बालेनको बल र आँटमाथिको विश्वास

Home Feature

काठमाण्डौ । बीचको केही समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि यिनी पनि उही ड्याङका मुला भएको संकेत देखिने गरी काम नगरेको वा गर्न नसकेको चर्चा चल्यो । केही फरक काम गर्न खोज्ने यस्ता मानिसका विषयमा चर्चा चल्नु अस्वाभाविक होइन । तिनका विरोधी कति होलान् कति । गनेर सकिन्न । बालेनलाई अक्षम देखाउन खोज्नेहरुको जमात नै सक्रिय होला । तर गर्ने आँट भएको मानिसले त्यस्ता घोचपेचबीचबाट पनि काम गरेर देखाउँछ । आरोप प्रत्यारोपलाई पनि चिरेर देखाउँछ । पछिल्लो समयमा बालेनले गरेका कामहरुबाट त्यही नै देखिएको छ ।
महानगरको काम सजिलो छैन । हरेक कुराको व्यवस्थापन गर्नुपर्छ महानगरले । गाडी पार्किङदेखि फोहोर व्यवस्थापन, सडक व्यवस्थापनदेखि निर्माणसम्म । खानेपानीदेखि पैदल हिँडने पेटीसम्ममा तिनको ध्यान पुग्नुपर्छ । यी त देखिने काम भए । नदेखिने कामहरु कति होलान्, अनुमान गर्न सकिन्न ।
हालैका दिनमा बालेनले फोहोरको व्यवस्थापन गर्दै पार्किङ व्यवस्थापनलाई मिलाउँदै आएका छन् । पार्किङ भनेर बनाइएको ठाउँमा मान्छे कुर्ने ठाउँ वा पसलहरुलाई भाडामा दिइँदै आइएको थियो गएका दिनमा । यता बालेनले दुईचार ठाउँमा दिएको धक्काले सबैको चुरीफुरी स्वाहा भएको देखिएको छ । जे कामका लागि भौतिक संरचनाको निर्माण गरिएको थियो त्यसको प्रयोग सोही काममा हुनुपर्ने उनको तर्कका अगाडि कोही उभिन सकेनन् । र सक्ने कुरो पनि भएन ।
हरेकले सोच्नु पर्छ हरेक मानिस बिकाउ हुँदैन । कोही आफ्नो स्वार्थभन्दा माथि रहेर काम गर्छन् । र त्यस्तैमा पर्दछन् बालेन शाह । उनको हालैका दिनका कामहरुले त्यही देखाएको छ । तर बालेनले पनि मैले त गरेँ भनेर दुईचार ठाउँमा मात्रै धक्का मारेर हुँदैन । तिनले हरेक ठाउँ पुग्न सक्नुपर्छ । यस हिसाबले अब बालेनले हरेक ठाउँको गोडमेल गर्नुपर्छ । खेतमा रोपेको धान गहुँका बीचमा रहेको घाँसपात हटाउन किसान खटिएजस्तै बालेनले पनि गर्नुपर्छ । नेपालीको प्रवृत्ति नै अचम्मको छ ।
भरसक दुई चार पैसा दिएर नियमभन्दा फरक किसिमबाट हुने काम गराई हालौँ । बिक्ने मानिस त पाइला पाइलामा भेटिन्छन् । तर बालेनले महानगरका कर्मचारीहरुको त्यो सोचमा पनि डोजर लगाउने समय आएको छ । पैसाको लोभमा पर्नेले जे पनि गरेर हिँड्न सक्छ । त्यसैले माकुराको जालो जसरी फैलिएको नगरपालिका भित्रको त्यो जालो पनि सफा गर्नसक्नु पर्छ बालेनले । यो उनको लागि ठूलो चुनौती हो । सडक, फोहोर, पार्किङमा मात्रै होइन बालेनले अब आफ्नो बल सबैतिर देखाउनु पर्छ । महानगर–पालिकाको भित्रभित्र कुनाकुनासम्म पुगेर सबै सफा गर्नुपर्छ । बालेनले यो काम गर्छन् भन्नेमा महानगरका बासिन्दा विश्वस्त छन् । काठमाडौं महानगर मात्रै होइन, काठमाडौं उपत्यकाका मेयरहरुले हातमा हात मिलाएर काम गरे सबैको बलले उपत्यकालाई सुन्दर बनाउने छ ।