै नै रसमलाई खाइसकेको छ । अब अरुले पनि स्वाद लिन पाउनु पर्छ भन्दै उनलाई पाखा पार्ने काम भइरहेको छ । उनीहरुले जब बस्नेत समूह हावी हुन्छ तब केही उन्नति प्रगति हुन्न भन्ने बुझेकाहरुले महेशको असंस्काररुपी राजनीतिक यात्रालाई बिस्तारै ब्रेक दिँदै जाने रणनीति बनाएको बुझिन्छ ।