आन्दोलनको गृहकार्यमा एमाले

Home Feature

काठमाडौँ । सत्ताधारी गठबन्धन बेपत्ता जस्तै भइरहेको बेलामा विपक्षीले हालीमुहाली गर्नुपर्नेमा अहिले विपक्षी दल एमाले पनि बेपत्ता जस्तै भइरहेको छ । संसद बैठक चलिरहँदा बन्दै गरेर भए पनि चर्चामा आइरहने प्रमुख प्रतिपक्षी एमाले अहिले खेलोखेती केही नभएरै बेपत्ता जस्तै भइरहेको छ । त्यसैले एमालेले अब काठमाडौँ केन्द्रित आन्दोलन गरेर भए पनि मिडियामा छाइरहने उपाय रचेको छ । केही समयअघि मध्यपहाडी राजमार्ग केन्द्रित संकल्प यात्रा गरे पनि सोचेभन्दा कम सफलता हात परेपछि एमालेले एमालेले जनवर्गीय संगठनमार्फत काठमाडौँ केन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य थालेको हो ।
सरकार परिवर्तन गर्न बहुमत सिद्ध गर्न आवश्यक संख्या नपुगेपछि अब केही न केही खेलो त गर्नुपर्छ भन्ने ठानेर समाजमा देखाउन एमालेले काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने भएको हो । जनता माझ आफ्नो उपस्थिति देखाउन एमालेले जनवर्गीय संगठन मार्फत आन्दोलनको तयारी गरेको हो । ‘सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै एमालेले आन्दोलनको गृहकार्य शुरु गरिरहेको छ’, एमाले महासचिव शंकर पोखरेलले भने । जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सबै जनसंगठन–हरूलाई आन्दोलनको गृहकार्य अगाडि बढाउन निर्देशन पनि दिइसकेका छन् । सरकारको गैरजिम्मेवारीले सीमा नाघेका कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ छ । केही दिनअघि बसेको संयन्त्रको बैठककमा जनसंगठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने गरी तयारी गर्न निर्देशन दिएपछि आन्दोलनका अजेण्डाहरु तय गर्ने गरी जनसंगठनले आफ्नो कमिटीमा छलफल गरिरहेका छन् । ‘सरकार हरेक क्षेत्रमा असफल भयो, मुलुकको स्वाधीनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेको छ, अब यो सरकारलाई ठेगान लगाउने गरी आन्दोलनको तयारीमा जुटनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको छ’, महासचिव पोखरेलले जनसंगठनको बैठकमा भनेका थिए ।
उनका अनुसार निकट भविष्यमा राजधानी केन्द्रित भएर केही गतिविधि गर्नुपर्छ यसका लागि सबै जनसंगठनले तयारी गर्न आवश्यक रहेको र तयारीपछि पार्टीले निर्देशन दिनेछ । सरकारबाट बाहिर बसेको एमालेले यसअघि पनि विभिन्न कार्यक्रमहरु गरिरहेको थियो । संसद र संसद बाहिर सरकारविरुद्ध गरिएका कार्यक्रमहरु असफल भैरहेका छन् । ‘कांग्रेसले गठबन्धन नछाड्दासम्म सरकार परिवर्तन हुने अवस्था छैन एमालेले गर्ने भनेको आन्दोलन आफ्नो उपस्थिति मात्रै हो’, एमालेका एक पदाधिकारीले भने ।
उनका अनुसार सरकारभित्र असन्तुष्टि भए पनि एमाले विरुद्धको मोर्चाबन्दीमा गठबन्धन दल एक भएको अवस्थामा आन्दोलन गरेपनि कुनै पार लाग्दैन । ‘आन्दोलन सरकार ढाल्न होइन आफ्नो उपस्थिति कायम राख्न हो, जनवर्गीय संगठनलाई परिचालन गर्न हो’, ती पदाधिकारीले भने । पार्टीले जिल्ला सम्मेलन पनि गरिरहेको र सम्पर्क मञ्चहरुको पनि सम्मेलन गरिरहेकाले सकेसम्म त्यस्ता फोरमलाई नै आन्दोलनको रुपमा अघि बढाउने गरी अघि बढ्ने एमालेको नीति रहेको छ । गठबन्धन टुटाउनका लागि माओवादी र कांग्रेसमध्ये कुनै एक दल बाहिर नआइ एमाले सत्तामा जान नसक्ने भएकाले अहिले आफ्नो उपस्थिति जनतामाझ राख्न पनि एमाले विभिन्न कार्यक्रमहरु बाहिर ल्याउन लागेको स्रोतको दाबी छ ।
फेरि एमाले सरकारमा भएका बेलामा मुलुकमा सबैभन्दा बढी भ्रष्टाचार भएको थियो । त्यतिबेलाको सहयात्री दल नेकपा माओवादी केन्द्र थियो । त्यसैले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिकिरहेका छन् । नाम केही नभएकाले बदनामै सही कम्तीमा समाजमा त देखिनु प¥यो नि भन्ने सोच एमालेको छ ।