न हेप, म पनि टिकट किनेरै उम्मेदवार भएको हुँ…

यताउताका कुरा

कुनै बेला पार्टीले आफ्नो उम्मेदवार भनेर पार्टीले सकेको सहयोग दिन्थ्यो । नेताहरूले हेरीहेरी उम्मेदवारको मुख हेरेर धेरै थोरै रकम दिएर पठाउथे । अनि उम्मेदवारले त्यसमा सक्दो चन्दा उठाएर चुनाव खर्च पु¥याउथे । दिन पर्लक्क पल्टिएछ–अब उम्मेवारी लिने हो भने प्रत्यक्ष रूपमा पार्टीलाई र नदेखिने गरी नेतालाई नजराना बुझाएपछि मात्र टिकट पक्का । अनि नजराजा दिँदैमा पक्का हुँदैन–कसले धेरै दिनसक्छ–उसको भागमा पर्छ । त्यसै भएन पहिले उम्मेदवारी दर्ता गराउनेले भन्दा बढी रकम दोस्रोले दिएपछि एकै पार्टीका दुई जनाले टिकट पाएको चुरो कुरा हो । अब कार्यकर्ता इमानदार त्यागी भएर पुग्दैन । त्यागी त बन्नुपर्छ नै तर काममा होइन दानमा हुनुपर्छ । तपाईले तीन लाख मात्र बुझाउनु भयो होला–अर्कोले पाँच लाख बुझाएको पत्तै पाउनु भएन । पहिले नै थाहा पाएको भए बोलकबोलमा तपाईले नै बाजी मार्नु हुन्थ्यो कि ?। भो चित्त नदुखाउनोस्–अर्को पल्टको लागि राम्रै रकम जम्मा गरेर नेताकोमा पुग्नु होला । खल्ती गह्रौं गर्ने मात्र चलनचल्तीमा माथि पर्दछ । अब थाहा पाउनु भयो अबका दिनमा हुने चुनावी उम्मेवार र नजरानाको तौल ।
त्यसो त पहिले पनि जसको नजराना खिरिलो हुन्थ्यो–उसैको जित हुन्थ्यो । एउटा मुद्दा थियो–मुद्दा जित्न भनेर एउटाले हाकिमलाई राम्रो राडी नजराना पु¥याएछ । अनि यो कुरा थाहा पाएर अर्कोले दुहुनो गाई लगेर हाकिमलाई चढाएछ । मुद्दा बहस हुन थाल्यो–राडी घूस दिनेले भनेछ–हाकिम साहेब राडीमा बसेर निसाफ गर्नुहोस् । अर्कोबाट गाई घूस पाएको हाकिमले भनेछ–राडी त गाईले खाइसक्यो । यस्तै हो हाल चुनावमा टिकट पाउने कुरा पनि । एक त नेता आफ्नो पक्षको हुनुप¥यो, अर्को एकै पक्षको भए पनि बढी रकम बुझाउन सक्ने हुनुप¥यो । यो दिएको रकम दान हो कि भनी ठान्नुहोला–पक्कै होइन । चुनाव जितेर आएपछि अहिले भोट दिएर जिताउने भोटरबाट नै तोरी तेल कि धतुरो पेल–ले मेरो तेल भनेर असुल उपर गर्दछन् । नेता बन्न मात्र कसले गरोस् खर्च–नेता बन्ने कुरा त अभिनय मात्र हो–पैसा कमाउने मुख्य कुरा । परिवर्तनशील समाजमा सब दिन नहीं हो त एक समान । अब कुरा बुझ्नु भो–म पनि टिकट किनेरै उम्मेवार भएको हुँ–मलाई हेप्न पाइँदैन ।


