काठमाडौं । स्थानीय तहको निर्वाचनले यतिबेला मुलुकको सरगर्मी उच्चबिन्दूमा छ । विशेषगरी काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको मतपरिणामको व्यग्र प्रतिक्षा भइरहेको छ । भरतपुरमा यसअघिकै मेयर रेणु दाहाल मैदानमा छिन् । उनलाई जिताउन २०७४ सालको निर्वाचनमै विभिन्न बखेडा खडा गरिएको थियो । अहिले पनि उनले जित्नेमा दुईमत छैन । सर्वाधिक प्रतिक्षा भने काठमाडौं महानगरपालिकाको हो । जहाँ नसोचेको परिणाम आइरहेको छ । पहिले राजनीतिको कुनै पनि अग्रणी भूमिकामा नभएका पेशाले इन्जिनियर र संगीतका ¥यापर वालेन्द्र शाह उर्फ बालेन एकाएक चर्चामा आएका छन् । ¥यापमार्फत युवाको मन जितेर मत जति आफ्नो पोल्टामा झ्याप पार्न सफल बालेनले जसरी शीर्ष स्थानमा रहेर मत ल्याइरहेका छन् त्यसले सबै राजनीतिक दलका नेताहरुलाई चक्कर लगाएको छ ।
यतिसम्मकी दिनानुदिन बढ्दो अन्तरले नेताहरुको टाउको फुट्ला झैं भएको छ । धेरैले सोचेजस्तै काठमाडौंका जनतालाई वर्षौंसम्म नेताहरुले भेँडा बनाएर राखे । अझ भेँडासँग मान्छेलाई तुलना गर्ने सोच सर्वोच्च कमाण्डर गणेशमान सिंहको थियो । उनले नेपाली जनतालाई भेँडा भन्थे । अप्रिय लागे पनि मताधिकारको प्रयोग गर्न नजान्ने भनेर उनले दिएको पगरी नै थियो । नभन्दै त्यही भेँडाको चरित्र सोझा मतदाताले देखाइरहेका थिए । अनि नेताहरुले काठमाडौंवासीलाई आश्वासनका पोका बाँडेर भेँडा बनाइरहेका थिए । तर २०७४ को निर्वाचनमा भोट क्रस गरेर ‘ट्रेलर’ देखाएका काठमाडौंवासीले यसपटक पूरै ‘चलचित्र’ नै देखाइदिए । बालेन निकै नै अगाडि छन् । उनका प्रतिद्धन्द्धीहरु निकै
पछि छन् । बालेनले जितुन् वा हारुन् तर राजनीतिको नाममा भ्रष्टाचार बढाएर देश र जनतालाई चुस्ने नेताहरुका लागि भने यो जनताले दिएको झापड हो । विशेष गरी नेपाली कांग्रेस र एमालेले दिएका उम्मेदवारहरूप्रति जनताको तीव्र असन्तोष र रीस पोख्ने राम्रो माध्यम हो । त्यसको फाइदा बालेनले उठाएका मात्र हुन् ।
मतगणनाको क्रम सकिएको छैन । अन्तिमसम्म परिणाम जे पनि आउन सक्छ । तर काठमाडौंका पुराना मुख्य बस्तीहरूभन्दा बाहिरका वडाहरूको मतमामात्र बालेन सीमित हुने अनुमान विपरीत बालेनको अभियान त पुराना बस्तीमा पनि डढेलो लागेसरी फैलिसकेको रहेछ । परम्परागत नेवारबहुल क्षेत्रबाट पनि उनलाई उल्लेख्य मत आएसँगै यहाँका पीडितहरुले एकै पटक भ्रष्ट नेताहरुप्रति धाबा बोलिरहेका रहेछन् ।
हुन पनि हात्तीछाप चप्पल पड्काउँदै ‘भिखारी’ को रुपमा काठमाडौं छिरेका नेताहरुले अहिले भ्रष्टाचारको पैसाले काठमाडौं नै किन्ने हैसियत राख्न थालिसके । बहुदलपछि गणतान्त्रिक लोकतन्त्रले झनै विकास हुन्छ भन्ने ठानेको ७७ वटै जिल्लाका वासिन्दाहरुले भरिएको काठमाडौंलाई नेताहरुले खेलौना बनाए । विकास गरेनन् काठमाडौंको अस्तित्वको विनाश गरिरहे । मौनता साँधेर राखेका जनताले यसपालि ठूलो चिच्याहट निकाले । बुलेट भन्दा ब्यालेटको तागत देखेका जनताले त्यही तागत भ्रष्ट दलहरुलाई देखाइदिएका छन् ।
दलको झण्डामुनि नबसी केही गर्न सकिन्न भनेर जबरजस्ती झण्डामुनि बस्न वाध्य बनाइएकालाई स्वतन्त्र हुन मार्गदर्शन पनि भइरहेको छ यतिबेला । वालेन्द्रमात्र हैन देशभर यसपालि मुख्यमुख्य स्पर्धामा स्वतन्त्र उम्मेदवार धेरै नै उठेका छन् । कतिपय स्थानमा उनीहरु कुनै पार्टीबाट विद्रोह गरेर गएको भए पनि अन्ततः उनीहरु स्वतन्त्र नै हुन् । बालेनको मात्र लौरो छैन धेरैजसो स्वतन्त्र चर्चित अनुहारको चुनाव चिन्ह पनि लौरो छ । यो लौरोले साँच्चिकै दलका नेताहरुलाई निकै मर्माहत पारेको छ । अब यो लौरो रोकिनु हुन्न । राजनीति जनसेवा हो भने त्यो सेवा केबल लौरोको माध्यमबाट छिटो सम्भव हुन सक्छ । र यतिबेला स्वर्गमा रहेका गणेशमान सिंह पनि मुसुमुसी हाँसेर भनिरहेका होलान्– मैले भेँडा भनेर तिमीहरुलाई नभनेको भए अझै कयौं दशक तिमीहरु भेँडाकै जुनि काटिरहेका हुने थियौ ।’ तर चोट पनि गणेशमानलाई परेकै होला । आफ्नै बुहारी चुनावमा उठेको बेलामा जब जनताले आफ्नो रुप चिने । जेहोस् लौरोको आवाज र चुनावी सन्देशले धेरैको होसहवास उडेको छ । लौरोले धेरैलाई डन्डा लगाउने अपेक्षासमेत भएको छ ।