प्रचण्ड ओलीको भैँसी राजनीति

Home Feature

काठमाडौँ । नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरुका गतिविधि अनौठा लाग्छन् । कोही छिमेकबाट भैँसी ल्याउँछन् कोही भैँसी दिन्छन् । गत वर्षको जेठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भारतबाट मुर्रा भैँसी ल्याए । यो भैँसीको चर्चा अझै सकिएको छैन ।
भारतले नेपाललाई १५ वटा मुर्रा भैँसी प्रजातिका राँगा उपलब्ध गराएको थियो । यस विषयले सामाजिक सञ्जालसँगै संसद्सम्म तताएको थियो । नेपालमा भैँसीको नश्ल सुधारका लागि अघिल्ला सरकारले नै मागेको र अहिले भारतले आफू भ्रमणमा जाँदा उपलब्ध गराएको प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका थिए । उनलाई मुर्रा भैँसी भनेरसमेत सम्बोधन गरियो ।
सामान्यतया मुर्रा भनिए पनि खासमा यो मुर्राह भैंसी हो । यो मुख्यतया दूध उत्पादनको लागि राखिएको पानी भैँसीको एक जात हो । यो भारतको हरियाणा र पञ्जाबमा पाइन्छ । यो भिवानी, आगरा, हिसार, रोहतक, जिन्द, झाझर, फतेहाबाद, गुडगाउँ र राजधानी दिल्ली राजधानी क्षेत्रका जिल्लाहरूमा देख्न सकिन्छ । यो इटाली, बुल्गेरिया र इजिप्टजस्ता अन्य देशहरूका डेरीमा भैँसीको दूध उत्पादन सुधार गर्न प्रयोग गरिएको छ । हाल भारतमा मुर्रा जातको एउटा भैँसीलाई ९० हजारदेखि डेढ लाख भारूसम्म पर्छ । विज्ञहरूका अनुसार मुर्रा भैँसी सबैभन्दा उत्पादनशील भैँसी नस्ल हो ।
प्रचण्डले नेपालमा दूध बढाउने भैँसीको खोजी गर्दा एमालेका अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपालबाट भैँसी चीन निर्यात गर्ने सहमति गरेर गत साता चीनबाट फर्केका छन् । अर्थात् प्रचण्डले दूध दिने भैँसी भित्र्याउँदा ओलीले भने नेपालबाट चीनमा राँगाभैँसीको मासु निर्यात गर्ने सहमति गरेका छन् ।
त्यसो त ओलीको चस्न भ्रमणका क्रममा हस्ताक्षर भएको राँगाभैँसीको प्रशोधित मासु चीन निर्यात गर्ने सम्बन्धी प्रोटोकलको कार्यान्वयनले राँगाभैँसीको मासुको विश्वकै सर्वाधिक ठूलो बजार चीनमा नेपालका लागि ढोका खुल्ने अधिकारीहरूले बताएका छन् ।
हाल देशभित्र उत्पादन भइरहेको राँगाभैँसीको मासु देशभित्रकै माग धान्न लगभग सीमित भइरहेको अवस्थामा चीनसँगको सहमतिबाट आर्थिक लाभ लिन व्यावसायिक भैँसी पालनमा देशको निजी क्षेत्र र कृषकहरूलाई आकर्षित गर्नुपर्ने पनि अधिकारीहरूको भनाइ छ । अघिल्लो आर्थिक वर्षको एउटा आँकडाले नेपालमा राँगा र भैँसीको संख्यामा उल्लेख्य रूपमा कमी आएको र राँगाभैँसीको मासुको उत्पादन पनि घटेको देखाएको थियो ।
प्रचण्डले प्रधानमन्त्रीको रूपमा चीनको भ्रमण गर्दा सन् २०२३ मा नेपाल र चीनले दुई देशबीचको व्यापार असन्तुलनलाई कम गर्ने हिसाबमा नेपालमा उत्पादित प्रशोधित राँगाभैँसीको मासुलाई चीनमा निर्यात गर्न अनुमति दिने प्रक्रियालाई गति दिने सहमति गरेका थिए ।
अहिले ओलीले त्यसै सहमतिलाई व्यवहारमा उतारेका छन् । मासु जानु ठूलो समस्याको कुरा हो । एक पशुपंक्षी मन्त्रालयका विज्ञ अधिकृतका अनुसार यसको मूल कुरा भनेको रोग जानु भएन । स्वस्थ्य मासु जानुप¥यो भन्ने नै हो । प्रोटोकलमा निश्चित रोगमुक्त क्षेत्रहरूमा राँगाभैँसीहरू पालन गरेको हुनुपर्ने, लगभग तीन वर्ष भन्दा मुनीको राँगाभैँसीको मासु हुनुपर्ने, मापदण्ड पुगेको बधशालामा उत्पादन भएको हुनुपर्ने, तातोमा राखेर प्रशोधन गरिएको अनि उपयुक्त किसिमले प्याकेजिङ्ग गरिएको हुनुपर्ने जस्ता सर्तहरू छन् । यो सर्तले नेपालले चीनलाई भैँसी दिन सक्दैन । किनकि भैँसी नै छैनन् । शहरमा भैँसी छैनन् गाउँमा युवा छैनन् ।
निसन्देह अमेरिकी सरकारको कृषि सम्बन्धी एउटा निकायको प्रतिवेदनका अनुसार चीन संसारकै सबैभन्दा ठूलो राँगाभैँसीको मासु आयातकर्ता हो । चिनियाँहरुको मुख्य आहारामै पर्छ राँगा भैँसीको मासु । तर नेपालले भारतबाट ल्याएर चीनमा बेच्ने त पक्कै हैन होला ।
फेरि नेपालले चीनमा निर्यात गर्न सक्ने अन्य थुप्रै सामग्री हुन सक्छन् । तर घुमिफिरी कम्युनिष्ट नेताहरु भैँसीमै ध्यान किन दिइरहेका छन् बुझिनसक्नु छ ।