रेणुको राजनीतिक भविष्य विद्रोही कांग्रेसको हातमा

Home Feature

प्रचण्डलाई अर्को छट्पटी


काठमाडौं । बुढेसकालका सहारा छोराछोरी भनिन्छ । तर तिनै छोराछोरीको चिन्ताले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई सताउने गरेको छ । उनी पीडित अभिभावक पनि हुन् । परिवारका अन्यलाई के भयो भन्नेतर्फ नलागी चुनावी प्रसङ्गतिर मोडिने हो भने उनकी छोरी रेणु दाहालले भने पार्नु पीर पारेकी छिन् । सिङ्गो पार्टीको कमाण्डर भए पनि पुत्रीप्रेमले पार्टी नै भड्खालोमा हाल्न तयार प्रचण्डलाई जति पीर भरतपुर महानगरपालिको निर्वाचनमा २०७४ सालमा छोरीलाई जिताउन लागेको थियो त्योभन्दा बढी पीर अहिले फेरि जिताउनका लागि लाग्ने भएको छ ।
२०७४ सालको निर्वाचनमा मतपत्र नै हेरफेर गर्नुपरेको थियो भने यसपालि त्यो भन्दा कडा कदम चालेमात्र रेनुले जित्ने संकेत माओवादीले पाएको छ । लगातार दोस्रो पटक रेनुलाई मेयर बनाउन लागिपरेका प्रचण्डका लागि ठूलो प्रतिष्ठा दाउमा लागेको छ । यसपटक भरतपुर सत्ताधारी र विपक्षी गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ । अन्य ठाउँभन्दा भरतपुरको जित हारले दुवै पक्षलाई विशेष अर्थ राख्छ । अनेक प्रयत्नका बाबजुद नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि चुनावी दौड रोचक मोडमा पुगेको छ । पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले भुइँकटहर चुनाव चिन्ह दिएको छ ।
पार्टीबाट विद्रोह गरेका पौडेललाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले कारबाही गरिसकेको छ । सत्ताको दुरुपयोग गर्दै सरकारका दुई मन्त्री दुई दिन चितवनमा डेरा जमाएर बस्दा पनि पौडेलले आफ्नो अडान छोडेनन् । पौडेलले अडान नछाडेसँगै उनले गठबन्धनका उम्मेदवारको कति मत काट्छन् भन्ने चासो बढेको छ ।
अघिल्लो पटकको निर्वाचनमा मेयरमा रेनु दाहालले झिनो मतान्तरले जितेकी थिइन् । उनले ४३ हजार १ सय २७ मत ल्याउँदा नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । २ सय ३ बढी मतले रेनुले मेयरको ताज पहिरिएकी थिइन् । त्यतिबेला पनि माओवादीले कांग्रेससँग हातेमालो गरेको थियो । अहिले देखिएको जस्तो किचलो त्यतिबेला कांग्रेसमा
नदेखिँदा पनि कांग्रेसबाट अपेक्षाकृत मत रेनुलाई गएको थिएन । यसपालि त चरम असन्तुष्टिसँगै बागी नै उठेपछि रनुको कुर्सी दाउमा छ । एमालेलाई थप फाइदा हुने देखिएको छ । २९ वटा वडा रहेको महानगरमा वडागत रूपमा हेर्दा त्यतिबेला कांग्रेसले ३८ हजार १ सय ३७, एमालेले ३८ हजार ७९ र माओवादीले २० हजार ३ सय ३२ मत ल्याएको देखिन्छ । अहिलेको निर्वाचनमा एमालेले मेयरमा स्थानीयस्तरमा लोकप्रिय नेता विजय सुवेदीलाई अघि सारेको छ । कांग्रेसभित्रको किचलोले सत्ता गठबन्धन चुनावी प्रचारमा आक्रामक ढङ्गले उत्रन सकेको छैन ।
एमाले राप्रपा गठबन्धनबाट मेयर पदमा उम्मेदवार सुवेदीले भने प्रचार तथा घरदैलोलाई तीव्र पारेका छन् । बागी बनेका पौडेललाई चितवन कांग्रेसका ठूलो पंक्तिले साथ दिएको छ । उनलाई जिल्लाका प्रभावशाली नेताहरूले समर्थन गरेका छन् । जसले गर्दा सत्ता गठबन्धनलाई निर्वाचनको परिणाम हातबाट फुत्कने हो कि भन्ने डर छ । उता कांग्रेसभित्र देखिएको कलहले दंग परेको एमाले पनि बागी पौडेलकै कारण ढुक्क हुन सकेको छैन । कांग्रेसका असन्तुष्ट कार्यकर्ताको मत आफूतिर आउने सोचेको एमाले अब पौडेलतर्फ मत जाने भन्दै चिन्तित देखिएको छ । पाँच वर्ष भरतपुर हाँकेकी रेनु व्यक्तिगत रूपले पनि अघिल्लो पटकभन्दा सबल देखिन्छिन् । मतदानको अन्तिम क्षणसम्म आइपुग्दा कांग्रेसका असन्तुष्ट कार्यकर्ताको लहर कता ढल्किन्छ त्यसैले चुनावी परिणामलाई डो¥याउने धेरैको आँकलन छ । तर रेनुको पक्षमा नतिजा नआउन्जेल प्रचण्डको पीर भने कायमै रहने छ ।