‘नयाँ बोतलमा पुरानै रक्सी !’

Home Feature

काठमाडौं । नेकपा एमालेले जारी गरेको घोषणापत्रलाई नयाँ बोतलमा पुरानो रक्सीको संज्ञा दिइएको छ । अर्थात् धेरैजसो पुरानो घोषणापत्रलाई नै नयाँ घोषणापत्रको रुपमा एमालेले अघि सारेको हो । करिब ३ वर्ष शासन सत्तामा रहँदा पनि पूरा गर्न नसकेका विषयलाई पुनः घोषणापत्रको रुपमा एमालेले अघि सारेको हो । आगामी पाँच वर्षमा २० योजना ग्यारेन्टीसहित पूरा गर्ने प्रतिबद्धता जारी गरेका धेरै विषयहरु २०७४ सालको निर्वाचनमै उल्लेख गरिएका थिए । त्यतिबेला एमालेले माओवादी केन्द्रसँग मिलेर साझा घोषणापत्र ल्याएको थियो । २०७४ सालमा ३९ प्रतिशत स्थानीय तह जितेर नेतृत्व गरेको एमालेले झण्डै ४१ महिना संघीय र अधिकांश प्रदेश सरकारको नेतृत्वसमेत गरेको अवस्थामा गरिएका केही कामलाई पनि घोषणापत्रमा उल्लेख गरेर जश लिन खोजेको छ ।
पुराना घोषणा अर्थात् बासी घोषणालाई एमालेले अहिले पोलिस गरेर ल्याएको छ । एमालेले नयाँ घोषणापत्रमा प्रमुख खाद्य बालीहरू धान, मकै, गहुँ, फापर, तरकारी र फलफूल तथा दूध, अण्डा, माछामासु र पशुपन्छीका उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उल्लेख छ । पाँच वर्षअघि पनि एमालेको यस्तै घोषणा थियो । २०७४ को निर्वाचनको घोषणापत्रमा दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाइने उल्लेख थियो । दुर्भाग्य ४१ महिनामा कम्युनिष्ट सरकारको नेतृत्व गरेका बेला यी वस्तुको आयात झन् बढेर परनिर्भरता चुलिएको थियो । घोषणापत्रमा पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने उल्लेख छ । अघिल्लो घोषणापत्रमा पनि कृषि उत्पादनमा आवश्यक रासायनिक र प्रांगारिक मल देशभित्रै उत्पादन गरिने उल्लेख थियो । एमालेले सत्ताको नेतृत्व गरेको अवधिमा मल कारखाना स्थापनाका लागि उल्लेख्य पहल हुन सकेको थिएन ।
किसानले बाली लगाउने बेला रासायनिक मल नपाएपछि सरकारको आलोचना भएको थियो । एमालेले नयाँ घोषणापत्रमा पाँच वर्षमा पर्यटकको संख्या बर्सेनि २५ लाख पु¥याइने बाचा गरेको छ । पाँच वर्ष पहिलेको घोषणापत्रमा दश वर्षभित्र वार्षिक ५० लाख पर्यटक पुर्याउने लक्ष्य राखिएको थियो । एमालेले पाँच वर्ष पहिले नै विद्युतबाट वञ्चित घरपरिवारलाई दुई वर्षभित्र विद्युत उपलब्ध गराउने घोषणा गरेको थियो । नयाँ घोषणापत्रमा पनि दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् पहुँच पु¥याउने उल्लेख गरेको छ । यसअघि १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरिने घोषणा गरेको एमालेले यो पटक पनि १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादने गर्ने घोषणा दोहो¥याएको छ । यसको मतलब उसले पाँच वर्ष पहिले गरेको प्रतिबद्धतापछि के काम गरेछ त ? भन्ने प्रश्न पनि उठेको छ । पाँच वर्ष पहिले नै सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिने घोषणा गरेको एमालेले यो पटक पनि पाँच वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमाको सुविधा दिने घोषणा गरेको छ । एमालेले २०७४ मै पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने घोषणा गरेको थियो । यो रेलमार्गको काममा उल्लेख्य प्रगति भएको छैन । नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने पाँच वर्ष पहिलेको घोषणा यस पटक पनि दोहोरिएको छ । नेपालीको औसत प्रतिव्यक्ति आयलाई १० वर्षभित्र ५ हजार अमेरिकी डलर पु¥याउने दाबी गरेको थियो । २०७४ असारमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ३२ अमेरिकी डलर थियो । गत असारसम्म आइपुग्दा यो बढेर एक हजार ३७२ डलर (अनुमानित) पुगेको छ । एमालेले सत्ता हाँकेको पहिलो तीन वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आय १२४ डलरले मात्रै (वार्षिक ४१ डलर) बढ्यो ।
एमालेले संविधानविपरीत गरेको संसद् विघटन, विभिन्न भ्रष्टाचारका काण्ड, पार्टी विभाजनजस्ता विषयमा घोषणापत्रमै तत्कालीन नेकपाका नेताहरूलाई दोषी देखाएर आफू चोखिने प्रयास गरेको छ । एमालेले घोषणापत्रमा नेपालको अग्रगतिका लागि अस्थिरता, अव्यवस्था र शक्ति केन्द्रहरूको चलखेल सधैँभरि मुख्य बाधकका रूपमा रहँदै आए पनि ४१ महिने सरकारको नेतृत्वकालमा नेकपा कालका नेताहरुलाई दोष दिएर पन्छिने काम गरेको छ । तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू सरकार असफल बनाउन प्रयोग भएको र उनीहरूका लागि आन्दोलन र देशको भविष्यभन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो ठानेर राष्ट्रको स्वाभिमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बनेको भन्दै एमालेका तत्कालीन नेताहरु माधवकुमार नेपाल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोष दिएर उम्किएको छ ।