सम्पादकीय
यसपटकको निर्वाचनको परिणामले आमनेपालीलाई निराशा दिने भयो । त्यसो त तिनै नेपालीहरुकै भोटको आधारमा निर्वाचनको नतिजा निस्केको हो, तर पनि त्यस्तै नेताहरुको हालीमुहाली देखिने भयो, जुन केही वर्षदेखि अयोग्य सावित भइसकेका थिए । अनेकौंखाले प्रपञ्च रचेर, मतदाताहरुलाई लोभ देखाएर, सोझासाझा नेपालीहरुलाई आफ्नो शिकार बनाएका छन् । दीर्घरोगी, बुढा, विभिन्न अपराधमा संलग्नहरुकै बाहुल्यता भएको यस पटकको संसदबाट पनि नेपालीहरुको हित हुने देखिँदैन । उनै पुरानै गन्हाएका अनुहारबाट नयाँ काम के पो हुन सक्छ र भन्ने शंका व्याप्त देखिन्छ । त्यसैले चुनावको नतिजा जतिजति आउँथ्यो, त्यति त्यति निराशाका अनुभव हुन थालेको थियो, यसपटकको नतिजाले केही नयाँ अनुहारहरु केही नयाँ पार्टीहरुको उपस्थिति देखिए पनि तिनीहरुको संख्या नगण्य भएकै कारण, सत्तामा हालीमुहाली तिनै पुरानै गन्हाएका अनुहारहरुको हुने देखिन्छ ।
साँच्चै भन्नुपर्दा दिल्लीमा भएको बाह्रबुँदे सम्झौताले नै नेपालको दशा शुरु भएको हो, बाह्रबुँदे सम्झौताले जंगलमा बसेर सत्रौं हजार निर्दोष नेपालीहरु मार्नेलाई रातो कार्पेट बिछ्याएर गिरिजाप्रसाद र उनका मतियारहरुले जसरी सत्ताको बाँडफाडमा हिस्सा बनाए, त्यसपछि नै नेपालीको दुःखका दिन शुरु भएको हो । अहिले संघीय प्रदेश सभा चुनावको नतिजा प्रायः आइसकेको छ र उनीहरु नेपालको दीर्घकालीन विकासको लागि के के गर्न सकिन्छ भन्ने खाका कोर्नुको सट्टा, कसरी आपूm अनुकूल सरकार बनाउने र कसरी कमाउ अड्डामा आफ्नो मान्छे राख्नेमै ध्यान केन्द्रित भएको देखिन्छ । अहिलेसम्मको हिसाबले गठबन्धनले सरकारको नेतृत्व गर्ने बलियो लक्षण छ, त्यसमा पनि देउवाले सरकारको नेतृत्व गर्ने देखिन्छ, नेपाली कांग्रेसभित्र रामचन्द्र पौड्याल, डा. शेखर कोइराला, गगन थापा आदिले पार्टीको नेतृत्व गर्छु भने पनि सम्भव देखिँदैन, जसले चुनावको लागि टिकट दिएको थियो, त्यसको पक्षमा नलागेर अर्काको पक्षमा लाग्नु नै अस्वभाविक हुने हुँदा एकाधले हालको पार्टी नेतृत्वविरुद्ध कुरा उठाए पनि त्यो अत्यन्त कमजोर हुनेछ र कांग्रेस पार्टीको नेतृत्व देउवाले नै गर्ने छन् र मन्त्रिपरिषद्को नेतृत्व पनि उनैले गर्ने छन् । हाललाई उधारो राष्ट्रपतिको पद रामचन्द्र पौडेललाई दिइए पनि राष्ट्रपति पदको उम्मेदवारी भने माओवादी केन्द्रले नछोड्ने लक्षण देखिन्छ, भोलिको दिनमा जे जस्ता घटना परिघटना देखिए पनि अहिले गठबन्धनले निरन्तरता पाउने छ र नेपालको सम्मुनत भविष्य भने अझै केही दशकयता देखिँदैन ।
२०७४ सालको निर्वाचनमा नेपाली जनताले एकल बहुमतको सरकारलाई मत खसालेका थिए, त्यो सरकार झण्डै दुईतिहाईकै सरकार थियो, त्यसबखतको नेतृत्व गर्ने केपी ओलीले “म पनि भ्रष्टाचार गर्दिनँ अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न” जस्ता जनप्रिय नारा दिएका थिए, उनकै पालामा ओम्नी, यतीदेखि गोकुल बाँस्कोटा र अझ खतरनाक त पानी ट्याङ्की भनेर चर्चित ईश्वर पोखरेलको सेनासँगको काण्ड चर्किएको थियो । ओलीले माधव नेपाल, पुष्पकमल दाहाल लगायतलाई भागवण्डा नमिलाएरै आफ्नै पार्टीको कारण र सर्वोच्चको परमादेशबाट प्रधानमन्त्रीको पद छोड्नु प¥यो । त्यसपछिको नेतृत्व गर्ने शेरबहादुर देउवा त भ्रष्टाचारमा धेरै पटक गन्हाएका थिए, उनी प्रधानमन्त्री भएपछि भ्रष्टाचारका अनगिन्ती काण्डहरु हुने गर्दछन् तर दुर्भाग्य संवैधानिक सबै अङ्गहरुलाई आपूm अनुकूल बनाइएकोले सर्वोच्च अदालत, अख्तियार लगायत कुनै पनि संवैधानिक अङ्गहरुले ठूलाठूला भ्रष्टाचारलाई छुन पनि सक्दैन, त्यसैले नेताहरु धनी माथि धनी हुँदै गएका छन् र आम जनताहरु भने गरिबभन्दा गरिब हुन थालेका छन् । अब पनि नेपालीहरु सचेत हुँदैन भने दुःखका दिन शुरु हुने नै देखिन्छ । सबै नेपालीहरुलाई भगवान पशुपतिनाथले कल्याण गरुन् भन्नेबाहेक अरु केही गर्न सकिँदैन ।