काठमाडौं । आफ्नो कार्यकालमा बदनाम भएका सरकारी जागिरेलाई पापमोचन गराउने जिम्मा नेकपा एमालेले लिएजस्तो देखिएको छ । सोही कारण पनि विवादास्पद छवि बनाएका पूर्वप्रशासकहरु एमालेमा छिर्ने प्रवृत्ति बढेको छ । बदनामी कमाएर नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल एमालेमा छिरेका थिए भने अहिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नै एमालेमा छिरे । तर यिनीहरुको टाउकोमा थुप्रै आरोप छन् । पाँचवर्षको अवधिमा धेरैले सिलवालका पाप भुले । उनी ललितपुरबाट सांसद भए ।
अहिले पाप पखाल्ने पालो सर्वेन्द्र खनालको पदमा हुँदा होस् वा अवकाश पाइसकेपछि होस् सधै विवादमा आइरहने खनाल एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला आईजीपी भएका थिए । आईजीपी हुँदा सधै विवादमा आइरहने खनाल आफ्नो कार्यकालभर विवादमा रहे । त्यतिमात्र होइन सांसद अपहरणजस्तो गम्भीर आरोप उनीमाथि लागेको थियो । साथै आईजीपी हुँदा प्रहरी प्रधान कार्यालयले गरेका खरिद प्रकरणमा उनको संलग्नताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौं उजुरी परेका छन् । दुई आर्थिक वर्षमा प्रहरीले गरेका छानबिनमा अनियमितता भएको भन्दै उजुरी परेको थियो । खरिदसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर आयोगले छानबिन गरिरहेको थियो । दुई अर्बभन्दा धेरैका खरिदमा प्रशस्तै कैफियत भेटिएको छ । दबाबकै भरमा छानबिन अघि बढाइएको छैन । प्रहरीका लागि कमसल कपडालगायत बन्दोबस्तीका सामान खरिद गरिएको थियो । त्यही विषयबाट जोगिन
ओलीको सरकार जोगाउन सांसद अपहरण गरी काठमाडौं ल्याउन उनको सहयोग र भूमिका देखिएको थियो । जागिरको कार्यकालमा लामो समय मधेसकेन्द्रीत भएका खनालसहितको टोलीले ०७७ बैशाखमा अपहरण शैलीमा सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याइएको थियो । उनलाई जनकपुरबाट काठमाडौं ल्याइपुर्याउने पात्र महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल हुन् । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनका बेला कोही घरबाहिर निस्कन सक्ने अवस्था थिएन ।
काठमाडौंको एक होटलबाट बाहिरिएपछि सासंद यादवले आफू अपहरणमा परेको बताएका थिए । खनालले भने अपरहण नभइ यादव राजीखुशीले आएको दाबी गर्दै आएका छन् । सो काण्डमा डा. बाबुराम भट्टराई सहितको टोलीले बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अदालतमा मुद्धा दायर गर्न खोजेको थियो । तर सरकारले त्यो मुद्धाको प्रकृया अघि बढाएन । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग लगायतका स्थानमा पनि उनीविरुद्ध अपहरणविरुद्धको उजुरी कायमै छ । खनालमाथि निर्मला पन्तको हत्याराको अनुसन्धान गिजोलेको आरोप पनि लागेको छ । ०७५ साउन १० गते बेपत्ता भएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त ११ गते उखुबारीमा मृत अवस्थामा फेला परिन् । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुल्यो । तत्कालीन समयमा प्रहरी आईजीपी सर्वेन्द्र खनाल नै थिए । खनालकै कारण निर्मला घटनामा प्रहरी अधिकारीहरु नै दुई खेमामा विभाजित भएका थिए । केही प्रहरी अधिकारीहरु बर्खास्तीसम्म भए । कञ्चनपुरमा स्थानीयको आन्दोलन माथि प्रहरीले गोली चलाउँदा एक निर्दोष १७ वर्षीय स्थानीय शनि खुनाले ज्यान गुमाए । सो घटनामा निर्दोषहरु पक्राउ पर्दा दोषी अझै पक्राउ पर्न सकेका छैनन् ।
त्यसैगरी ०७६ असार ५ गते प्रहरीले नियन्त्रणमा लिएर नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या गरेको थियो । हत्या गर्ने टोली प्रहरी प्रधान कार्यालयबाटै परिचालित भएको थियो । तत्कालीन समयमा प्रहरी प्रमुख खनाल नै थिए । कुमार पौडेलको हत्या आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र सर्वेन्द्र खनालसहितलाई जोडेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको थियो । तर पछि उनीहरुको नाम हटाउन लगाइएको थियो । अहिले पनि पौडेल परिवारले सो विषयमा बादलसहित खनालले हत्या गरेको आरोप लगाउँदै आएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले पौडेललाई प्रहरीले नौ राउन्ड गोली हानी हत्या गरेको निष्कर्ष निकालेको थियो । ०६५ सालमा खनाल काठमाडौं प्रहरी प्रमुख थिए । तत्कालीन समयमा बागबजार क्षेत्रका गुन्डा नाइके कुमार घैँटे भनिने कुमार श्रेष्ठ डान्सबार सञ्चालन गर्दै आएका थिए । तत्कालीन समयमा सर्वेन्द्र खनालसँगै काम गरेका प्रहरी अधिकारीहरुका अनुसार एक दिन खनाल घैंटेलाई पक्राउ गर्न त्यहाँ पुगेका थिए । सो सूचना उनले पाएपछि बियरको बोतलले खनालको गाडीमा हानेर उनी भाग्न सफल भएका थिए । उनै घैंटे ०७३ भदौ २ मा खनालकै निर्देशनमा मारिए ।