राज्यलाई तिर्नुपर्ने अरबौं कर छलेर दुनियाँलाई पैसा बाँड्दै

Home Feature

भाटभटेनी साहु र एमाले नेक्सस


काठमाडौँ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र एमाले एउटै हुन् । किनकि गुरुङ नै एमाले हुन् । उनले गरेका हरेक अपराध एमालेले गरेका हुन् । त्यही भएर त होला देशलाई तिर्नुपर्ने अर्बौँ कर नतिर्ने गुरुङले दुनियाँलाई पैसा बाँडेको देखाएर आफू दानी भएको हल्ला फैलाउँछन् । उनीमाथि सशस्त्र द्वन्द्वमा माओवादीले राख्न दिएको अर्बौँ रुपैयाँ स्वाहा पारेको आरोपसमेत छ । माओवादीले जनताको पैसा लुटे, बैंकको पैसा लुटे । अनि लुटेको पैसा मीनबहादुरको कम्पनीमा लगाए । मीनबहादुरले उक्त कालो धनलाई आफ्नो बनाए भनेर माओवादी केन्द्रका प्रचण्ड मार्काहरु तनावमा रहेको धेरै भयो ।
तर मीनबहादुरले पनि ठूलै छहारी रोजेर बसे । उनी एमालेका खाँटी कार्यकर्ता निस्के । अनि तिनै देश लुटेको पैसाबाट एमालेलाई ११ रोपनी जग्गामात्र दिएनन् कि एमालेको पार्टी कार्यालय नै बनाउने भइदिए । सरकारलाई तिर्नुपर्ने रकम नतिरेर कौडीको भाउमा जग्गा लिने अनि त्यो जग्गा आफू सुरक्षित हुन एमालेलाई दान दिने उनको काइदाले एमालेलाई त फाइदा पुग्ला तर समग्रमा देश अधोगतिमा धकेलिने भयो भने कंगाल हुने निश्चितै छ । केवल यसको विरोध नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मात्र गरेजस्तो भयो ।
शर्माले एमालेले गुरुङको सहयोगमा उनको जमीनमा पार्टी कार्यालय बनाउन लागेको विषयप्रति टिप्पणी गरे । उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राज्यले ठूला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यू, राज्यले ठूला व्यवसायीलाई अपील गर्न मिल्छ–भूकम्प प्रभावितलाई हजार घर बनाइदेउ । अनि बाढीले नबग्ने सय पुल । गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी । अझ ठूलो दान लिनेदिने भए –देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देउ, यस्तो पनि त भन्न र गर्न मिल्छ ।’
उनले कांग्रेसले आफ्ना तत्कालीन चार लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए । उनले भने, ‘स्वदेश र विदेशमा रहेका हरेक कांग्रेस सदस्य गर्व
गर्छन्, हाम्रो केन्द्रीय कार्यालय हामीलेु बनाएका हौँ । हो, कयौँ व्यवसायीको स–सानो धन पनि यो निर्माणमा जोडिएको छ । तर मूलत पार्टी सदस्यको मन जोडिएको छ । यो बन्दै गर्दा उसबेलाका ४ लाख बढी कृयाशील सदस्यताको रकम यसमा प्रयोग भएको छ ।’ यता एमालेलाई यसले फरक पर्ने कुरै भएन । उल्टै जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका टीकाटिप्पणीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता टिप्पणीहरु खेदजनक भएको बताएको छ । एमालेको विज्ञप्तिमा भनिएको छ, ‘७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यमा रही कार्य गरेको तथ्य जगजाहेर छ ।’ यस विज्ञप्तिले त गुरुङ एमाले भएको स्पष्ट गरेको छ । अर्थात् गुरुङजस्ता एमालेका खाँटी नेता कार्यकर्ता कसरी जान्थे र बालुवाटार प्रकरणमा जेल । जसरी विष्णु पौडेलहरु जेल जानु परेन त्यसरी नै मीनबहादुरहरु जेल जानु परेन । अर्कातर्फ एमाले भएपछि त झन् जेलै जानु पर्दैन । गएका इतिहास पनि छैनन् । अख्तियार एमालेको पकडमा भएपछि एमालेका कोही पनि सम्पत्तिको विषयमा जेल जान परेको इतिहास छैन ।
अब त झन् कुनै पनि एमालेले जेल जानु पर्दैन । मीनबहादुरले पनि जेल जानु पर्दैन । मीनबहादुरको जस्तो अपराध गरेकाहरु जेलमा सडे पनि मीनबहादुरले जेल जानु पर्दैन । किनकि उनी एमाले हुन् । एमालेलाई जेल जानु पर्दैन । जसरी गिरीबन्धु टी–स्टेटमा केपी ओली जेल जानु पर्दैन । भूमि र सहकारी झेलमा पद्मा अर्यालहरु जेल जानु पर्दैन । ओम्नी काण्डमा भानुभक्त ढकालहरु जेल जानु पर्दैन । त्यस्तै यति प्रकरणदेखि थुप्रै प्रकरण छन् जहाँ एमालेका नेताहरु फसेका छन् । कसैले पनि जेल जानु पर्दैन । किनकि उनीहरु एमाले हुन् । त्यसैले त भाटभटेनी साहु पनि जेल जानु पर्दैन । कारण हो एमालेको नेक्सस नै त्यस्तै छ ।