नबिल बैंकमा चौधरीको मनपरी

Home Feature

काठमाण्डौ । ठूलो बैंकको रुपमा प्रचार गरिएको नबिल बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) र नेपाल राष्ट्र बैंक, एकीकृत निर्देशनको खिल्ली उडाएको छ । उद्योगपति विनोदकुमार चौधरी र बंगलादेशी साझेदारहरुको लगानी रहेको उक्त बैंकको वेवसाइट सर्च गर्दा पनि प्रचलित ऐन र नियामक निकायको निर्देशनलाई वास्ता नगरिएको स्पष्ट हुन्छ । बाफिया बमोजिम पछिल्लो समयमा राष्ट्र बैंकबाट इजाजतप्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा सात जना हुन्छन् । सातमा एक महिला र एक स्वतन्त्र सञ्चालक हुनैपर्ने कानुनी व्यवस्था छ ।
तर नबिल बैंक मात्र एक यस्तो संस्था हो,जहाँ ऐनको बर्खिलाप गरेर चौधरीका जेठा छोरा निर्वाणलाई उपाध्यक्ष तोकिएको छ । अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल छन् । बाफियाबमोजिम नियामक निकायले कानुनी रुपमा संस्थाका अध्यक्ष,सदस्य र सिइओलाई मात्र चिन्छ । नबिलको हकमा चौधरीका छोरा निर्वाणलाई बैंक सञ्चालक समिति सदस्यको रुपमा मात्र चिन्छ । उनीहरुको शपथ ग्रहणको व्यवस्थाबमोजिम अध्यक्षले गभर्नरसमक्ष र सदस्यहरुले अध्यक्षसमक्ष लिनुपर्छ । उपाध्यक्ष भन्ने पद नै नभएको अवस्थामा चौधरीले के आधारमा शपथ ग्रहण गरे त्यो नै अचम्मलाग्दो र गैरकानुनी देखिन आएको हो । तर राष्ट्र बैंकले त्यसबारे कारबाही अघि बढाएको छैन । सो बैंकको सिइओमा बैंकर्स संघको अध्यक्षसमेत बनिसकेका ज्ञानेन्द्र ढुंगाना छन् । उच्च व्यवस्थापनमा समेत राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा काम गरेका केही व्यक्ति कार्यरत छन् । तर उनीहरु सबैले आफ्नो क्षमता र विज्ञतालाई चौधरीको ठाडो निर्देशनमा बाफिया र केन्द्रीय बैंकका व्यवस्था विरुद्ध हुनेगरी लत्याएको प्रष्ट हुन्छ ।
सोही बैंकको सञ्चालक समितिले नियमानुसार भन्दै चार वटा समिति गठन गरेको छ । तीमध्ये लेखापरीक्षण समितिलाई जिम्मेवारी र दायित्वको हिसाबले तटस्थ मानिन्छ । उक्त समितिमा बस्ने सञ्चालकहरुलाई अन्य समितिको जिम्मेवारीमा राख्न पाईंदैन । तर, लेखापरीक्षण समितिको जिम्मेवारीमा बसेकालाई नै अरु समितिको समेत जिम्मेवारी दिइएको छ । यसमा पनि केन्द्रीय बैंकले कुनै कारबाही गरेको पाइन्न । नबिलको अडिट कमिटी संयोजकमा सञ्चालक प्रवीण टिवडेवाला तोकिएका छन् । त्यसको सदस्यमा अर्का सञ्चालक मलाय मुखर्जी छन् । तर, उनै दुई जनालाई रिस्क म्यानेजमेन्ट समितिको संयोजक र सदस्य बनाइएको छ । जोखिम व्यवस्थापन समितिको संयोजकमा मुखर्जी र सदस्यमा टिवडेवालालाई राखिएको छ । यसैगरी जोखिम समितिका सदस्य सञ्चालक एआरएम नाजमुसलाई एएमएल सिएफटी कमिटी संयोजकको जिम्मेवारी दिइएको छ । यी सबै कार्य केन्द्रीय बैंकको निर्देशन,एकीकृत निर्देशनका व्यवस्था र बाफियाका सम्बन्धित दफा प्रतिकूल हुन् । तर नियमनकारी निकायको भूमिकामा रहेको राष्ट्र बैंक नबिलभित्र चौधरीका बदमासी र दादागिरीबारे चुप लागेको पाइएको छ ।