गठबन्धनमा प्रधानमन्त्रीको विवाद
काठमाडौं । सत्ताधारी गठबन्धनबाट अबको प्रधानमन्त्री को बन्ने भन्नेमा तीव्र विवाद भइरहेको छ । चुनावी नतिजा आउन त समय लाग्ने नै छ । तर अहिलेसम्म गठबन्धनले बहुमत ल्याउँदाको प्रधानमन्त्री बन्ने भन्ने बारेमा विवाद छ । विपक्षी दल नेकपा एमालेले ढुक्कसँग फेरि पनि केपी ओली नै प्रधानमन्त्री भनिरहेको छ । एमालेले बहुमत ल्याउने त सपना नै भयो । किनकि एमालेभित्र ओली बाहेक दाबेदार कोही पनि छैनन् । सत्ताधारी गठबन्धनबाट प्रधानमन्त्रीका लागि आधादर्जन आकांक्षी रहेका छन् । सत्ताधारी गठबन्धनबाट प्रधानमन्त्रीका लागि आधादर्जन आकांक्षी रहेका छन् । सबैभन्दा बढी नेपाली कांग्रेसका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा छैटौं पटक आफू नै प्रधानमन्त्री हुने भनेर रणनीति बनाइरहेका छन् । त्यसबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला लगायतका नेताहरु आफू नै प्रधानमन्त्री बन्ने भनेर लबिङ गरिरहेका छन् । लबिङ गर्ने यिनीहरु सबैको चुनावमा जित्ने अझै निश्चित छैन । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मौका पाए आफू प्रधानमन्त्री हुने इच्छा राखेका छन् । मिलेर चुनावमा गएपछि मिलेरै सत्ता चलाउने भन्दै उनले विस्तारै विस्तारै आफ्नो बोलीलाई सबैले सुन्ने गरी भन्न थालेका छन् । उनको भनाइलाई भने धेरैले चासो दिएका छैनन् ।
तर माओवादी केन्द्रले भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको छ । उसले सार्वजनिक गरेको घोषणापत्रमा प्रचण्ड प्रधानमन्त्री बन्ने संकेत गरिएको हो । चितवनको क्षेत्र नम्बर ३ छोडेर गोरखा(२ मा पुगेका प्रचण्ड निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने विषयले चर्चा पाउन थालेको हो ।
गोरखामा चुनावी अभियानमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डका लागि मत माग्ने क्रममा उनलाई आगामी प्रधानमन्त्रीका रुपमा देख्न सकिने बताएका थिए । डा. भट्टराईले मात्र होइन स्वयं प्रचण्डले पनि गोरखाबाट चुनाव जितेर गएपछि तालमेल मिलेको खण्डमा देशको नेतृत्व आफूले गर्न पाउने अवस्था रहेको बताउँदै आएका छन् ।
सात बुँदामा सरकारको नेतृत्व गर्नुेपर्नाको कारण खुलाइएको छ । ‘सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति नेकपा माओवादी केन्द्र मात्र हो,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ ।’ प्रचण्डले गोरखाको कार्यक्रममा आफूले देशको नेतृत्व लिने भन्नु र प्रतिबद्धता पत्रमा पनि सोही कुरा उल्लेख गर्नुले प्रचण्डको सत्तामोह देखिएको छ । १६५ सिट मध्ये प्रत्यक्षमा करिब ५० सिटको हाराहारीमा उम्मेदवारी दिएको माओवादीको परिणाम कति आउँछ भन्ने यकिन नहुँदै प्रचण्डले प्रधानमन्त्रीको सपना देख्न थालेका छन् । ‘त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्ने अवसर पाउने सम्भावना छ, त्यसो भयो भने गोरखा क्षेत्र नम्बर २ बडो भाग्यमानी क्षेत्र हुने भयो’, प्रचण्डले गोरखामा सम्बोधनको क्रममा भनेका थिए । गोरखामा नै त्यही कार्यक्रममा प्रचण्डका लागि मत माग्दै डा. बाबुराम भट्टराईले पनि प्रचण्डलाई प्रधानमन्त्रीको सपना बुन्ने आधार तय गरेका थिए ।
‘कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री हो । यही क्षेत्रले प्रधानमन्त्री पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् र ?’ डा. भट्टराईले यही क्षेत्रले मुख्यमन्त्री समेत पाउने भन्दै नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेको नाम अगाडि सारेका थिए । उनको यो कुरामा प्रचण्ड स्वयंले पनि समर्थन गरेका थिए । नेपाली कांग्रेससँग गठबन्धन भएकाले गोरखामा अब प्रचण्डका लागि सहज हुने अनुमान धेरैले गरेका छन् । पाँच दलीय गठबन्धनले पछिल्लो समय दलहरुबीच सिट बाँडफाँट गर्दै निर्वाचनमा होमिएको बेला प्रधानमन्त्री को बन्ने भन्ने कुनै निक्र्योल छैन । कांग्रेसले ९१ सिटमा आफ्नो उम्मेदवारी दिएको छ भने अन्य स्थानमा माओवादी, नेकपा एस र लोसपासँग बाँडफाँड गरेको छ । निर्वाचनपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको खण्डमा नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्ने गर्ने धेरैको बुझाई भएपनि कांग्रेसले पनि अहिलेसम्म मुख खोलिसकेको छैन । कांग्रेसबाट प्रधानमन्त्रीका आकांक्षीको संख्या पनि बढ्दो छ ।
माओवादीले अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकालमा भएका महत्वपूर्ण काम लोडसेडिङ मुक्त गराएको उल्लेख गरिएको छ । ‘खासगरी दोस्रो कार्यकालमा मधेश आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराई छोटै समयमा पनि आर्थिक वृद्धि र सामाजिक विकासको आधार तयार गरियो भन्दै लोडसेडिङ मुक्त गरेको जस माओवादीले लिन खोजेको देखिन्छ । मुलुकलाई वर्षौंदेखिको लोडसेडिङबाट मुक्त तुल्याउने, काठमाडौं–निजगढ द्रुतमार्ग लगायतका ठूला आयोजनाहरूको निर्माण कार्य अघि बढाउने, चीनसँग वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गर्ने, प्रधानमन्त्री स्वयंले निर्माणाधीन ठूला आयोजनाहरूको अनुगमन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन प्रक्रियागत सुधार गर्ने जस्ता कार्यहरू गरिए,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘यिनै पहलहरूको आधारमा चौधौं त्रिवर्षीय योजनाले राखेको लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल हुन सक्यो । यसबाट नेकपा माओवादीको नेतृत्व भएमा छोटो समयमा पनि विकास र समृद्धिको दिशामा धेरै उपलब्धि हासिल गर्न सम्भव छ भन्ने सिद्ध भएको छ ।’
मंसिर ४ गते मतदान हुँदैछ । मतदाताले कसलाई जिताउने हुन् अहिलेसम्म यकिन छैन । तर गठबन्धन नै गरिसकेपछि पाँच दलीय गठबन्धनको बहुमत आउने लगभग निश्चित छ । तर के कांग्रेसका आधा दर्जन आकांक्षीलाई माथ खुवाउँदै प्र्रचण्ड वा माधव प्रधानमन्त्री बन्ने हैसियत राख्लान् र ? फेरि बच्चा पाउने कहिले भोटो सिउने अहिले भनेझैं मतपरिणामको टुंगो नलागी नेताहरुबीचको माथापच्ची पच्न लायक पक्कै हैन ।