सिट बाँडफाँडमा अझै लफडा

Home Feature

काठमाडौं । बहुदलीय प्रणालीमा दलीय गठबन्धन अपवित्र हुन्छ । वाध्यताले गर्नुपर्ने गठबन्धनलाई छाडेर बाँकी गठबन्धन स्वार्थी हुन्छ । अहिलेको पाँच दलीय गठबन्धन स्वार्थी हो । केपी शर्मा ओली नेतृत्वको सरकारलाई फाल्नुपर्ने थियो । त्यतिबेलाको गठबन्धन पवित्र हो । तर स्थानीय तहको निर्वाचन र आगामी निर्वाचनको गठबन्धन अपवित्र हो ।
त्यसो त अस्थिर राजनीतिको बलमा अपवित्र गठबन्धन गरेकै कारण कतिबेला के हुन्छ पत्तो छैन । त्यसैले पनि आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिट बाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरु सकसमा परेका छन् । गठबन्धन सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेलगत्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका उनीहरुले तालमेलको मोडालिटी बनाउनका लागि कार्यदल नै बनाएका छन् । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले विभिन्न चरणमा छलफल गरेको भए पनि सिट बाँडफाँटलाई टुंगोमा पु¥याउन सकेको छैन । सिटका लागि विभिन्न मोडालिटी तयार गरेको भए पनि त्यसलाई टुंगोमा पु¥याउन नसकेका हुन् ।
चाँडै सिट बाँडफाँट टुंगोमा पु¥याएर चुनावमा होमिनु पर्ने भए पनि कुरा मिल्न नसक्दा सत्ता गठबन्धन सकसमा परेको छ । एक दुई दिन भन्दा भन्दै अहिले आफूले कति सिटमा कब्जा जमाउन सकिन्छ भनेर दलहरुबीच रस्साकस्सी चलिरहेको छ । र पनि त्यो अल्झनको गाँठो फुृक्न सकेको छैन । नेपाली कांग्रेसले १०० सिटलाई बटमलाइन बनाएको छ भने माओवादी केन्द्र ६०, एकीकृत समाजवादी ४०, जनता समाजवादी २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सिट १६५ तर दावेदारी २२७ । कसले कति छाड्ने भन्नेमा बार्गेनिङ चलिरहेको छ । यसमा सबैका आ(आफ्ना तर्क छन् । बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा प्राप्त मत र क्षेत्रगत रुपमा दलको प्रभाव हेरेर सिट बाँडफाँट गर्नुपर्ने र कांग्रेसले धेरै छाड्दा गठबन्धनलाई घाटा हुने तर्क कांग्रेसको रहेको छ । तर माओवादी २०७४ को जस लिन खोजिरहेको छ । त्यस्तै नेकपा एस त एमालेका सिट जति आफ्ना भएको दाबी गर्छ । यसैले पनि कुरो अन्तिम क्षणमा मात्र मिल्ने सम्भावना देखिन्छ ।
सबै न्यायोचित सिट बाँडफाँट भनिरहेका छन् । माओवादीले बार्गेनिङ गरिरहेको छ । कहिले एमालेसँग मिल्छौं भन्छ त कहिले वामगठबन्धन हुने भनिरहेको छ । तर समस्या बल्झदो छ । चिनियाँ प्रभावमा कम्युनिष्ट पार्टीहरु रहँदा कतिबेला कसको आदेश र निर्देशनको पालना गर्नुपर्ने हो भन्दै प्रचण्ड र माधव नेपाल सजक छन् । यसै त अपवित्र गठबन्धन त्यसमाथि पनि उनीहरुले पवित्रता खोजिरहेका छन् आफूले चाहेको भागबण्डाको माग पूरा गरेर ।