नेताका बोली खरको गोली

नेताहरूको हालको विशेषता भनेको गाली हो । गाली गर्नका पनि भाँती हुन्छन् । मुखमा आयो भनेर जे पनि बोलिदिने । चुनावको मुखमा आएपछि आफ्नो मुख कन्ट्रोल गर्न नसक्दा भोलि अरुले के भन्लान् भन्नेतिर ध्यानै नदिएर आफ्नो हैसियतभन्दा धेरै तल झरेर बोलेको सुनिन्छ । नाङ्गै कोही हिँड्यो भने थपडी मारेर पछिपछि लाग्नेको लामै लर्को हुन्छ, तर त्यो लर्को नाङ्गै हिँडेको ठीक भनेर पछि लागेको होइन । नेताहरूको मुखबाट निस्कने अपशब्द सुन्दा स्रोतालाई आनन्द आउँछ–लामो समय थपडी बजाउँछन् । नेतालाई लाग्छ मेरो भाषण सारपूर्ण भएछ, तब न यत्रोविदी ताली आयो । भ्रममा बाँच्नु पनि एक प्रकारले रमाइलै हुन्छ । ठूला दलका ठूला नेताले प्रत्येक भाषणमा गाली बक्नुहुन्छ भने हामीले किन नहुने भनेर नयाँ पुस्ताले सिक्दछ । यतिखेर नेताहरूले युवापुस्तालाई नैतिकता, सिद्धान्त र आचरणभन्दा अर्कालाई कतिसम्म होच्याएर बोल्न सकिन्छ भन्ने सिकाउँछन् । गाली साहित्यमा कम्रेड ओलीलाई कसैले उछिन्न सक्दैन । पहिले पहिले उखान टुक्काबाट दर्शक हसाउने गर्थे अब गालीमा ओर्लेका छन् । अरुले पनि सिको गर्दै गए । उनकै पार्टीका गोकुल कम्रेडदेखि महेश बस्नेतमा समेत जस्तो उस्तै चेला बन्दै गएका छन् । ओलीभन्दा म के कम ? कम्रेड प्रचण्ड र कम्रेड माधवमा पनि त्यस्तै बानी आउन थालेको छ–गालीको रूपमा रबरको गोली हान्ने । रबरको गोलीले मृग मर्दैन यसमा पनि ध्यान पु¥याउँ ।


एकनाथको नाटक

अरुलाई असुर गराउँदै हिँड्नेले आफ्नो सुरक्षाको नाटक गर्ने रहेछन् । हिन्दुधर्मको उछित्तो काट्दै हिँडेका नेता एकनाथलाई सुरक्षा थ्रेट भयो रे । उहाँको सुरक्षाको लागि सुरक्षाकर्मी सरकारले खटाउनु प¥यो रे । सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जसले अरुलाई धम्क्याउने, हप्काउने गरेको छ । नेपालीमा उखान छ–अँगार खानेले कस्तो हग्छ–तपाई शुद्ध मनको हुनुहुन्छ भन्ने किन कराउनु पर्ने । नेपालमा अनगिन्ती पार्टी छन्, जुन अरु मुलुकको भन्दा फरक हो तर अरु दलका नेतालाई नचाहिएको सुरक्षा उहाँलाई मात्र किन ?। घुमन्ते विद्यालयमा पढ्न जाँदा उपद्रो गर्नमा माहिर थियो, अरुका लुगामा मसी छ्यापिदिने, किताब च्यातिदिने आदि आदि । अनि घर फर्कंदा कतै साथीहरूको जमात बाटामा झम्टन बसेका छन् कि भनेर दुम्कीदुम्की फर्कनु पर्दथ्यो । स्कुलमा विज्याइँ नगरेको भए किन डराउनु पथ्र्यो । सरकारलाई समस्या–यता चुनावमा पर्याप्त सुरक्षा पु¥याउन विमानस्थलको जिम्माबाट प्रहरी झिकेर सेनालाई खटाउनु परेको छ । अब एकनाथको जिम्मा कसरी लिए ।
सुरक्षाको माग आपूm अरुभन्दा फरक छु भन्ने देखाउन हो । कुनै बेला हाम्रा नेताहरूलाई होलीवाइन खुवाएर त कतिपय सांसदलाई क्रिश्चियन समारोहमा विदेश घुमाएर धर्मप्रचार गरेको भनेर कतै अर्को धर्म मान्नेले रिसको झोंकमा बजाइदिन्छन् कि भन्ने डर पनि हुन सक्छ । भन्छन्–वनको बाघले खाओस् न खाओस् मनको बाघले खान्छ भनेझैं परिवार दलको मनमा डर पसेको छ । अर्को कुरा पनि हुन्छन् कम्रेड ओलीसँग गर्धन जोड्न गएको बेलामा एमालेको सहानुभूति लिन सुरक्षाको कुरा उठाएको पनि हुनसक्छ । एकनाथ एक प्रकारका कलाकार नै हुन् नत्र एकसिटे सांसदले मन्त्री पद पाउने कुरा सजिलो होइन–यसपल्ट पनि सुरक्षा थ्रेट भनेर सरकारी पक्षलाई कमजोर देखाउन र एमालेको साखुल्ले बन्न पनि नयाँ नाटक मञ्चन गरेको हुनसक्छ । गृह मन्त्रालय कतै लुगलुग कामेर सुरक्षा टोली खटाइदिने हो कि ? परिवार दलको नाटक कत्तिको सफल हुन्छ–यो त भविष्यले देखाउने कुरा हो ।


