काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवा चीन गएर फर्केकी छिन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि शुरु भएको चीन भ्रमणको लागि माहोल मिलाउन तीन दिनमा फर्केर शनिबार आएकी थिइन् । यद्यपि उनी नेपालको दूत बनेर गए पनि चीनले भने पत्याउन सकेन । उनलाई चीनले केबल भारत र अमेरिकी एजेन्टको रुपमा सम्झेको स्रोत बताउँछन् । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजूले चीनको मन नजिति फर्केको बताइएको हो । जसका कारण उनले प्रधानमन्त्री ओलीका लागि माहोल बनाउन नसकेको दाबी गरिएको छ ।
चीनको अहिलेको चाहना नेपालमा जसरी पनि चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन गराउने भन्ने हो । तर आरजू भारत र अमेरिकासँग नजिक भएकाले उनीसँग खुलेर चीनले कुरा गर्न नसकेको बताइएको छ । यद्यपि आरजूले बीआरआई योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताएकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएकी थिइन् ।
उनले भनिन्, ‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ । यो नेपाल र चीनबीचको समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।’ राणाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गरिन् । उनले भनिन्, ‘यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली कांग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ । त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरु गरिरहेका छौँ ।’
मन्त्री डा राणाले नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत सम्बन्ध रही आएको र यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय समयमा हुने उच्चस्तरीय भ्रमणहरुको आदानप्रदानले महत्वपूर्ण योगदान पुर्याउँदै आएका चर्चा गर्दै आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता हो भनिन् । मन्त्री डा राणाले यस भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको द्विपक्षीय भेटवार्ता सौहार्दपूर्ण रहेको पनि जानकारी दिइन् । त्यस वार्तामा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको उनको भनाइ थियो ।
समकक्षी वाङसँग हिजो हार्दिक र सौहार्दपूर्ण वातावरणमा वार्ता भएको र दुवै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको उनले बताइन् । सो वार्तामा आफूले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्वि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने धारणा राखेको र चिनियाँ विदेशमन्त्री वाङ यीले पनि उक्त धारणाप्रति चीन सरकार सकारात्मक रहेको जानकारी दिको मन्त्री डा राणाले बताइन् ।
सो वार्ताका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारहरूको स्पष्ट आदानप्रदान हुनुका साथै नेपालको
विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा पनि कुरा भएको उनले बताइन् । वार्तामा दुई देशबीचको विद्यमान सुमधुर राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धलाई विकसित गर्दै लैजाने उद्देश्यका साथ दुवै पक्षबीच व्यापार, लगानी, पर्यटन र हवाई सम्पर्क लगायतका विषयमा छलफल भएको पनि मन्त्री डा राणाले बताइन् । साथै मन्त्री डा राणाले उक्त द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षबाट भएका उच्चस्तरीय भ्रमणहरुमा गरिएका सम्झौता तथा समझ्दारीहरुलाई पनि तदारुकताका साथ कार्यान्वयनमा लैजाने विषयमा सहमति भएको जानकारी दिइन् ।