काठमाडौं । सरकारले वार्षिक रुपमा विनियोजन गरेको बजेट करिब ८० प्रतिशत हाराहारी मात्र खर्च हुने गरेको देखिएको छ । अर्थ मन्त्रायले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बमोजिम तयार पारेको वार्षिक प्रतिवेदनमा विनियोजनको २० प्रतिशत कम बजेट खर्च हुने गरेको देखिएको छ । पछिल्ला दुई आर्थिक वर्षको विवरण हेर्दा विकास खर्चको अवस्था कमजोर देखिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा सरकारले कुल १७ खर्ब ५१ अर्ब ५३ करोड बजेट विनियोजन गरेकोमा यथार्थ खर्च १४ खर्ब २८ अर्ब ७६ करोड मात्र भएको अर्थमन्त्रालयले जनाएको छ ।
जुन कुल विनियोजन गरिएको बजेटको ८०.४ प्रतिशत मात्र हो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९–८० मा पनि ७९.२ प्रतिशत मात्र बजेट खर्च भएको देखिन्छ । उक्त आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेकोमा यर्थातमा १४ खर्ब २१ अर्ब ३२ करोड मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०–८१ का लागि चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ९ खर्ब ५२ अर्ब ४१ करोड अर्थात ८३.४ प्रतिशत, पुँजीगत खर्चतर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन भएकोमा १ खर्ब ९१ अर्ब ७१ करोड अर्थात् ६३.५ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन भएकोमा २ खर्ब ६४ अर्ब ६३ करोड अर्थात् ८६.१मात्र यथार्तमा बजेट खर्च भएको प्रतिवदेनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा पनि कुल विनियोजनको ८३.८ प्रतिशत चालु खर्च, ६१.७ प्रतिशत पुँजीगत खर्च
तथा ८४.८ वित्तीय व्यवस्थातर्फको खर्च भएको देखिन्छ । यी दुई आर्थिक वर्षमा अन्य खर्चको तुलनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । आर्थिक वर्ष २०८०–८१ मा कुल वस्तु निर्यातमा ३ प्रतिशतले कमी भई १ खर्ब ५२ अर्ब ३८ करोड कायम भएको छ भने कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी भई १५ खर्ब ९२ अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८०–८१ मा कुल वैदेशिक लगानी आप्रवाहमा ६.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ४७ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको छ । घाटा बजेट परिपूर्तिको लागि आ.व.२०८०–८१ मा २ खर्ब ३४ अर्ब ४२ करोड आन्तरिक ऋण र १ खर्ब २३ अर्ब ६१ करोड बाह्य ऋण गरी जम्मा ३ खर्ब ५८ अर्ब ३ करोड ऋण परिचालन भएको छ ।
आर्थिक वर्ष २०८०–८१ मा कर राजस्व ९ खर्ब ४४ अर्ब ५५ करोड ४७ लाख, गैरकर राजस्व तर्फ १ खर्ब १४ अर्ब ३४ करोड १७ लाख र अन्य प्राप्ती २३ अर्ब ८५ करोड ३१ लाख गरी जम्मा .१० खर्ब ८२ अर्ब ७४ करोड ९५ लाख राजस्व संकलन भएको छ । यस अवधिको राजस्व परिचालन लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख को तुलनामा ७६ प्रतिशत राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०–८१ मा अनुदान २२ अर्ब २७ करोड र ऋण १ खर्ब २३ अर्ब ६१ करोड गरी कुल १ खर्ब ४५ अर्ब ८८ करोड वैदेशिक सहायता परिचालन भएको छ । आर्थिक वर्ष २०८०–८१ को कुल वैदेशिक सहायतामध्ये अनुदान १५.३ प्रतिशत र ऋण ८४.७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्विदर ३.८७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०–८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको अनुमान छ । २०८१ असार मसान्तमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६३ लाख ४० हजार पुगेको छ । २०८० असारसम्म यस्तो संख्या ५५ लाख ५४ हजार थियो । केन्द्रीय विजक अनुगमन प्रणालीमा वार्षिक २५ करोड रुपैंयाँभन्दा बढीको कारोबार गर्ने र विभागले तोकेका अन्य करदाताले अनिवार्य रुपमा यस प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था अनुरुप यस अवधिमा उक्त प्रणालीको क्षमता वृद्धि गरी थप २८६९ भन्दा बढी करदातालाई प्रणालीमा आबद्ध उक्त प्रणालीको क्षमता वृद्धि गरी थप २८६९ भन्दा बढी करदातालाई प्रणालीमा आबद्ध गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।