“नया“ अवतारमा राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको शाखलाई जोगाएका छन् । त्यतिमात्र हैन उनले पार्टीलाई नयाँ तरंग पनि दिएका छन् । अनि नेपाली राजनीतिलाई पनि दरिलो सन्देश दिएका छन् । पुरातनवादी भनेर चिनिएको राप्रपाका लागि यो निर्वाचन सुखद बनेको छ । अघिल्लो निर्वाचनमा दयनीय नतिजा ल्याएको पार्टीले यसपालि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ अब्बल प्रदर्शनसहित शानदार कमब्याकमात्र गरेको छैन नेपाली राजनीतिमा नयाँ सन्देश पनि दिएको छ । कमल थापा अध्यक्ष हुन्जेल राप्रपालाई मागीखाने भाँडो बनाए, राजसंस्था र हिन्दूधर्मको खोल ओढेर उनले देश लुटे ।
युरोपियन युनियनबाट लिनुसम्म सहयोग लिए भनिन्छ । तर जब उनले राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग हारे तबदेखि भने राप्रपा लाइनमा आएको छ । राप्रपा छाडेर राप्रपा नेपाल खोलेर एमालेको चुनाव चिन्हमा चुनाव लडे पनि कमल थापा उत्तानो परेका छन् । उनलाई राप्रपाकै उम्मेदवार दीपक सिंहले हराएर कडा झापड हानेका छन् । अर्कातर्फ अघिल्लो चुनावमा प्रत्यक्षमा राजेन्द्र लिङदेनमात्रै विजयी भएकामा अहिले धेरै जना विजयीमात्र भएनन् समानुपातिकमा पनि पार्टीले उल्लेख्य मत ल्याएको छ । त्यतिमात्र हैन प्रदेशको विरोध गरेको पार्टी भए पनि प्रदेश सांसदमासमेत सफलता हासिल गरेर राप्रपा नयाँ भर्सनमा देखिएको छ ।
लिङदेनले लगातार दोस्रो पटक नेपाली कांग्रेसका बलिया उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराए । उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका पूर्वमन्त्री देवेन्द्रराज कंडेललाई हराए । राप्रपाका महामन्त्री धवलशम्शेर राणाले बाँके २ बाट सहज जित निकाले । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि जुम्लाबाट फराकिलो अन्तरको जित हासिल गरे । राप्रपाको सबैभन्दा ठूलो जित त दीपक बोहराको हो । उनले कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँडलाई नै हराइदिए । त्यस्तै महामन्त्री विक्रम पाण्डेले पनि चितवन ३ बाट जिते । मतपरिणामले दिएको जबरजस्त सन्देश के हो भने जनताले राप्रपालाई नयाँ शक्तिका रुपमा अगाडि सारिदिएका छन् ।
हुनत राप्रपा नयाँ पार्टी होइन । ४६ सालपछि नै स्थापना भएर अनेकन् पटक टुटफुट र एकताको शृंखलाहरूबाट गुज्रिँदै यहाँसम्म आइपुगेको हो । तर अहिले आएर राप्रपालाई मतदाताले नयाँ पार्टीका रूपमा लिन थालेका छन् । यसको कारण हो, नयाँ नेतृत्व । कमल थापालाई महाधिवेशनमा हराएर राजेन्द्र लिङ्देनले पार्टीको बागडोर सम्हालेसँग राप्रपाप्रति आकर्षण बढेको स्पष्ट देखिन्छ । पछिल्लो पटक
विवेकशील साझा पार्टी त्यागेर रवीन्द्र मिश्र पनि राप्रपामा जोडिन आएका छन् । लिङ्देन र मिश्रको जोडीले पार्टीमा थप नयाँपनको आभास गराइदियो । अर्को कारण भनेको जनतामा कथित प्रतिगामी एजेन्डा ‘राजसंस्था’ र हिन्दू राष्ट्रप्रतिको बढ्दो आकर्षण हो । राप्रपालाई राजावादी र प्रतिगामी पार्टी भनेर जनता उनीहरूप्रति विकर्षित हुने अवस्था अब छैन । प्रतिगामी भनिने एजेन्डाहरुप्रति नै जनताको मोह बढेको छ । अहिलेको युवापुस्तामा राजसंस्थाप्रति नजानिँदो आकर्षण बढ्दो रुपमा देखिन्छ ।
राजतन्त्रको र हिन्दू राष्ट्रको पुनस्र्थापन तथा संघीयता खारेजीको एजेन्डा बोक्ने बलियो शक्ति जनताले पाइरहेका थिएनन् । कमल थापा नेतृत्वको राप्रपा नेपाललाई विगतमा जनताले त्यस्तो शक्तिका रूपमा स्थापित गर्न नखोजेका होइनन् । तर थापाको आफ्नै सिद्धान्तहीनता र राजनीतिक बेइमानीले उनले जनताको विश्वास गुमाए । अहिले लिङ्देन नेतृत्वमा आएपछि राप्रपाले त्यो विश्वासको पुनर्जागरण गरेको छ । चुनावमा राप्रपाको भोट बढ्नुको मुख्य कारण यही नै हो । राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष बनेसँगै नेपालका ठूला दलहरूमा नेतृत्व पुस्तान्तरणको दबाब बढेको थियो । तर राप्रपापछि महाधिवेशन गरेका कुनै पनि दल कांग्रेस, एमाले र माओवादीले नयाँ नेतृत्व दिन सकेनन् । राजेन्द्रले एकातिर पञ्चायतकालीन लिगेसीको बुढो राप्रपालाई नयाँ पुस्ताको एजेण्डाकेन्द्रित र सिद्धान्तनिष्ठ राप्रपामा रुपान्तरण गरे भने अर्कोतिर भ्रष्ट आचरण र विकृतिको पर्याय बनेको राजनीतिमा सदाचारको तरंग ल्याए ।
राजेन्द्रको नेतृत्वसँगै राप्रपा मुलुकलाई वैकल्पिक नेतृत्व दिने शक्तिमा रूपमा विस्तारै अघि बढेको छ । हरेक पार्टी बन्न र टिक्नका लागि उसको सिद्धान्त र संगठन चाहिन्छ । आज राप्रपासँग प्रष्ट सिद्धान्त र देशब्यापी संगठन सञ्जाल छ । जिम्मेवारी पनि बढेको छ । त्यतिमात्र होइन अब कलम थापाले गुलामी गरेजसरी सरकारमा जाने हैन कि सशक्त पार्टीका रुपमा राप्रपाले संसदमा प्रस्तुत हुन सक्छ । संयुक्त सरकारमा डिमाण्डसहित सहभागीता जनाउन सक्छ । अर्कातर्फ मतदाता फेरि राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा विश्वस्त हुन थालेको पनि बुझ्न सकिन्छ ।