देउताको भर

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरकी मेयर उम्मेदवार एकैपल्ट पिँजडाबाट निस्केको चरी जस्तो– न उनले अरुलाई चिनेकी छिन् न उनलाई अरुले नै । अनि घरदैलो कार्यक्रममा कार्यकर्ताले लैजान्छन्, उनको घरको शुलीको चिनेकी छैनन् । हात जोड्ने कला सिकाएको हुनाले दुईहात जोडेर नमस्कारसम्म भन्न जानेकी छन् । उनको एउटै गुण के छ भने मूर्ति र मन्दिर देख्नु हुन्छ ढोग्न र अविर झिकेर शिरमा लगाउन छुटाउदिनन् उनलाई थाहा छ–आफ्नो भाषणले अरुलाई मख्ख पारेर भोट झार्न सक्ने गुण आपूmमा छैन । त्यसैले जिताउने वा हराउने तिमी नै हौ भनेर देउताको शरणमा जाने । धर्म गरे फल पाइन्छ भन्ने सिद्धान्त अनुसार उनी धर्मकर्ममै धेरै ध्यान दिन थालेकी हुन् । यसो विचार गर्दा अरुको भर गरेर हुँदैन–कार्यकर्ताको भर ग¥यो, साँझ नपर्दै ठाडो घाँटी लगाउनु पर्ने त्यसका लागि राम्रै रकमको जोहो गर्नुपर्ने । रकम आफ्नो तजवीजमा खर्च गर्न पाइने होइन–मिस्टर प्रकाशमानको खटन पटन हो । त्यसैले सिर्जना सिंह अलमल्ल परेर बसेकी छन् । यदि कसैगरी चुनाव जितिहाले कसरी महानगर सभाल्ने ठूलो चिन्ता छ । जिते पनि चिन्ता नजिते झन् चिन्ता–उपाय भगवान भरोसा ।
जन्म गोर्खामा बिहे भयो क्षेत्रपाटीमा । सासु मंगलादेवी–जसको बुहार्तन कति सहनु । गोर्खामा छँदा यसो नेविसंघ र महिलासंघको सभासमारोहमा यसो भाग लिने गरेको हो । काठमाडौं आएपछि चारदिवारीमा बन्द । चुलोचौको अनि छोराहरू जन्मेपछि उनीहरूको स्याहार सम्भार । राजनीतिको ‘र’ गर्न नपाउँदा नपाउँदै एकपल्ट आकाशबाट फुरौला बर्सेझैं मेयरको उम्मेदवारी आइलाग्यो । देउवालाई श्रीमानले लगाएको गुनको साटो तिरिँदा उम्मेदवारीको चिट्ठा त प¥यो–कतै यो उम्मेदवारी डोकोमा दूध दोएजस्तो हुने हो कि ?


अन्त्यमा–
भरतपुर नगरपालिकाका मेयर पदका उम्मेदवार रेणु दाहालका बारेमा धेरै टिकाटिप्पणीले मतदातामा अन्यौल थपिएको छ ।