प्रकाशमानको सजायँ सिर्जनालाई

Home Feature

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीका लागि खासै योगदान दिन सकेनन् । उनी गणेशमान सिंहको छोरा भएकै कारण थुप्रै अवसर पाए । आफूसँग नेताहरुको साथ नहुँदा पनि पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा लडे । तर उनले निकै कम मत ल्याए । यद्यपि उनको मत निर्णायक थियो । उनले सधैभर विरोध गरिरहेका तिनै शेरबहादुर देउवालाई साथ दिएर देउवालाई सभापति बनाए ।
उनले अन्य के फाइदा लिए त्यो पछिको कुरा । स्थानीय तहको निर्वाचनबाट उनले आफ्नी पत्नीलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउन चाहे । महानगरको उम्मेदवारमा विभिन्न नेताहरुको नाम रहेको थियो । तर चिठ्ठा त उनकै पत्नी सिर्जना सिंह श्रेष्ठलाई नै प¥यो । एकातिर दिग्गज नेताहरु थिए भने अर्कोतिर थिइन् सिर्जना ।
सिर्जनाले कांग्रेसकोमात्र हैन पाँच दलीय गठबन्धनकै साथ पाएकी थिइन् । तर पनि उनले हारिन् । प्रकाशमान थुप्रैपटक सांसद बने । मन्त्री बने । काठमाडौंलाई कुनै सहयोग गरेनन् । उनका बाबु सर्वमान्य नेता गणेशमानले जनतालाई भेँडा भन्थे । उनले जनतालाई बाबुको भनाइलाई चरितार्थ गर्दै भेँडा बनाइरहे । अहिले उनको रीस सोझी सिर्जनामाथि पोखे । आखिर सिर्जनाले जितेको भए पनि महानगर चलाउने तिनै प्रकाशमान नै हुने थिए । त्यसैले पनि मतदाताले सिर्जनालाई प्रकाशमानको रीस पोखे । तर सिर्जनाको हारले सबैभन्दा बढी असर प्रकाशमानको राजनीतिक जीवनमा पर्ने भएको छ ।
काठमाडौंको राजनीतिमा उनको बलियो पकड छ । करिब दुई दशकयता पार्टीका आन्तरिक निर्वाचन होस् वा आमनिर्वाचन उनको रुचीभन्दा बाहिर गएको छैन । त्यसैले यस पटक स्थानीय तह निर्वाचनमा सिंह–पत्नी सिर्जनाले टिकट पाउँदा विरोधको स्वर बाहिर कतै सुनिएन तर नेता–कार्यकर्ताको मनभित्र गुम्सिएको असन्तुष्टिले चुनाव हराउन भने भूमिका खेल्यो । खासमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहप्रतिको माहोल सिर्जनाको हारको कारण हुँदै होइन । कांग्रेसीहरुको गद्दारी नै सिर्जनाको हारको कारण हो । आफू सांसद अनि श्रीमतीलाई मेयर बनाउन खोज्ने अनि अरुलाई मतलब नै नगर्ने प्रकाशमानको रबैयाप्रतिको विद्रोह हो यो । उम्मेदवारी तय गर्दा जनता र कार्यकर्ताको रुची ख्याल गर्न नसक्नु सिंगो कांग्रेस पार्टीको सबैभन्दा ठूलो हार हो ।
कांग्रेसका नगर प्रमुख र वडाध्यक्षहरूले पाएको मतको विश्लेषण गर्दासमेत अधिकांश कांग्रेसी मतदाताले प्रमुखमा आफ्नै दललाई मत नदिएको देखिन्छ । ३२ वडा रहेको महानगरमा कांग्रेसले १९ वडाध्यक्ष जितेको छरु। सबै वडाका वडाध्यक्ष (वडा नं. ३२ मा वडाध्यक्ष नहुँदा खुला सदस्य) उम्मेदवारले ६७ हजार ९ सय ९१ मत पाएका छन् । जबकि नगर प्रमुखमा सिर्जनाले ३८ हजार ३ सय ४१ मत मात्रै पाएकी छिन् । यति ठूलो मतान्तर हुनुले कांग्रेसभित्रै गद्दारी भएको स्पष्ट हुन्छ । यसले प्रकाशमानलाई उठ्नै नसक्ने गरी धक्का दिएको स्पष्ट हुन्छ । अन्ततः पदलोलुपले सिर्जनालाई पनि उठ्नै नसक्ने गरी रोकियो । र आयो वालेन्द्र युग । कसैको असन्तुष्टिले नै विद्रोह हुने हो । यो विद्रोह काठमाडौंका जनताले देखाएका छन् । र स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको युग आएको छ । पाँच वर्षका लागि एक इन्जिनियरले उपत्यकालाई आफूले चाहेजसरी चलाउने छ । यदि कांग्रेसकै वडाध्यक्षहरुले असहयोग गरे भने उनीहरु पनि सिद्धिदै जानेछन् । किनकि वालेन्द्र युग आइसक्यो अब फर्केर जाने छैन ।
एकपटक काठमाडौंले विद्रोह गरेपछि पछाडि फर्किन्न । अब त आगामी प्रदेश र संघको निर्वाचनमा पनि लौरो चल्ने विश्वास गरिएको छ । यसमा विद्रोही कांग्रेसीमात्र छैनन् । सबै दलका विद्रोही सामेल हुनेछन् । वालेन्द्र एक्लै छैनन् उनी त प्रतिनिधिमात्र हुन् । यत्ति हो कि प्रकाशमानको राजनीति अब सकियो भन्ने अनुमान कांग्रेसभित्रै छ ।