गठबन्धनमा चर्को बार्गेनिङ
काठमाडौं । भनिन्छ नि वनको बाघले खाओस् नखाओस् मनको बाघको बाघले खायो भने पुग्छ । त्यो यतिठूलो त्रास हो कि यसले मानसिक रोग नै निम्त्याउँछ कहिल्यै निको नहुने । ठ्याक्कै त्यस्तै भएको छ अहिले सत्ताधारी गठबन्धनलाई । विशेषगरी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव यही ‘एन्जाइटी’ को शिकार भइरहेका छन् । त्यसैकारण उनीहरु गठबन्धनमा बार्गेनिङको नीति लिइरहेका छन् ।
यो गठबन्धन भएन भने सबै दलको अस्तित्व सकिन्छ भन्ने भय यिनीहरुलाई रहेकै छ । अर्कातिर अर्को गठबन्धनको आस र त्रासले पनि छोएकै छ । फेरि हैसियत बिना जसले सत्तामा बस्न पाउँछ उसलाई त्यो आलिशान सत्तालिप्साले झनै बढी टाँसेको हुन्छ । ऊ अजम्बरी हुन खोज्छ, तानाशाह जस्तै । हो, अहिलेका सबै दलका प्रमुखहरु तानाशाह हुन् भन्ने कतिपयको टिप्पणी छ । जतिबेला पनि अध्यक्ष नै हुनुपर्ने र सत्तामा पुग्नुपर्ने ‘रोग’ यिनीहरुले पालेर राखेका छन् । यही रोगका कारण एकले अर्कोलाई सिध्याउने रणनीति चलिरहेको छ । एकातिर एमालेले गठबन्धन टुक्रयाएर फेरि सत्तामा पुग्ने दाउ खोजिरहेको छ भने गठबन्धनभित्रै अबको प्रधानमन्त्री को हुने भन्नेमा रस्साकस्सी छ । जसका कारण जसले प्रधानमन्त्रीको इच्छा राखिरहेका छन् तिनीहरुले नै चुनाव जित्नेमा शंका छ । सत्ताको चास्नीमा सबैभन्दा बढी पटक बसिसकेका वरिष्ठ खेलाडी देउवाले त गठबन्धनलाई फुटाउन षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेपाली कांग्रेस चितवनले शुक्रबार त्यहाँ आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
देउवाले भने, ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।’ गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै देउवाले भने, ‘बल्ल–बल्ल पार्टी बलियो हुँदैछ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’ गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा उनको जोड छ । ‘गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।’
गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए । अर्थात् जनतालाई पनि घुमाइफिराइ पार्टीले सरकार बनाउने कुरा नै गरे । तर जनताका आवश्यकता पूरा गर्नेतर्फ कुनै सोच नै बनाएनन् । यहाँ देउवामात्र हैन प्रचण्ड पनि दोषी छन् । कहिले कांग्रेसतिर, कहिले एमालेतिर र पछि फेरि कांग्रेसतिर ।
शक्तिबिना आकाशै खस्छ भन्ने भ्रम पालेका प्रचण्डलाई पनि फेरि प्रधानमन्त्री बन्ने भूत सवार छ । त्यसैले देउवासँग बार्गेनिङ गरिरहेका छन् । उनलाई थाहा छ कि एक्लै चुनाव लडे माओवादीले जित्ने ५÷७ सिट मात्रै हो । त्यस्तै भूत सवार नेता नेपालमा पनि छ । उनको पार्टीले पनि यदि गठबन्धन भएन वा कुनै पनि दलले सघाएन भने मुस्किलले १÷२ सिट जित्लान् । उनी आफैले जितेको क्षेत्र फेर्दैछन् भरोसा हुन नसकेकै कारणले । त्यही बेथा पालेर हिँडेका छन् उपेन्द्र यादवले । चुनावसमेत कहाँबाट उठ्ने भन्ने टुङ्गो छैन । निष्फिक्री छन् त चित्रबहादुर केसी । राष्ट्रिय जनमोर्चाको धेरै जनमत पनि छैन र महत्वाकांक्षा पनि छैन । उनले मागेकै प्रत्यक्षमा १६५ मध्ये दुई सिट हो । तर कांग्रेस, माओवादी, नेकपा एस र जसपाले हैसियतभन्दा बढी सिट मागेका छन् । अहिले नै कुरा नमिलेपछि चुनावका बेलामा सही भोट पुगेर जितिन्छ भन्ने ग्यारेन्टी कतै छैन । तर रोइलो अहिलेदेखि छ कि सिट बाँडफाँटमा अवमूल्यन भयो । अब नेपालको स्थायित्वको सबैभन्दा पुरानो दल कांग्रेस त पीडामा छ भने अरुको के कुरा । त्यसैले त यो गठबन्धनको गाँठो तत्काल फुक्ने अवस्था छैन । पीडाको डढेलोले निकै नै सताएको छ ।