फेरि मंसिर सातमै एमाले र दुर्गा प्रसाईं समूह भिड्दै

Home Feature

राजधानीमा मुठभेडको खतरा


काठमाडौँ । गत वर्ष मंसिर ७ गते काठमाडौँ उपत्यकामा हिंसाले कुन रुप लिने हो र कति जनाको ज्यान जाने हो भन्ने चिन्ता थियो । एकातिर थियो एमाले र अर्कोतिर मेडिकल व्यवसायी दुर्गा प्रसाईं । एमालेको नेतृत्व युथ फोर्सका पूर्व अध्यक्ष महेश बस्नेतले गरेका थिए । युथ फोर्स अहिले नाम परिवर्तन भएर राष्ट्रिय युवा संघको नाममा चलिरहेको छ । र, दुर्गा प्रसाईं नेतृत्वको समूहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पनि साथ थियो । महेश बस्नेतहरु मान्छे नकुटी गणतन्त्र टिक्दैन भन्थे । दुर्गा प्रसाईं शीर्ष दलहरुबाट देशले पार नपाउने भन्दै गणतन्त्र फालेर राजतन्त्र ल्याउनु पर्छ भन्थे ।
त्यही राजतन्त्रको नारा सुनेर राप्रपा पनि दुर्गा प्रसाईंको अभियानलाई समर्थन गर्न बाध्य भएको थियो । त्यो बेला रस्साकस्सी थियो । तर आँकलन गरिए विपरीत सुरक्षा निकायले अनिष्ट हुन दिएन । यद्यपि दौरासुरुवाल लगायो भने यो राजावादी हो भनेर सुरक्षाकर्मीले समातेर निकृष्ट काम भने गरेकै हो । जबकि दौरासुरुवाल राष्ट्रिय पोशाक हो भन्नेसम्म पनि भुले सुरक्षाकर्मीले । माथिको आदेश मान्ने अनेक नाटक ।
यसपालि गत साल नभएको दुर्घटना हुन सक्ने खतरा बढी छ । किनकि एमाले सत्तामा छ र दुर्गा प्रसाईंको चुरीफुरी धेरै बढेको छ । उनलाई समर्थन गर्नेहरु पनि बढ्दै गएका छन् । र, राजतन्त्रको उपस्थिति पनि दरिलो हुन थालिसकेको छ । किनकि योबीचमा दुई ओटा सरकार फेरिए । अनि सत्ता स्वार्थका लागि राजनीतिलाई नै गोलमटोल पारे ।
के गर्दैछ एमालेले ?
यसपालि अर्थात् मंसिर ७ गते शुक्रबार हुने काठमाडौँ केन्द्रित कार्यक्रमका लागि एमाले बढी नै सतर्क देखिएको छ । कार्यक्रमलाई भब्य पार्न समिति नै बनाएको छ । एमालेले जागरण सभा भनेको छ । एमालेले तयारीको लागि सभा संयोजन समिति गठन गरेको छ । एमाले काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा काठमाडौँमा हुने जागरण सभाको तयारीका लागि गत साता बुधबार बसेको बैठकले ११ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको थियो । पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका
मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भब्य र सुव्यवस्थित गर्नको लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको हो । समितिको सहसंयोजकको जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ । समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहेका छन् ।
जागरण सभा संयोजन समितिको बुधबारै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा. भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ । मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जागरण सभा गर्न लागेको भट्टराईको भनाइ छ । जागरण सभाले पार्टीको दृष्टिकोण र धारणा आमजनताबीच पु¥याउने उद्देश्य लिएकोसमेत उनको विज्ञप्तिमा उल्लेख छ । एमालेले जागरण सभाको नाम दिए पनि अन्तरनिहीन उद्देश्य भने दुर्गा प्रसाईंको कार्यक्रम बिथोल्ने योजना रहेको अड्कल गरिएको छ । सत्तामा भएका बेलामा यत्तिकै किन छाड्ने भनेर पनि एमाले तात्तिएको हुन सक्ने आँकलन भइरहेको छ ।
