‘बीआरआई’को नाममा अन्यौलता !
काठमाडौँ । सत्तासीन एवं संसदका सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सात वर्षसम्म कार्यान्वयनका लागि रोकिएको चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई स्वीकारेर देशलाई भूमरीमा पारेको छ । जसरी यी दुई दलको सत्ता सञ्चालनको सहमतिको सही बुँदा बाहिर आएको छैन त्यसरी नै चीनसँग गरेको बीआरआई स्वीकार गरेको सहमतिको पत्र पनि बाहिरिएको छैन । पत्र बाहिर नआउन्जेल एमाले र कांग्रेसले दोहोरो चरित्र देखाएका छन् । बीआरआई परियोजना स्वीकार गर्ने कि नगर्ने भन्दै सडकदेखि संसदसम्म निकै विवाद भए पनि अप्रत्याशित तरिकाले प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेलामा मंसिरमा बीआरआई सहयोग लिने आधिकारिक पत्रमा हस्ताक्षर भयो । हस्ताक्षर भएको भिडियो र तस्बिर सबैले देखे ।
तर त्यसभित्रको चुरो कुरो अहिलेसम्म बाहिर नआउनुको पछाडि ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दोहोरो चरित्र रहेको ठहर्छ । यदि कुनै कुरा भएको छैन भन्ने लाग्छ भने कागजात सार्वजनिक गर । यो व्यक्तिगत हैन देशको भविष्यको सवाल हो । करिब तीन करोड नेपालीको सपनाको सवाल हो । अहिलेसम्म बीआरआई ऋणमा लिइयो कि अनुदानमा भन्ने खुलेको छैन । भाषालाई जता मोडे पनि मोड्न सकिने गरी चीनले नेताहरुलाई नचाएर हस्ताक्षर गराएको स्पष्टै हुन्छ । गोलमटोल शब्द राखेर या चीनले नेपाललाई मूर्ख बनाएको छ या त केपी ओलीको टिमले । किनकि बीआरआई अहिलेसम्म अनुदानमा चीनले कहीँ कतै दिएकै छैन । नेपाललाई अनुदानमा दिएको उल्लेख पनि गरिएको छैन । कम्युनिष्टहरुले चीनले जे भन्छ त्यही मान्ने र कांग्रेसले आफूले अवसर नपाउन्जेल विरोध गर्ने यो नाटकले नेपालको भविष्य कता पुग्छ भन्नेसमेत अन्योल छ ।
दुई जिब्रे धारमा रहेको कांग्रेसले बीआरआई अनुदानमा स्वीकार गर्न सकिने बताएर चीनलाई सहज पारिदियो । अनि केपी ओलीलाई पनि सजिलो भयो । अझ अहिले देखिएका शब्द संजालले त कांग्रेसलाई पनि हाइसन्चो गरायो । तर कांग्रेसले बीआरआई स्वीकार गरेर आफ्नो नैतिकता त गुमाएको छ नै यसले देशलाई ठूलो ऋणजालमा पारेको भनिन्छ । कांग्रेसभित्र बुरुक्क उफ्रने महामन्त्री
गगन थापाले पनि आफ्नो हैसियत देखाइछाडे । अरु नेताको त चर्चा गर्नु नै बेकार छ । भोलिको देशको प्रधानमन्त्री र पार्टीको सभापति हुँ भन्दै शान देखाएर हिँड्ने गगनको शिर झुक्दा पनि कांग्रेस हारेको भान हुन्छ । किनकि चीन जानुअघि बीआरआईमा कहाँसम्म लचिलो हुने भन्ने ड्राफ्ट बनाउँदा कांग्रेसबाट गगन थापा अगाडि थिए । ओली चीन जानुअघि कांग्रेसका नेताहरुसमेत सहभागी भएको टोलीले बीआरआईका खाका नै बनाएको थियो । त्यो खाका के थियो भन्नेसमेत जनताले थाहा पाउने गरी नराखेर नेताहरुले बेइमानी गरे । अहिले हस्ताक्षरको खाका बाहिर नल्याएर ।
कांग्रेसकी भाउजू एवं परराष्ट्र मन्त्री आरजू राणा देउवा त बीआरआईबारे कसैले प्रतिक्रिया दियो कि गाली गर्छिन् । उनी नबुझीनबुझी कुनै कमेन्ट नगर्नु भन्दै थर्काउँछिन् । तर उनी आफू ज्ञाता भएपछि सहमति यस्तो हो भनेर प्रमाणसहित किन भन्न सक्दिनन् ?
त्यस्तै केपी ओली पनि आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै आएका छन् । बाहिर आएका कुराहरुको जिम्मा पनि नलिने र प्रमाण पनि पेश नगर्ने ? एक त चीनले बीआरआई कुनै पनि देशलाई अनुदानमा दिएकै छैन । अर्को कुरा नेपालले लगेको अनुदान (ग्रान्ट) भन्ने शब्दलाई चीनले हटाइदियो । जसका कारण बीआरआई अनुदानमा हो कि ऋण नै लिने हो भन्ने यकिन हुन सकेको छैन । शब्द जता पनि लैजान सकिने गरी भाषा राखिएको छ । त्यो शब्दको बहुअर्थ लाग्ने भएकाले चीनले आफू सुहाउने ब्याख्या गर्न सक्छ । अनि नेताहरु पन्छिएर देशलाई भड्खालोमा हाल्न पाइन्छ र ?
‘टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी’ राखिएको भनिएको छ । यसले के अनुदान मात्रै भन्छ ? के यसले ऋण हैन भनेको छ ? फेरि यति ठूलो हस्ताक्षर भएपछि दुवै देशले संयुक्त विज्ञप्तिसमेत निकालेका छैनन् । यो अर्थमा त सहमति जे पनि हुन सक्छ नि । हस्ताक्षर गर्ने बेलामा चीनको अनुदानमा भनिएका दश परियोजनाको हालत हेर्दा विकासका लागि हैन मुलुकलाई विनाशकै लागि सम्झौता गरिएको जस्तो पनि देखिन्छ । ऋण नै लिएर झापामा खेलकुद कम्प्लेक्स बनाउने केपी ओलीको योजनाले नै स्पष्ट भन्छ उनी देशलाई ऋणको पोको भिराउन तल्लिन छन् ।