आफ्नै पार्टीको निर्णय समेत कार्यान्वयन नगर्ने ‘हुतिहारा’ कांग्रेस

Home Feature
Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौँ । इतिहास लामो बोकेको भए पनि नेपाली कांग्रेस हुतिहारा पार्टी बनेको छ । कांग्रेस आफ्नै निर्णय कार्यान्वयन नगर्ने हुतिहारा पार्टी हो । जनतालाई उत्तिकै आश्वासन दिने अनि अलपत्र पार्ने पार्टी कांग्रेसले जनतालाई घर न घाटको त बनाउँछ नै आफ्नै कार्यकर्ताकोसमेत अवमूल्यन गरेको छ । अझ कांग्रेस सत्तामा गयो भने त सारा काम कर्तव्य नै भुल्छ भन्दा फरक पर्दैन । सत्तामा जाने सम्भावना कम भएपछि निकै आक्रामक शैलीमा पार्टीलाई चलायमान बनाउने निर्णय गरेको कांग्रेस जब सत्तामा गएको छ तब पार्टीका गतिविधि ठप्प जस्तै भएका छन् । भाषण गरेर कार्यकर्तालाई उत्तेजित पार्ने तर काम भने गर्न नसक्ने महामन्त्री गगनकुमार थापाले गत वर्षको फागुनमा सम्पन्न महासमिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै भनेका थिए ‘०८२ मंसिरभित्र १५ औँ महाधिवेशन सम्पन्न गर्नेछौँ ।’ तर खै त ?
त्यसबाहेक उनको प्रतिवेदनमा ‘विधानले केन्द्रीय कार्य समितिले गर्ने भनी तोकिएका नियमित बैठक, महासमिति बैठक, महाधिवेशनलगायत विधानसम्मत गर्नुपर्ने सबै जिम्मेवारी कार्यतालिका बनाइ विधानले निर्दिष्ट गरेकै समयमा गर्नेछौं’ उल्लेख थियो । महाधिवेशन ‘डेटलाइन’ बारे अनेक टिप्पणी आए । तर प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । उक्त प्रतिवेदनमा महाधिवेशनको अन्तिम वर्ष मात्र क्रियाशील सदस्यता वितरण गर्ने र विवाद निम्त्याउने प्रवृत्ति अन्त्य गर्ने घोषणासमेत गरिएको थियो । अहिले विवाद त्यही चर्किदैछ । सदस्य नरोक्न केन्द्रबाटै दबाब दिइएको छ । कतिपय स्थानमा रोकिइसकेको छ । अब महाधिवेशन पनि समयमा हुनेमा शंका छ । गगनको कुर्लिदो अवाजले त्यतिबेला भनेको थियो, ‘कार्यसमितिको चारवर्षे कार्यकाल विधानतः २०८२ मंसिर मसान्तभित्र समाप्त हुनेछ । अतः महाधिवेशनको अन्तिम वर्ष विधानको प्रावधान निलम्बन गरेर क्रियाशील सदस्यता वितरण गर्ने अभ्यास पूर्णतः बन्द गरी विधान बमोजिम २०८२ मंसिरमा पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्नेछौँ ।’ पार्टी सत्तामा गएर रसास्वादन गरिरहेका बेलामा अब महाधिवेशन समयमै होला भन्ने कल्पना केबल कोरा कल्पना हो । किनकि ०८४ को चुनाव शेरबहादुर देउवा आफूले गराउन खोजिरहेका छन् । उनले ०८४ को चुनाव गराउन त त्यतिन्जेलसम्म कांग्रेसको महाधिवेशन नै हुन भएन । महाधिवेशन गरे त देउवा नै प्रधानमन्त्री हुन पाउँदैनन् । अनि उनले प्रधानमन्त्रीको कुर्सी छोड्छन् त ?
त्यस्तै गगनको प्रतिवेदनमा पार्टीका तह कमिटीका कामका विस्तृत कार्यतालिका बनाउने त्यहीअनुरुप महाधिवेशन प्रक्रियागत काम प्रारम्भ गर्ने उल्लेख थियो । तर महासमिति सकिएलगत्तै केन्द्रीय समितिको बैठक गर्ने निर्णय भएको
थियो । बैठक नै ढिला गरी बस्यो । सँगै ‘महाधिवेशनको मिति तोक्ने र कार्यतालिका बनाउने अधिकार केन्द्रीय समितिको भएको’ तर्कसहित महामन्त्री थापालाई प्रस्ताव फिर्ता लिन दबाब दिइयो । केन्द्रीय समितिले उक्त विषयमा निर्णय नै गरेन । महासमितिबाट पारित आदेश केन्द्रीय समितिले उल्टाइदियो । महामन्त्री थापाको प्रतिवेदनबाट महाधिवेशनका ‘डेटलाइन’ खारेज गरेको धारणा सार्वजनिक भयो । केन्द्रीय समितिले अनुमोदन गरेको प्रतिवेदनको दस्तावेज सार्वजनिक गरिएन । विधान अनुसार केन्द्रीय महाधिवेशन, महासमिति र केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने जिम्मा महामन्त्रीको हो ।
महामन्त्रीको प्रतिवेदनमा उल्लेख नगरे पनि र महासमितिको निर्देशन नमान्ने भए पनि केन्द्रीय समितिले आफ्नो अधिकार प्रयोग गर्दै महाधिवेशनको मिति तोक्ने, कार्यतालिका बनाउने र कार्यान्वयन थाल्ने निर्णय गर्न सक्थ्यो । तर कांग्रेस केन्द्रीय समितिले आफ्नो अधिकार भनी विधानले दिएको जिम्मेवारी कुल्चिएको कांग्रेसका केन्द्रीय सदस्यहरूको बुझाइ छ । संस्थापन पक्षको नियत विधानतः समयमा महाधिवेशन नगर्ने र गुटीय स्वार्थ पूरा गर्न महासमितिको ‘म्यान्डेट’ उल्लंघन भएको संस्थापन इतरका केन्द्रीय सदस्यहरूको भनाइ छ । कांग्रेसको विधानका व्यवस्था अनुसारका प्रक्रिया पालना गर्ने हो भने पनि ०८२ मंसिर भित्रमा केन्द्रीय महाधिवेशन गर्न प्रक्रिया थाल्न ढिला भएको छ । तर त्यो त गगनहरुको आकाशका फल आँखा तरी मर भनेजस्तै हो । डा. शेखर कोइरालाले भने देउवाकै क्षेत्र सुदूरपश्चिमबाट १५ औँ महाधिवेशनका लागि हल्ला बोलिसकेका छन् । बाँकी नेताहरु त हुतिहारा भइसकेको मूल्यांकन भइरहेको छ ।