के गर्दैछन् दुर्गा प्रसाईं ?
मंसिर ७ गते दुर्गा प्रसाईले पनि शक्ति प्रदर्शनको कार्यक्रम राखेका छन् । उनले गत वर्षदेखि थालेको अभियान कायमै राखेका छन् । साथै उनका एजेन्डा बदलिएका छैनन् । उनका तिनै एजेन्डाले अहिले निरन्तरता पाउँदैछन् । उनी यसअघि एमालेको राजनीति छाडेर राजसंस्थाको आन्दोलनमा होमिएका हुन् । एमालेलाई यही भएरै उनको राजनीति दबाउनु पर्छ भन्ने दबाब रहेको पनि बुझ्न सकिन्छ । उनी एमालेका केन्द्रीय सदस्य रहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चा बटुलेदेखि नै उनी लाइमलाइटको राजनीतिमा छन् । त्यसैले उनले गत वर्ष मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन थालेका थिए । उनले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन भएको थियो । त्यसकै वार्षिक कार्यक्रमले अहिले निरन्तरता पाउने भएको हो । यसपालि राजसंस्थाको आवाज अझ ठूलो हुने अपेक्षा गरिएको छ । किनकि गणतन्त्र थप गन्हाएको छ । अनि राप्रपासँगै उनका समर्थक पनि बढेकाले यसपालि पनि ठूलै जमात काठमाडौँमा उत्रने छ ।
किन निहुँ खोज्यो एमालेले ?
पहिले युवा संघको आयोजना भए पनि बुद्धि महेश बस्नेतको लागेको थियो । तर अहिले त परराष्ट्रविद् एवं तत्कालीन प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भइसकेका डा. राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति बनेको छ । यसको मतलब अहिले महेश बस्नेत भन्दा धेरै माथि गएर एमालेले मंसिर ७ लाई प्रतिष्ठाको लडाइँ बनाएको छ । एकथरि त अझै पनि भन्दैछन् कि यही कारण रहेछ राजनले कांग्रेस महामन्त्री गगन थापासँग काठमाडौँ ४ बाट लगातार चुनाव हारेको । हुन पनि मंसिर ७ मै कार्यक्रम गर्नु भनेको मुठभेडलाई निम्तो दिनु नै हो । सत्तामै भए पनि आफूले सोचेजस्तो त हुँदै हुँदैन ।
गत साल नै मुठभेड रोकियो । तैपनि केही पक्राउ परे । केहीले कुटाइ खाए । त्यो आगोको राप अहिले प्रसाईं समूहमा बढी छ । एमालेभित्र सत्ताको रापमात्र हो । आगोको फिलिङ्गोले जलाउँछ । सत्ताको राप स्वार्थमा लुटपुटिन सक्छ । नेपालमा प्रजातन्त्र ल्याउँदा कांग्रेसका दुई चार जनाले आन्दोलन थालेको, पञ्चायत ढाल्ने शुरुआत गर्दा पनि त्यही हालत भएको र गणतन्त्र ल्याउने आन्दोलनमा पनि गिरिजाप्रसाद कोइरालाहरु १२–१३ जनाको संख्यामा रत्नपार्कमा पुगेको देखिएकै हो । जसले ठूलो रुप लिँदा राणाशासन ढल्यो । बहुदल आयो । र, जेजस्तो नालायकी शासन देखिए पनि गणतन्त्र आयो । यसैलाई उदाहरण मानौँ कि त्यतिबेला दुर्गा प्रसाईंलाई विवादित मेडिकल व्यवसायी र बैंकको ऋण नतिर्न गरेको स्टन्टबाज भन्थे । यो एक वर्षको अवधिमा ठूलै नेताहरु जेल परेका छन् । कोही सहकारीको पैसा नतिरेर हिरासतमा छन् । कसैको छानबिन हुँदैन । र थुप्रै काण्डहरु पनि आए । गणतन्त्र गन्हाउँदै गयो । यही मेसोमा दुर्गा प्रसाईंलाई पक्राउसमेत गरियो । के अब प्रसाईंको समूह अभियान शिथिल हुन्छ र ? अवश्य हुँदैन । यसैले पनि एमालेले निहुँ खोज्नु हुँदैनथ्यो । दुर्घटनाको जिम्मो एमालेकै काँधमा ।